२०६३ मंसिर ५ गते सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी पार्टीबीच भएको विस्तृत शान्ति सम्झौतापछि तत्कालीन जनमुक्ति सेना नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)को सुपरीवेक्षणमा रहने भयो । उक्त निर्णयसँगै योद्धाहरुको जिन्दगीले कोल्टे फेर्यो । डिभिजन कमाण्डर क. कालीबहादुर खाम (विविध) नेतृत्वको हाम्रो डिभिजन चितवनको जुटपानीमा बनाइएको अस्थायी क्यान्टोनमेन्टमा रहने भयौं । डिभिजनस्तरीय ब्रिफिङमा क. विविधको निर्देशन थियो-
अनमिनबाट हुने प्रमाणीकरणका लागि हामी जनमुक्ति सेना अस्थायी रूपमा क्यान्टोनमेन्टमा रहनेछौं । सही विचारले वीरताको इतिहास रचेर आएको जनमुक्ति सेनाले प्रमाणीकरणको परीक्षामा खरो उत्रिनुपर्नेछ । त्यसका लागि सबैजना तयारी अवस्थामा रहनू, कोही पनि हतोत्साही नहुनू ।
केही दिनपछि भएको डिभिजनस्तरीय रोलकल भएको जुटपानीस्थित मैदानमा जनसेनाको ठूलो शक्ति केन्द्रित भएको थियो । हाम्रो फौज कम्ब्याट ड्रेस (सैन्य पोसाक)मा सजिएको थियो । सबैको टाउकोमा रातो तारा भएको टोपी, दुवै कुममा रातो अक्षरले पिएलए (पिपुल्स लिबुरेसन आर्मी) लेखिएको लोगो, विश्वको सर्वोच्च शिखर सगरमाथाको पृष्ठभूमिमा ‘एके-४७’ क्रस चिह्न, सगरमाथाको चुचुरोमाथि रातो तारासहित जनमुक्ति सेनाको झण्डा भएको लोगो । योद्धाहरुको फर्मेसन क्या गज्जब !
छ/सात ठाउँमा अनमिन लेखिएको निलो टेन्ट टाँगिएको थियो । पालैपालो त्यही टेन्टमा पुगेर सवालजवाफबाट आफू जनमुक्ति सेना भएको प्रमाणित गर्नुपर्थ्यो । यत्तिकैमा मेरो पनि पालो आयो । म सरासर टेन्टतिरै अघि बढेँ । मलाई देख्नेबित्तिकै अनमिनका एक जना प्रतिनिधिले कुर्सीमा बस्न इसारा गरे । व्यक्तिगत विवरणको रेकर्ड राख्न कम्प्युटर र क्यामरा तयार थियो । विभिन्न मुलुकबाट आएका अनमिनका प्रतिनिधिहरु देख्दैमा आश्चर्यलाग्दो । शारीरिक रुपमा निकै अग्ला र फरक देखिन्थे उनीहरु । दोभाषेका रुपमा नेपालीलाई राखिएको थियो । सुरूमा उनीहरू आपसमा मैले नबुझ्ने भाषामा कुरा गरे । अनि दोभाषेबाट प्रश्न सुरु भयो-
प्रश्नः तपाईंको नाम के हो ?’
मः संरचना तामाङ ।
प्रश्नः तपाईंको उमेर ?
मः १९ वर्ष ।
प्रश्नः तपाईंको घर ?
मः काभ्रे ।
प्रश्नः कति समय भयो लडाकु बनेर हिँडेको ?
मः पाँच वर्ष ।
प्रश्नः लडाइँ लड्नुभयो ?
मः युद्धमा हिँडेको योद्धाले लडाइँ नलडेर के गर्छ होला त ?
प्रश्नः उसो भए कतिवटा लडाइँ लड्नुभो ?
मः योजनाबद्ध रूपमा चारवटा र आकस्मिक रूपमा छ वटामा सहभागी भएँ ।
प्रश्नः तपाईंले मान्छे मार्नुभयो ?
मः युद्धमा लागेको मान्छेले कि त मान्छे मार्छ कि त आफू मर्न तयार हुन्छ । युद्धमा लागेर शान्तिको पाठ त पक्कै पढाइँदैन होला !
प्रश्नः अनि कतिजना मान्छे मार्नुभयो ?
मः मारेको मान्छे गनेर बस्ने फुर्सदै कहाँ हुन्थ्यो र !
