विषय उठान
सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनीतिक, ऐतिहासिक, आर्थिक, धार्मिक र सामरिक महत्त्व बोकेको स्थान हो। त्यसैले यस गढी पौराणिक, प्राचीन, किरात, लिच्छवि, मल्ल, शाह र राणाकालसम्म चर्चित रह्यो। उत्तर भारत र नेपालमण्डलबीच मात्र होइन नेपालको पूर्वी भूभाग दोलखा, ओखलढुंगा, सोलुका साथै यस गढी महाचीन, भोटका शासक, धर्मगुरु, व्यापारिक र तीर्थालुहरु हिँडेर आवतजावत गर्ने प्राचीन पूर्वी नाका थियो। जसका कारण सिन्धुली लामो कालखण्डसम्म गुल्जार भएर चर्चित भइरह्यो।
सिन्धुलीगढी, गढीदरबार अर्थात् रानीदरबार र बडाहाकिमहरुसँग जोडिएका माथि उल्लिखित ऐतिहासिक, सामाजिक र प्रशासनिक घटनाहरु जोडिएका थुप्रै रोमाञ्चकारी प्रसंगहरु मात्र होइन। नेपालमण्डल, डोय र मकवानपुर राज्यका शासकका साथै नेपालबाहिर बंगालका शासकहरुसँग जोडिएका गौरवमय इतिहासहरु बोकेका थुप्रै सम्पदाहरु रहेका छन्।
वि.सं. १३६७ मा सिम्रौनगढका डोय सेनाहरुले नेपालमण्डल अर्थात् काठमाडौं उपत्यका आक्रमण गरेर लुटपाट गरेर सिन्धुलीगढी भएर विदेह (जनकपुर/सीतामाढी) फर्केपछि यस गढीको चर्चा सर्वप्रथम भएको हो। त्यसैगरी वि.सं. १४०६ मा राजा जयस्थिति मल्लको पालामा बंगालका सुल्तान समसुद्दीनले नेपालमण्डलमा आक्रमण गरी ध्वस्त गरेर फर्किंदा सिन्धुलीगढी हुँदै फर्किएपछि यस गढीको रणनीतिक महत्त्व बढ्न गएको थियो। यसपछि नेपालमण्डलका राजा यक्ष मल्लले वि.सं. १५०० तिर मिथिला, मोरङ र मगधसम्म राज्यको विस्तार गरे। यसपछि पराजित पूर्वशासकहरुले नेपालमण्डलमा सैन्य आक्रमण गर्न नसकून् भनेर सिन्धुलीगढीलाई सशक्त बनाएर केही सैन्यहरु राखेका थिए यक्ष मल्लले।
वि.सं. १६५७ मा नेपालमण्डलका कान्तिपुरका राजा शिवसिंह मल्लले पनि मकवानपुर, सिन्धुली र मगध राज्यमाथि अधिपत्य लिएपछि बंगालका शासकहरुले कान्तिपुरमाथि सैन्य कारबाही गर्न नसकून् भनेर सिन्धुलीगढीको निर्माण गरेर लडाकु दस्ता राखेका थिए। यसबाट धार्मिक, व्यापारिक मात्र नभई सिन्धुलीगढीको महत्त्व सामरिक रुपमा पनि बढ्न थालेको थियो। पछि सिन्धुलीगढी मकवानपुर राज्यमा परेकोले राजा माणिक सेनले भन्सार र चौकी स्थापना गरेर स्थानीय प्रशासन चलाएका थिए।
