लामो समयदेखि नेकपा एमालेले संसद् अवरोध गरिरहेको छ । संसद् अवरोध गर्ने एमालेकै उपनेता सुवास नेम्बाङले संसद् अवरोध गैरकानुनी भएको सार्वजनिक रुपमा नै अभिव्यक्ति दिएका छन् । यसले एमालेले संसद् अवरोध गर्नुलाई ‘आफैं बोक्सी, आफैं झाँक्री’ भन्ने उखानलाई पुष्टि गरिदिएको छ ।
एमालेले एकातिर संसद् अवरोध गरिरहेको छ, अर्कोतिर उपनेतामार्फत गैरकानुनी भएको अभिव्यक्ति दिन लगाएको हो कि भन्ने आशंका पनि पैदा भएको देखिन्छ । संविधानले बर्जित गरेको संसद् अवरुद्ध भन्न भ्याए पूर्वसभामुखसमेत रहेका नेम्बाङले । तर, उनै नेम्बाङ संसद्मा भने बुरुक्कै उफ्रिएर अवरोधमै जुटिरहेको देखिन्छ । जनतामाझ गएर संसद् अवरोध गलत हो भन्ने नेम्बाङले नैतिकताका आधारमा आफ्नो पार्टीलाई संसद् अवरोध नगर्न किन भन्न सक्दैनन् ?
पछिल्लो समय संसद्भित्रका सदस्यहरु काण्ड नै काण्डमा मुछिएका देखिन्छन् । शरणार्थी काण्ड, सुन काण्ड, नक्कली प्रमाणपत्र काण्डजस्ता काण्डले संसद्को गरिमालाई ध्वस्त नै पारिदिएको छ । जनताले जनप्रतिनिधिका रुपमा चुनेका व्यक्तिहरुको हर्कत अहिले संसद्मा छताछुल्ल भइरहेको छ । नागरिक डेंगी महामारीको चपेटामा छन् ।
बाढीपहिरो र डुवाको पीडामा छन् । किसानहरु लम्पी स्किनका कारण अर्बौं रुपैयाँ बराबरको पशुधन क्षति भएर विरक्तिएका छन् । तर प्रतिपक्षी दल एमाले संसद् अवरोध गरिरहेको छ । अनि सरकार त्यही बहानामा जनताप्रति बफादार हुन सकिरहेको छैन ।
सरकार छ र ? भन्ने नागरिकहरुले अनुभूति गरिरहेका छन् । जनताका लागि नीति नियम बनाउन संसद् छिरेका सांसदहरु व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठ्न सकेर जनतालाई धोका दिइरहेका छन् । अहिले देखिएको संसद् अवरोध र नेम्बाङको अभिव्यक्तिले कतै एमाले ‘आफैं बोक्सी, आफैं झाँक्री’ भन्ने सोचमा अगाडि बढिरहेको त छैन ? विना कारण संसद् अवरोध खोल्नु पर्ने अवस्था आयो भने जनताले के भन्लान् भन्ने सोच पलाएको त होइन ? त्यसकै लागि नेम्बाङको अभिव्यक्ति त होइन ?
यी र यस्तै यावत शंका उपशंका उब्जिएको छ । हिजोको सत्ता साझेदार नेकपा माओवादी केन्द्रले धोका दिएको एमाले अहिले फेरि सरकार आफ्नो नेतृत्वमा पार्न विभिन्न खेल खेलिरहेको भान हुन्छ । सत्ताबाट बाहिर बस्दाको छटपट्टि एमालेको अहिलेको क्रियाकलाप हो भनेर बुझ्ने कि ?