प्रश्नः अनि तपाईंको हातमा भएको बन्दुकको नाम थाहा छ ?
मः (प्रश्न सुनेर हाँस उठ्यो तर कन्ट्रोल गर्दै) थाहा छ ।
प्रश्नः यो हतियारको नाम केहो ?
मः इन्सास ।
प्रश्नः यसको तौल कति हो ?
मः ४.०८ केजी ।
प्रश्नः यसमा लाग्ने गोली कति एमएमको हुन्छ ?
मः ५.५६ एमएम ।
प्रश्नः तपाईं सानै उमेरमा युद्धमा लाग्नुभएको रहेछ, तपाईंलाई डर लागेन ?
मः डराउने मान्छे कहाँ युद्धमा लाग्न सक्छ र ।
(मलाई प्रश्न सोध्ने कार्य रोकेर फेरि खासखुस उनीहरूबीच कुराकानी भयो । म भने अब कस्तो प्रश्न सोध्ने हो ! भनेर मनमा कुरा खेलाउँदै बसें ।)
प्रश्नः ‘तपाईंले बोक्नुभएको हतियार खोलेर जोडेर देखाउनुस् न ।
मः हुन्छ (म हतियार खोलेर जोड्न लाग्छु) ।
मैले तर्तीबार रुपले हतियार खोलजोड गर्न लागें । उनीहरूले एक टकले हेरिरहेका थिए । मैले देब्रे घुँडालाई जमिनमा र दाहिने खुट्टाको पैतालालाई भुइँमा टेकाएँ । हिप र ढाडलाई सीधा बनाएर इन्सास राइफललाई देब्रे काँधमा अड्याएँ । गोजीबाट रुमाल झिकेर सबैभन्दा पहिला जमिनमा रुमाल बिछ्याएँ । इन्सासको म्यागजिन निकालेर ओछ्याएको रुमालमा राखेँ ।
शान्ति प्रक्रियापछि पार्टीले आफ्ना कार्यकर्ताको व्यवस्थापनमा ध्यान दिएन । पार्टी संसदीय व्यवस्था र सत्ताको मोहमा लिप्त हुँदै गयो । युद्धका बहादुर साथीहरू, जो शान्ति प्रक्रियामा आएर अयोग्य हुँदै घर फर्केका थिए उनीहरू रोजीरोटीको निम्ति र सिस्नो उम्रेको घरको जग हाल्नका निम्ति खाडीमा पसिना बगाउँदै छन् । क. अनु भक्तपुरको पाँचतले मन्दिरमा बिहान बेलुका साग बेचेर गुजारा चलाउँदै छिन् । आज यी तरकारी बेच्नेलाई हिजोको सहयोद्ध कमरेडहरुले चिन्दैनन् । भर्भराउँदा कलिला दिमागहरुलाई जनवादी शिक्षाको सपना देखाएर युद्धमा होमिन पठाउनेहरुले आज चिन्दैनन् ।
त्यसपछि पालैपालो अरु पार्टपुर्जाहरु तर्तीबार ढंगले खोल्दै रुमालमा राख्दै गएँ । इन्सास राइफल खोलेपछि उनीहरूको अनुहारमा हेर्न पुगेँ । जोड्नु ! भन्ने इसारा पाएपछि फटाफट जोडेँ । यस्तो कार्य गर्न लगभग एकदेखि डेढ मिनेटमा सकियो । फेरि कुर्सीमा बस्न इसारा गर्यो । सायद उमेर, उचाइ र शारीरिक रूपमा सानी देखेरै हुनुपर्छ मलाई अलि केरकार बढी गर्न थालियो । म आफू निर्धक्क भएर ओठको मुस्कान छाड्दै उत्तर दिइरहेँ ।
अन्तिम प्रश्न थियो- तपाईंलाई जन्म दिने आमा र गणतन्त्रमा कुन प्रिय लाग्छ ?
मेरो जवाफ थियो- मेरी आमाका लागि म प्रिय हो । तर, मेरो देश र मेरो लागि गणतन्त्र प्रिय लाग्छ । किनभने म जस्तै योद्धाहरु र लाखौं करोडौं जनताले लडेर ल्याएको गणतन्त्र हो यो ।
मेरो कुराले कति चित्त बुझ्यो, कति बुझेन त्यो त मलाई थाहा भएन । ‘अब तपाईं जानुहोस्’ भनेपछि म त्यहाँबाट बाहिर निस्कें ।
‘ओइ संरचना ! तपाईंलाई त निकै समय लगायो त । कतै तपाईंलाई अयोग्यको लिस्टमा त पारेन ?’ यो प्रश्न सेती विक (कमरेड सरला जो चितवनको दाह्रेचोक भिडन्तमा सख्त घाइते भएकी थिइन् । उनी अहिले पनि अशक्त नै छिन् ।) को थियो ।
‘खोइ ! सोधेको जति प्रश्नको उत्तर दिएकै छु क्यारे, के गर्ला कुन्नि ! योग्य र अयोग्यको लिस्ट आउट गरेपछि नै थाहा होला । जे भए नि होस् !’ यस्तै जवाफ फर्काएँ ।
एकपछि अर्को साथीहरू मलाई घेर्दै अनमिनको कर्मचारीले लगाएको समयको अन्दाज लाउँदै के-के के-के सोध्दै थिए । ‘कतै अयोग्यको सूचीमा पारियो कि ? तपाईंलाई त यति समय लगायो झन् मलाई कति समय लगाउला ? मलाई त डर लागिरहेको छ । यतिका वर्ष लडाइँ लडियो, अहिले आएर अयोग्यको सूचीमा नाम निस्कियो भने ? न पढाइ न सीप, यो घाइते शरीर पार्टीले व्यवस्थापन नगरे के हालत होला ?’ आदि इत्यादि प्रश्न... ।
ओहो ! सामूहिक लडाइँ र एकल बौद्धिक लडाइँमा फरक अनुभूति हुँदोरहेछ । म जत्तिको बोलक्कडलाई त यस्तो र्याखर्याख्ती पार्छ भने अन्य अन्तरमुखी कमरेडहरुलाई कति हतोत्साहित बनायो होला ! दिमाग रिंगिन थाल्यो । त्यहाँ कसैले कसैलाई सिकाउन मिल्ने वातावरण नै थिएन । आफ्नो मनमा जे लाग्यो त्यही उत्तर दिनेबाहेक अरु उपाय थिएन । बाहिर बसेका कमाण्डर कमरेडहरु भन्दै हुनुहुन्थ्यो, ‘शान्त शालीन भएर प्रस्तुत हुनुहोस् । हिजो हामीलाई कञ्चटमा पेस्तोल ताक्दा त हामीले विवेक गुमाएनौं । आज त शान्ति प्रक्रियामा आइसकेका छौं डराउनु पर्दैन । सत्ता हाम्रै छ । गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हाम्रै पार्टी अध्यक्ष क. प्रचण्ड हुनुहुन्छ । हाम्रै सत्ता हाम्रै सरकार भएको बेला पनि डराएर हुन्छ ? हामी कोही अयोग्य हुने छैनौं ।’
कमाण्डरहरुको यस्तै कुराले बाँकी कमरेडहरु विश्वस्त हुँदै गएका थिए । निकै दिन लगाएर जनमुक्ति सेनाको प्रमाणीकरण सकियो ।
०००
तेस्रो डिभिजनका सबै ब्रिगेडहरु आ-आफ्नै क्याम्पमा रह्यौं । सैन्य नियम । निश्चित समयमा चल्नुपर्ने । खाने, बस्ने, उठ्ने, सुत्ने, तालिम गर्ने । सबै समय तालिका अनुसार नै हुन्थ्यो । प्रत्येक दिनको सैन्य रोलकल, पट्रोलिङ गस्ती, दिन र रातको सुरक्षा ड्युटी यीबाहेक अन्य उत्पादनका कार्यहरू हुँदै थियो । मेरो ध्यान भने सधैं उही प्रमाणीकरणको नतिजा कुर्नमै हुन्थ्यो । त्यहाँ मेरो रगतको नाता कोही पनि थिएन । सबैजना युद्धभूमिमै भेटेका र चिनेका सहयोद्धाहरु मात्र थिए । तैपनि आफ्ना हुनका लागि रगतको नाता नचाहिँदो रहेछ । माया, विश्वास भए वर्गीय सम्बन्ध पनि आफ्नैजस्तो हुँदोरहेछ । युद्धको भुमरीमाजस्तै कतिबेला मरिन्छ भन्ने कुराको चिन्ता नभए पनि कतिबेला अयोग्यताको बिल्ला भिराइन्छ र बाहिर निकालिन्छ भन्ने चिन्ता भइरह्यो । बेलाबखत सुन्दै आएको हुन्थ्यो फलानो डिभिजनमा यतिजना अयोग्यको लिस्टमा नाम निस्क्यो रे । कम्पनी कमाण्डर फलानो पनि अयोग्य भयो रे ! आदि इत्यादि । सुन्नमा आएको कुराले पनि कहिलेकाहीँ खुब सताउँदो रहेछ । यथार्थ के हो ? त्यो त बुझ्नै बाँकी थियो । निकासबिनाको जिन्दगी बिताउन साह्रै गाह्रो पो हुँदोरहेछ । युद्धमा त ‘रे’ को कुरा सुन्न न फुर्सद हुन्थ्यो न नानाथरी कल्पना गरेर बस्न नै । जब शिविरमा आएपछि हामी फुर्सदिलो हुँदै गयौं तब दिमागमा अनेकौं सोचाइ आयो । कतिपय साथीहरू पलायन पनि भए ।
प्रमाणीकरणको सूची सार्वजनिक गर्न निकै गाह्रो भयो । प्रमाणीकरणको नतिजा कमाण्डरहरुबाहेक अरुलाई सुनाइएन । बिस्तारै सुन्नमा आयो । फलानो बटालिएनको फलानोको पनि अयोग्यको सूचीमा नाम आएछ । फलानो प्लाटुनको कमाण्डर पनि फेल भएछ । हुँदाहुँदै हिजो युद्धमा संगै लडेका साथीहरूको नाम एकपछि अर्को गर्दै सुनिन थाल्यो । एक हिसाबले मन बेचैन हुँदै गयो । अर्को हिसाबले यहाँ अयोग्य भएर के भो त पार्टी संगठन छँदै छ । त्यता त कसो योग्य नहोला भनी मनले मनसँग फितलो तर्क गर्दै आत्मसंवाद गर्न थाले । म बसेको कल्याण-अनिश स्मृति ब्रिगेडबाट पनि थुप्रै साथीहरूको नाम अयोग्य लडाकुको सूचीमा रहेछ । मेरो प्लाटुनको पनि क.रिजन, क. विकल, क. एलिसा तीन जनाको नाम अयोग्यको सूचीमा देखें । मन बेस्सरी अनिलो भयो । युद्ध हारेको सिपाहीको हविगत अन्दाज गर्नुस् त्यस्तै हाल मेरो पनि भयो । म योग्यमा निस्केर पनि अयोग्य महसुस हुँदै थियो । ती भाइबहिनीहरुको रुवाबासी सुरु भइसकेको थियो । हिजो माथिल्लो कमान्ड छ र महान तथा गौरवशाली पार्टी साथमा छ भनेर रोलकलमा विश्वस्त तुल्याउने कमाण्डरहरुको पनि केही जोर चलेन । अन्ततः अनमिनको नजरमा अयोग्य भनिएका कमरेडहरु क्यान्टोनमेन्टबाट बाहिर निस्कनुपर्ने निर्देशन आयो ।
०००
एक दिन हामी नुहाउनका लागि खोलामा गएका थियौं । हतार कसैलाई थिएन । अलि फुर्सदिलो भएकोले नुहाइधुवाइ सकेर पनि लुगा नसुकुञ्जेल खोला किनारमै बस्ने सल्लाह गर्यौं । सेती विक (क. सरला) म्हार्साङ गोले (क. कृतिका), क. बसन्ती राई, क. शृंखला मगर, राधिका सिटौला (क. बिहानी), क. रसिलालगायत हामी सबैजना युद्धको बेलाकै गफ गरेर बस्यौं । हामी सबैजना एक कमाण्डर तहका महिला थियौं । हाम्रो ड्रेसअप सबै पुरुष साथीहरूको जस्तै हुन्थ्यो । त्यसमाथि क. वसन्ती र मेरो त कपाल पनि पुरुष कमरेडहरुको जस्तै ‘ब्वाइज कट’ । कपाल नभएकै कारण पनि हामी दुई अरु साथीहरुभन्दा नुहाउनमा छिटो छरितो भयौं । कपाल हुनु र नहुनुको फाइदा यतिमात्र हो । धेरै स्याहार्नु नपर्ने । कोरिरहनुपर्ने झण्झटबाट मुक्त ।
हुन त शिविरमा केही महिला साथीहरूको कपाल काटेको हुन्थ्यो । सैन्य तालिमको हिसाबले पनि कपाल हुनुभन्दा नहुनु सजिलो लाग्थ्यो । हामी गफिँदै थियौं । बेथान स्मृति ब्रिगेडमा कार्यरत दुई जना साथीहरू (क. साधना र क. अञ्जली) हामीतिर आए । खोला किनारमा बसेर गफिन थाल्यौं । क्यान्टोनमेन्टको जिन्दगी, युद्ध, शान्ति प्रक्रिया, भविष्य र प्रमाणीकरणको बारेमा कुराकानी भयो । यत्तिकैमा क. साधनाले ‘यता क-कसको अयोग्यमा नाम आयो है ? हाम्रो ब्रिगेडमा त धेरै जनाको नाम आएको छ । दुःख लाग्छ युद्धको बेला योग्य बहादुर साथीहरू अहिले अयोग्यको सूचीमा परेर अब शिविर छोडेर छिट्टै जाँदै हुनुहुन्छ । कमरेड रञ्जुको नाम पनि अयोग्यमा निस्केछ नि !