यही गढीमा गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तारको क्रममा विजित राज्यहरुबाट हुनसक्ने विद्रोह र प्रत्याक्रमण दमन गर्न र नेपालमण्डललाई नाकाबन्दी गर्न आफ्ना केही सैनिक ठाना स्थापना गरेर तैनाथ गरेका थिए। यसै क्रममा नाकाबन्दी गर्दै नेपालमण्डल विजय गर्ने क्रममा अघि बढ्दै कीर्तिपुरमाथि कब्जा जमाए। यसपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले अंग्रेजहरुसँग सहयोग मागे। फलस्वरुप इस्ट इण्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा जनकपुरबाट आएका अंग्रेज सेनाहरुलाई नराम्ररी हराएका थिए। पछि सोही गढीमा राणा शासकहरुले षडयन्त्र गरेर आफूले सत्ता हत्याएपछि सत्ता टिकाइराख्न लखेटिएका सत्ताविहीन भएका राणाशासक खलकहरुलाई काठमाडौंमा पस्नबाट रोक्न सिन्धुलीगढीमा विश्वासपात्र सेना राख्न थाले। यतिमात्र नभई मिलिसिया गोश्वारा अड्डा नै स्थापना गरेको इतिहास छ।
राणाकालीन प्रशासनमा सिन्धुलीगढी
यसरी मिलिसिया गोश्वारा कार्यालय राख्नका लागि राणाशासक श्री ३ महाराज एवं प्रधानमन्त्री वीर शमशेरले सत्तामा आएपछि नेपालको प्रशासनिक संरचना फेरेर नयाँ लागू गरे। यसबाट नेपाल अधिराज्यको सम्पूर्ण भूभागलाई पहाडतर्फ २३ र तराईतर्फ १२ जिल्ला कायम गरेर जिल्ला र तहसिलमा विभाजन गरे। हरेक जिल्लामा आफू अनुकूल बडाहाकिम र मिलिसिया गोश्वारा राख्ने प्रचलन सुरु गरे। यस्ता मिलिसिया गोश्वारालाई सैनिक भर्ती, तालिमका साथै स्थानीय प्रशासन सञ्चालन गर्ने अधिकार प्रदान गरे। यस्ता जिल्लाहरुमा सिन्धुलीगढी पनि पर्दथ्यो।
सिन्धुलीगढीअन्तर्गत हालका सिन्धुली, रामेछाप र दोलखा जिल्लाका अधिकांश भूभाग पर्दथे। यिनै तीन जिल्लाका क्षेत्रलाई पूर्व २ नम्बर क्षेत्र भनिन्थ्यो, जसको मुकाम थियो सिन्धुलीगढी। जहाँ वि.सं. २००७ सालसम्म सिन्धुलीगढी गोश्वाराको काम यहीबाट चलेको थियो। जसका कारण सिन्धुलीगढी क्षेत्र गुल्जार थियो। वि.सं. २०१७ मा राजा महेन्द्रले बहुदलीय व्यवस्थाको अन्त्य गरी एकदलीय पञ्चायतको प्रारम्भ गरेपछि भने सिन्धुलीगढी बिरानो हुन पुग्यो। झन् दलीय व्यवस्था हटाई एक दलीय पञ्चायती व्यवस्था प्रारम्भ गरेर वि.सं. २०१८ मा नयाँ प्रशासनिक ढाँचाको संरचना लागू गरे। यसपछि सिन्धुलीगढीमा रहेको मुकामसँगै अदालत, कारागार र प्रशासनिक कार्यालयहरु पनि सिन्धुलीमाडीमा सारियो। गढीमा प्रहरी चौकी, कारागारमात्र बस्यो। वि.सं. २०२९ मा कारागार पनि माडीमा सारियो। यसपछि गढीमा रहेका सेनाहरु पनि रामेछापमा सारियो। यसरी सिन्धुलीगढी र प्रशासन सञ्चालन हुने गढीदरबार विस्तारै विस्तारै लगभग मानवविहीन हुन पुग्यो। त्यसमाथि जनयुद्धका बेला माओवादीले ध्वस्त बनाएपछि अझ खण्डहरको रुपमा परिणत भएको थियो। हालै सिन्धुलीगढी दरबार एवं रानीदरबारको पुनर्निर्माण भएको छ।
सिन्धुलीगढी दरबार र बडाहाकिमको प्रशासनिक गोश्वारा अड्डा
सिन्धुलीगढीमा रहेको गढी दरबार जंगबहादुर राणाका भाइ बमबहादुरका छोरा बमवीरविक्रमले आफ्नी रानी द्रुपदकुमारीका लागि करिब छ वर्ष लगाएर अर्थात् वि.सं. १९५१ देखि १९५६ मा निर्माण गरेको मानिन्छ। यसैले यसलाई रानीदरबार पनि भनिन्छ। स्थानीय र जलेश्वरका श्रमिकहरुबाट निर्मित यस दरबार ३१ वटा कोठा, १४ वटा ढोका, ५६ वटा झ्याल, टिनको छाना, विभिन्न पदार्थ, चुना र बज्रजडित इँटाको गारो लगाएर दुई तले भवन कौसी, बुर्जायुक्त थियो। दरबार वरपर स्नानगृह, शौचालय र पाले पहरा घरहरु थिए।
यसै दरबारबाट श्री ३ वीरशमशेरले पहिलोपटक नियुक्त गरेका कर्णेल फौदसिंह खत्री क्षेत्री (वि.सं.१९५५) ले प्रशासन चलाए। यसपछि क्रमश: श्री ३ चन्द्रशमशेरले नियुक्ति गरेका कीर्तिमानसिंह खत्री क्षेत्री (वि.सं. १९७०-७६), कप्तान उपेन्द्रविक्रम राणा (वि.सं. १९७०), चिफ कर्णेल डिल्लीसिंह बस्न्यात क्षेत्री, कर्णेल कृत्तिमान थापा क्षेत्री (वि.सं. १९७५) र कप्तान भविन्द्रप्रतापजंग राणा (वि.सं. १९७५) ले बडाहाकिम भएर प्रशासन चलाए। यसपछि श्री ३ भीमशमशेरले पुन: नियुक्त गरेका कीर्तिमानसिंह खत्री क्षेत्री ( वि.सं. १९७६) ले बडाहाकिम भएर प्रशासन चलाए। यसपछि श्री ३ जुद्धशमशेरले नियुक्त गरेका कर्णेल गणेशबहादुर बस्न्यात (वि.सं. १९९५), कर्णेल नरेन्द्रविक्रम राणा (वि.सं.१९९५) र कर्णेल लिलाविक्रम राणा (१९९७) बडाहाकिम भएर प्रशासन चलाए।
त्यसैगरी गढीदरबारबाट श्री ३ पद्मशमशेरले नियुक्त गरेका लीलाविक्रम थापा (वि.सं. १९९७) र छपेन्द्रविक्रम राणा (वि.सं. २००२) र दधिन्द्रविक्रम राणा (सम्भवत: यिनी सिन्धुलीगढी प्रशासन चलाउन आएनन् होला)ले बडाहाकिम भएर प्रशासन चलाए। अन्तिममा श्री ३ मोहनशमशेरले नियुक्त गरेका मिन्टुजंग राणा (वि.सं. २००५), कप्तान दधिन्द्रविक्रम राणा (वि.सं.२००५) र लेफ्टिनेन्ट बमबहादुर कार्की (वि.सं.२००६) ले र पुन:नियुक्ति पाएर मिन्टुजंग राणा (वि.सं. २००७) बडाहाकिम भएर प्रशासन चलाए। बडा हाकिम मिन्टुजंगको पालामा पूर्व २ नम्बर क्षेत्रको सदरमुकाम सिन्धुलीगढीबाट रामेछाप बजारमा सारिएको थियो।
२००७ सालमा आएको राणा शासनको अन्त्य भई प्रजातन्त्रको बहाली भएपछि राजा त्रिभुवनको पालामा बद्रीविक्रम थापा (वि.सं. २००८), लक्ष्मणजंग मल्ल (वि.सं. २०११-२०१४) बडाहाकिम भएर सिन्धुलीगढीको प्रशासन चलाएका थिए। राजा महेन्द्रको पालामा लेखविक्रम राणा (वि.सं. २०१४-२०१५) र ध्यानबहादुर राई (वि.सं. २०१५-२०१७) र धर्मबहादुर पहाडी (वि.सं.२०१८) बडाहाकिम भएर प्रशासन चलाएको देखिन्छ। यसरी सिन्धुलीगढीबाट स्थानीय, जंगी र निजामती प्रशासन सञ्चालन गर्ने १८ जना बडाहाकिमहरुले मिलिसिया प्रशासन सञ्चालन गरेको पाइन्छ।
