काठमाडौं– प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म ‘धुलो’ युनिटले प्रचारप्रशारलाई तीव्रता दिएको छ । केही दिनअघि राजधानीमा प्रेसमिट गरि ट्रेलर सार्वजनिक गरेको फिल्मको शुक्रबार ‘चार सय चालिसको बिजुली’ बोलको आइटम गीत दर्शकमाझ ल्याइएको छ ।
राजधानीमा सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मज्दुरको जीवनशैली, सपना, संघर्ष र अबस्थाको बिषयमा निर्माण गरिएको फिल्मको सो आइटम गीत दुर्गा खरेल र अनुप थापाले गाएका छन् । केशव मिश्रले लेखेको गीतमा जुगल डंगोलको संगीत र रामजी लामीछानेको कोरियोग्राफी छ । नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रूपमा कार्यरत संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको ‘धुलो’ अबको शुक्रबार अर्थात् १६ फागुनमा एकल प्रदर्शनमा उत्रँदै छ ।
गीतमा बुद्धि तामाङ, अग्रज केसी र दिपाशा बिसी फिचर छन् । निर्देशक मिश्रका अनुसार यो आइटम ‘ड्रिम सिक्वेन्स’ हो । सुकुम्बासी बस्तीमा बस्ने दुई मजदुरको कल्पनालाई यो गीतमा प्रस्तुत गरिएको छ । यथार्थपरक बिषयमा निर्माण गरिएको फिल्ममा बुद्धि र अग्रजका साथमा सिर्जना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन् । दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । सिके वाग्लेप्रोजेक्ट एडभाइजर रहेको फिल्ममा केशब मिश्र र दीपक समीरको गीत, शंकर थापा र जुगल डंगोलको संगीत, रबिन आचार्यको छायाङ्कन, अर्जुन जिसीको सम्पादन तथा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ ।