मुलुकमा रोजगारीको अवसर नहुँदा युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य छन् । यही बाध्यताको फाइदा उठाउँदै आएका छन् मानव तस्करहरुले । उनीहरुले सोझा युवायुवतीलाई आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न मुलुक पु¥याएर अलपत्र पार्ने, फसाउने कार्य गर्दै आएका छन् । महिलाहरु अझ बढी यस्तो समस्यामा पर्ने गरेका छन् । यस्तै समस्यामा परेकी छन् झापाको अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु । उनी तीन वर्षदेखि इराकमा अज्ञात गिरोहको बन्धक बनेको समाचार बाहिर आएको छ । उनकी आमा लखी मुर्मुले कमलाको उद्धार गरिदिन भन्दै अपिल गरेपछि यो घटना बाहिर आएको हो ।
तीन वर्षअघि २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पु¥याएर बेचेको उनकी आमाको भनाइ छ । ओमान लाने भनेर इराक पु¥याउनु नै अपराध हो । यसरी मानव तस्करको फन्दामा परेकी कमला चाँडोभन्दा चाँडो उद्धारको पर्खाइमा छिन् । तर, उनी इराकको कु ठाउँमा छिन् भन्ने नै टुंगो लागेको छैन । कमलाकी आमा छोरीको उद्धारका लागि हारगुहार गरिरहेकी छन् । यता सरकारी निकायहरु भने यस विषयमा बेखबरजस्तै देखिएका छन् । कमलाको उद्धारमा अहिलेसम्म कुनै पनि सरकारी निकायले कुनै पनि कदम चालेका छैनन् । यो सुन्दा कसको ध्यानाकर्षण हुँदैन होला ।
तीन वर्षदेखि बन्धक अवस्थामा रहेकी कमलाको उद्धारमा सरकारी निकायबाट कुनै प्रयास हुन नसक्नु अत्यन्त दुःखद विषय हो । दोहोरो सम्पर्क हुन नसकेका कारण कमलालाई इराकको कुन सहरमा बन्धक बनाइएको हो भन्नेबारेमा प्रस्ट हुन सकेको छैन । बन्धक बनेकी कमलाले भ्वाइस मेसेजमार्फत आफ्नो उद्धार नभए गिरोहले मार्ने त्रास रहेको जनाउँदै आएको उनकी आमा लखीले बताइन् ।
कमलाले खान नदिने मात्र नभएर चिसो भुइँमा सुत्न बाध्य पारेको र चर्को श्रम शोषण गरिरहेको बताउने गरेकी छन् । गिरोहले गाडीमा ओसारेर विभिन्न घर र कम्पनीमा लगेर काम लगाउने र ल्याउने गर्दै आएको कमलाकी आमा लखीले बताइन् । बाहिरी संसारमा कसैसँग सम्पर्क गर्ने सम्भावना नभएकोले उनको अवस्था संकटमा गुज्रिरहेको प्रस्ट हुन्छ ।
सरकारले कमला मुर्मुको तत्काल उद्धारका सम्बन्धित निकायहरुलाई परिचालन गरोस् । कमलालाई उद्धारका साथै उनलाई पीडित बनाउने व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । कमला मात्रै होइन, उनीजस्ता धेरैले विदेशी भूमिमा समस्या बेहोर्नुपरिरहेको छ । यसतर्फ सरकारको ध्यान तत्काल जाओस् ।