सिन्धुलीगढी दरबारमा बदनाम कमाएका बडाहाकिमहरु
यसरी सिन्धुलीमा वडाहाकिम हुने १८ जनामध्ये बदनाम हुनेहरुमा कर्णेल लीलाविक्रम राणा र कर्णेल छपेन्द्रविक्रम राणा थिए। कर्णेल लीलाविक्रम राणाले युवराज महेन्द्र र जुद्ध शमशेरको नातिनीको विवाहका लागि सर्वसाधारण र कर्मचारीहरुबाट दाम (पैसा) संकलन गरिएको थियो। सिन्धुलीगढी दरबारमा रहेका कसैले श्री ३ जुद्धशमशेर कहाँ संकलित दाम रकममा व्यापक अपचलन गरेको भन्ने उजुरी गरे। यसरी भ्रष्टाचारको अभियोग लागेर छानबिन सुरु भएकोले उनी पदच्युत भए। एउटा करङ नभएका कारण उनी कोल्टो परेर हिँड्दथे। जसका कारण उनलाई सिन्धुलीबासीले ‘कोल्टे हाकिम’ भन्थे। दाम रकम अपचलनविरुद्ध लागेको आरोपबाट पछि रानी द्रुपदकुमारीले उनलाई मुक्ति दिलाएका थिए।
त्यस्तै कर्णेल बडाहाकिम छपेन्द्रविक्रम राणाले यौन वासना पूर्ति गर्न लागि ज्यान मारेर फौजदारी अभियोग लागेका एक विवस पिता (तामाङ व्यक्ति)लाई न्याय सम्पादन गर्ने क्रममा सजाय नगरी सफाइ दिएर उनकी किशोरी १४ वर्षकी किशोरी छोरीलाई दरबारमा रखैल बनाएको आरोप लागेको थियो। एउटा आँखा नभएका कारण उनी एउटा आँखामा कालो पट्टी लगाएर हिँड्दथे। त्यसैले सिन्धुलीवासीले उनलाई ‘कानो हाकिम’ भन्दथे। जसका विरुद्ध श्री ३ पद्यशमशेरकहाँ एक जनाले गोप्य जाहेरी दिएपछि उनी निलम्बन भए। समाजमा सबैका सामु अगाडि उभिन नसकेर उनले आत्महत्या गरेका थिए।
यसै सन्दर्भमा बडाहाकिम छपेन्द्रविक्रम राणाले आत्महत्या गर्नुपरेका कारणहरुमाथि यहाँ संक्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ।
कारण १: अभियुक्त बनारसी वाइबा तामाङकी छोरीलाई दरबारमा राखेर सफाइ दिएको
सोही बखत सिन्धुलीको दर्लामी गाउँमा एक जना वाइबा थरका तामाङ परिवार बसोबास गर्दथे। बनारसतिर काम गरेर फर्केकाले होला, उनको नाम बनारसी वाइबा थियो। सीधासाधा, अशिक्षा र गरिबीका कारण वाइबालाई फौजदारी अभियोग लागेर अनुसन्धानको सिलसिलामा सिन्धुलीगढीस्थित जेलमा थुनियो। जसका कारण उनको घरमा विचल्ली भयो। थुनामा परेका श्रीमान्लाई दिनदिनै खाना ल्याउन दर्लामी गाउँबाट सहज भएन। त्यसपछि वाइबाकी श्रीमती र आफ्नी १४ वर्षकी किशोरी छोरी सुन्तलीलाई लिएर सिन्धुलीगढी दरबारनजिकै जलकन्यामा आफन्तका घरमा बस्न लागे।
