भक्तपुरमा रहेको बाल सुधारगृहमा भदौ ४ गते अचम्म लाग्दो दृश्य देखियो । सामाजिक सञ्जालमा बाल सुधारगृहमा रहेका बालबालिकाले प्रहरीलाई लखेटेको दृश्य छाएको छ । उनीहरुले सडकमा निस्केर गाडीसमेत तोडफोड गरेको र सडक अवरुद्ध पारेको दृश्य फेसबुकदेखि टिकटकमा छ्याप्छ्याप्ती भेटिन्छन् ।
१८ वर्ष नपुगेकाहरुले गम्भीर अपराध गरेमा उनीहरुलाई बाल सुधारगृहमा राख्ने कानुनी व्यवस्था छ । यस्तै अपराधमा भक्तपुरको मध्यपुरस्थित बाल सुधारगृहभित्र रहेका रामेछापका कमल बस्नेतको भदौ ३ गते मृत्यु भयो । तीन वर्षअघि २०७९ जेठ २९ गते जबरजस्ती करणी मुद्दामा सुधारगृहमा राखिएका बस्नेतको मृत्युलाई लिएर उनका आफन्त आक्रोशित हुँदै विरोधमा उत्रिएका थिए । रहस्यमय ढंगले मृत्यु भएको भन्दै उनका आफन्तले नाराबाजीसमेत गरेका थिए ।
त्यसपछि सुधारगृहका २५५ जना बन्दी बाहिर निस्किएर तोडफोडमा उत्रे । उनीहरुमध्ये २४८ जना सुधारगृहमा फर्किसकेका छन् भने सात जना फरार रहेको प्रहरीले जनाएको छ ।यही घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले बालबालिकाको स्वास्थ्य, सुरक्षा एवं जीवनको अधिकारप्रति संवेदनशील हुँदै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ । आयोगले बाल सुधारगृहमा भयरहित वातावरणको सुनिश्चितता गर्न र त्यस प्रकारका घटना पुनः दोहोरिन नदिन सम्बद्ध सबै पक्षलाई आग्रहसमेत गरेको छ ।
आयोगले यसबारे सुधारगृहमा अनुगमनसमेत गरेको छ । अनुगमनका क्रममा आयोगले बाल सुधारगृहमा रहेका बालबालिका, बाल सुधारगृहको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानबिन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानबिन समितिका सदस्यसँग प्रत्यक्ष भेटी जानकारी लिनुका साथै बाल सुधारगृह परिसरको अवलोकन गरेको जनाइएको छ ।
सुधारगृहको व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले आफ्नो नियन्त्रण र निगरानीमा राखिएका बिरामी बस्नेतको स्वास्थ्योपचारमा संवेदनशीलता नदेखाएको एवं सुधारगृहका कमाण्डरले आवश्यक समन्वय गर्न नसकेकाले सामान्य बिरामी परेका निज कमलको उपचार अभावमा मृत्यु भएको भन्दै बालबालिकाले विरोध गरेका थिए । बाल सुधारगृहका बालकको समूहले यही भदौ ४ गते ढुंगामुढा तथा तोडफोड गरी सुधारगृृहबाट भागेको, भागेकामध्ये केही सम्पर्कमा आएको र अझै सात जना सम्पर्कमा आउन बाँकी रहेको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।
बन्दीको मृत्युपछि उत्पन्न परिस्थितिमा भएका उच्छृंखल व्यवहार प्रदर्शन हेर्दा सुधारगृहभन्दा कतै बिगारगृह हो कि भन्ने टिप्पणीसमेत धेरैले गर्न थालेका छन् । अपराध अभियोगमा सुधारगृहमा राखेकाहरु सुध्रेको यो घटनाबाट कतै पनि पुष्टि हुन्न । हरेक कोणबाट यो व्यवस्थापनको असफलता हो । यसैले यस विषयमा निष्पक्ष छानबिन गरी व्यवस्थापन पक्ष र त्यतिबेला खटिएका प्रहरीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।