थुनामा रहेका श्रीमान्लाई दैनिक खाना ल्याउने क्रममा आमासँगै आएकी छोरी सुन्तलीमाथि गढी दरबारको बुर्जामा बसेका बडाहाकिम छपेन्द्रविक्रम राणाको नजर पर्यो। सुन्तलीको यौवन र सौन्दर्य नजिकबाट हेर्ने इच्छा बडाहाकिमलाई जाग्यो। यसपछि बडाहाकिम छपेन्द्रविक्रमले वाइबाकी श्रीमती र छोरी सुन्तलीलाई दरबारमा बोलाए। आफ्नो कार्यकक्षमा राखेर बडाहाकिमले वाइबालाई लागेको आरोपको बारेमा सोधपुछ गर्न थाले। पटक-पटकको भेटघाट र निकटताले वाइबाको परिवारजनसँग उनको सामीम्यता बढ्न थाल्यो। लामो कपाल, बाटुलो अनुहार, गोरो, टम्म मिलेका दाँत र सलक्क परेको जिउडालकी सुन्तलीको रुपरंगमा हुरुक्क भए। जतिसक्दो छिटो सुन्तलीमाईलाई पाउने अभिष्टता उनमा बढ्न थाल्यो। सोही कारण एक दिन बडाहाकिम राणाले वाइबाकी श्रीमतीसँग मुख खोल्दै भने, ‘सुन्तलीलाई दरबारमा राख्न दिने हो भने म तिम्रो बूढालाई लागेको खत अर्थात् अभियोग माफ गराइदिनेछु।’
वाइबाकी श्रीमतीले यस कुराको निर्णय आफू एक्लैले गर्र्न नसक्ने र आफ्ना श्रीमान्सँग कुराकानी गरेर बताउने कुरा जाहेर गरिन्। सिन्धुलीगढीको जेलमा थुनिएका वाइबासँग भेटेर कुराकानी गर्ने वातावरण बडाहाकिमले मिलाइदिए। बडाहाकिमसँग भएको कुरा जेलमा भएका आफ्ना श्रीमान्सँग राखिन्। चरम यातनामा परेका बनारसी वाइबाले बडाहाकिमको प्रस्तावलाई सहर्ष स्वीकार गर्न सहमति दिए। जुनकुरा वाइबाकी श्रीमतीले बडाहाकिमसमक्ष जाहेर गरिन्। बडाहाकिम खुसीले गदगद भएर वाइबालाई थुनामुक्त गरिदिएका थिए।
बडाहाकिम छपेन्द्रविक्रम राणा र सुन्तलीमाईको प्रेमकहानी:
वाइबाका परिवारले आफ्नी १५-१६ वर्षकी प्राण प्यारी छोरी सुन्तलीलाई गढी दरबारमा रहेका बडाहाकिमलाई सुम्पिदिए। यद्यपि जेलबाट छुटेकामा थोरै शान्तिको सास फेरे। बडाहाकिम छपेन्द्रविक्रम पनि दिव्य सुन्दरी सुन्तलीसँगको अघात प्रेममा रमाउन थाले।
यसरी रमाएको तीन महिना नपुग्दै राणा शासकका सुलसुलेको कर्के नजर पर्यो। सोही घटनाको नालीबेली श्री ३ पद्मशमशेरसमक्ष विष्णुप्रसाद डिठ्ठाले पुर्याइदिए। महाराज पद्मशमशेर सो घटनाको बेलिबिस्तार थाहा पाएपछि क्रुद्ध बने। तुरुन्तै छानबिन गरेर बडाहाकिमलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाए। छानबिनको काम सुरु भयो। जसका कारण बडाहाकिम छपेन्द्रविक्रम निलम्बन भए। छपेन्द्रविक्रमले आफ्नो ठाउँमा अर्का बडाहाकिम दधिन्द्रविक्रम राणालाई खटाइएको भन्ने सवाल गढी दरबारमा प्राप्त गरे।
यसबाट बडाहाकिम छपेन्द्रविक्रमलाई तनाव बढ्यो। उनले आफ्नो अपराधको बचाऊ गर्ने कुनै तर्क र प्रमाण भेटेनन्। फलत: उनी मानसिकरुपमा अस्थिर भएर सिन्धुलीगढी दरबारभित्रकै आफ्नो कोठामा सम्वत् २००५ साल असार महिनामा आफ्नो कञ्चटमा आफैंले गोली हानी आत्महत्या गरे भन्ने एकथरीको भनाइ छ।
कारण २: श्री ३ महाराज जुद्धशमशेरलाई सिन्धुलीगढीको नाकाबाट काठमाडौं प्रवेश गर्न नदिएको
अर्काथरीले श्री ३ जुद्धशमशेरले आफ्नो जीवनको उत्तराद्र्धतिर आफूले गरेका अपराधहरुको पापमोक्षका लागि राजपाठ आफ्ना भतिजा पद्मशमशेरलाई सुम्पिएर तीर्थव्रतका लागि बनारस हिँडे। भारतबाट तीर्थव्रत गरी फर्कंदा जुद्धशमशेर सिन्धुलीको बाटो गरी गेरुवावस्त्रमा आएका थिए। अहिलेको कमला उच्च मावि रहेको स्थानमा तत्कालीन अवस्थामा खाद्यान्न सञ्चय गर्न धर्मभकारीको रुपमा जस्ताले छाएका काठका टहराहरु थिए। यता धर्मभकारीमा जुद्धशमशेर काठमाडौं आउन लागेको खबर दरबारमा पुगेपछि तत्कालीन श्री ३ पद्मशमशेरले काका आएर राजपाठ खोस्छन् भन्ने डरले सिन्धुलीगढीका तत्कालीन बडाहाकिम छपेन्द्रविक्रमलाई ‘जुद्धशमशेरलाई काठमाडौं पस्न नदिनू’ भन्ने आदेश दिएका थिए। सो आदेशको पालना गरे।
तर, जुद्धशमशेर भने मरिण खोलाको बाटो भएर काठमाडौं पुगे। यसरी काठमाडौं आउँदा उनका कैयन सैनिकहरु औलो लागेर मरे। जुद्धशमशेर अति क्रोधित भए। अनि उनले ‘आफूलाई सिन्धुलीगढीको बाटोबाट आउन नदिने बडाहाकिम छपे्रन्द्रविक्रम राणालाई तत्काल छाला काडेर नुनचुक लगाएर मृत्युदण्ड नदिए राजपाठ खोसिनेछ’ भनेर पद्मशमशेरलाई हुकुम दिए। त्यसपछि श्री ३ पद्मशमशेरले उक्त आदेश सनदमार्फत सिन्धुलीगढी दरबारमा पठाउन लगाए। सो कुरा बडाहाकिमका आफन्तले थाहा पाएर सनद जारी भएर पुग्नुभन्दा अघि नै मौखिक रुपमा जानकारी पुर्याए। यसरी खबर गर्दा पनि छपेन्द्रविक्रमले ज्यान जोगाउन भारत पलायन हुन चाहेनन्। बरु सनद आउनुभन्दा पहिला नै बेइज्जत भएर बाँच्नुभन्दा मर्नु नै ठूलो भन्ठाने। अनि आफैंले बोकेको बन्दुकको गोली कञ्चटमा हानेर आत्महत्या गरे। दरबार वरिपरि बसेर लेखापढीमा संलग्न भएका लेखनदासहरुले ढोका खोल्न खोजे तर खोल्न सकेनन्। तत्पश्चात् बसेरी गाउँबाट मगर सिकर्मीहरु ल्याएर ढोका खोली लास बाहिर निकालियो।
बडाहाकिम छपेन्द्रविक्रम राणाको मृत्यु अचानक सामाजिक र राजनीतिक कारण जे जसरी भए पनि माथि उल्लिखित दुवै घटना एकै समयमा भए। जसका कारण कातर स्वभाव भएका उनको मानसिक अवस्था कमजोर भएकाले आफूसँग रहेको बन्दुकको गोली कञ्चटमा हानेर आत्महत्या गरेका हुन् भन्ने इतिहासकारहरुको मत छ।
सुन्तलीमाईको दुर्दशा र विक्षिप्त जीवन
छपेन्द्रविक्रमको मृत्यु भएपछि बनारसी वाइबाको किशोरी छोरी सुन्तलीको दु:ख र वेदनाका दिनहरु सुरु भए। पेटमा रहेको छपेन्द्रको छोरीलाई जन्म दिइन्। छोरीलाई छपेन्द्रकी बहिनीले लगिन्। विस्तारै विस्तारै विक्षिप्त भएर उनी दरबारबाहिर भौतारिँदै थिइन्। त्यसपछि उनी काकासँग चपौलीमा बस्न गइन्। जहाँ रहँदा बस्दा उनको दोस्रो गर्भ रह्यो। जसका कारण उनले गढी दरबारमा उजुरी गरिन्। तर, उनको उजुरीउपर सुनुवाइ भएन। न्याय नपाए पनि उनले आफ्नो गर्भ रहेको अर्को एक छोरालाई जन्म दिइन्। जसलाई हुर्काएर विवाह गरिदिइन्। त्यसपछि उनी बूढेसकालसम्म छोरीज्वाइँसँग नै बसेर आफ्नो जीवनको इहलिला समाप्त गरिन्, भनिन्छ। सुन्तलीमाईको जीवनका महत्त्वपूर्ण कालखण्ड बनारस, सिन्धुलीगढी, गढीदरबार र यसका वरिपरिका दर्लामी, मगर, चुट्टी, चपौली, विजयछाप, माडीलगायतका भेगमा बितेको देखिन्छ। शारीरिक रुपमा स्वस्थ्य भए पनि मानसिक रुपमा विक्षिप्त रहेको सुन्तलीमाईको जीवन (अनुमानित जन्म वि.सं. १९९८ र मृत्यु वि.सं.२०६५) करिब ६७ वर्षको करुण कथा शब्दमा लेख्न सायदै सकिँदैन। यस घटनापछि सुन्तलीलाई तामाङ जात भएकी कारण उनको नाममा ‘माई’ थपिएर ‘सुन्तलीमाई’ नाममा वियोगान्त पात्रको रुपमा परिचित भएर हालसम्म जनश्रुतिमा हालसम्म बाँचिरहेकी छन्।
लोकगीत र पुस्तकमा सुन्तलीमाईको जीवन्त
सिन्धुलीका लोकगायक लोकविक्रम थापाले पञ्चायतकाल अर्थात् वि.सं.२०३६ साल अर्थात् सुन्तलीमाईको कारुणिक कथा टिपेर रेडियो नेपालमा लोकगीत रेकर्डिङ गरेर यसरी गाए। जुन गीत निकै लोकप्रिय भयो। यसै गीतले सिन्धुलीगढी र रानीदरबारभित्र घटेका घटनालाई वर्तमानसम्म सम्झाइरहेको छ।
सिन्धुलीगढी घुमेर हेर्दा-२
सुन्तलीमाई कतिमा राम्रो दरबार
मार्यो नि मायाले मार्यो।
आजकालको जोवनमा हेरसुन्तलीमाई
कस्तो पो होला घरबार
मार्यो नि मायाले मार्यो।।
त्यस्तै सिन्धुलीका लेखक सागरकुमार ढकालले वि.सं. २०७९ मा प्रकाशन गरेको ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ भन्ने पुस्तकमा सुन्तलीमाईसँग राणाकालमा शासकीय पात्रहरुले गरेको प्रेम प्रसंगहरु अभिलेखीकरण गरेका छन्।
विषय बैठान
सिन्धुलीगढी, गढीदरबार अर्थात् रानीदरबार र बडाहाकिमहरुसँग जोडिएका माथि उल्लिखित ऐतिहासिक, सामाजिक र प्रशासनिक घटनाहरु जोडिएका थुप्रै रोमाञ्चकारी प्रसंगहरु मात्र होइन। नेपालमण्डल, डोय र मकवानपुर राज्यका शासकका साथै नेपालबाहिर बंगालका शासकहरुसँग जोडिएका गौरवमय इतिहासहरु बोकेका थुप्रै सम्पदाहरु रहेका छन्। जसले सिन्धुलीमा भ्रमण गर्न आउने अनुसन्धानकर्ता, अवलोकनकर्ता, साहित्यिक एवं गैरसाहित्यिक सर्जकहरु तथा आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरिरहेका छन् भन्दा फरक पर्दैन।
(प्रस्तुत आलेख विभिन्न पुस्तक तथा लेखक एवं जानकार व्यक्तिहरुसँगको कुराकानीमा आधारित रहेर तयार पारिएको हो। इतिहास र संस्कृतिसम्बन्धी अनुसन्धान एवं लेखनमा क्रियाशील तामाङ नेपाल सरकारका पूर्वशाखा अधिकृत हुन्। तामाङ संस्कृतिबारे उनका दर्जनभन्दा बढी कृति प्रकाशित छन्।)