यति सुन्नासाथ चसक्क मन दुख्यो । हामी सँगसँगै थुप्रै मोर्चामा लडेका थियौं । उनी साह्रै साहसी थिइन् । काभ्रेको विकट ठाउँ डाँडापारी जन्मिएकी क. रञ्जु पार्टीमा लागेदेखि नै सैन्य फिल्डमा थिइन् । शाही सेनासँग थुप्रै मुठभेड र मोर्चाहरुमा अग्रपंक्तिमा नै लड्ने गर्थिन् । त्यतिमात्र हैन २०६१ सालमा काभ्रेको भूमिडाँडा सामूहिक हत्याकाण्डको बेला बचेकी एकमात्र योद्धा । जहाँ छ जना सहयोद्धाहरुलाई शाही सेनाले निर्मम यातना दिएर बसेको सेल्टर नै जलाइ मारेको थियो । कमरेड रञ्जु सेन्ट्री बसेकै ठाउँमा हातखुट्टा बाँधेर मुख र आँखामा पनि पट्टी बाँधेर लडाइराखेको अवस्थामा घिस्रिँदै-घिस्रिँदै गएर भीरमा गुल्टेर ज्यान जोगाएकी एक योद्धा थिइन् । उनको नाम सुन्ने बित्तिकै एकाएक घटनाक्रमको याद आयो । निकै पुराना साथीहरु पनि अयोग्यको ट्याग झुण्ड्याउँदै निस्किँदै थिए । यो भन्दा हार अरु के होला !
पढ्नुपर्ने उमेरमा जनवादी शिक्षाको खोजीमा लाग्यौं । लागेको पनि के भन्नु, बुर्जुवा शिक्षा कामै छैन भनी दिमागमा विष घोलेर पिलाए । आज शान्ति प्रक्रियामा आएपछि विभिन्न बहानामा अयोग्य ठहरिँदै खाली हात । शरीरभरि बमगोलीको छर्रा, घाइते शरीर । सिस्नो उम्रेको त्यही झुपडी खोज्दै जानुपर्ने कस्तो विडम्बना ! यस्तै प्रश्नहरुले दिमागमा घर गरिसकेको थियो । तैपनि पार्टीको निर्देशन कुर्नैपर्ने थियो । आफ्नो ज्यानभन्दा ठूलो पार्टी सम्झेका थियौं । अयोग्य भनिएका कमरेडहरु क्यान्टोनमेन्ट छाड्ने कुरा निश्चित भइसकेको थियो । हाम्रा गफहरु यस्तै विषयवस्तुमा केन्द्रित भए ।
सेक्सन कमाण्डर क. रसिलालगायतका अरु साथीहरु पनि नुहाइ सकेर हामी बसेकै ठाँउमा आए । हामीले निकै दिनअघिदेखि उनको नाम पनि अयोग्य सूचीमा रहेको सुनेका थियौं । फ्याट्टै कसैले भन्न सकेका थिएनौं । उनको मनोभाव बिग्रेको अनुभव भने पक्का गर्न सक्थ्यौं । उनले अलि संकोच मानेर ‘अब हामी कति नै सँगै बस्न पाउँला र ! आज हो कि भोलि निस्क भन्ने हो । कहिलेकाहीँ त दिक्क लाग्छ । अब कुन मुख लिएर घर फर्किने ? कक्षा १० मा पढ्दापढ्दै बुर्जुवा शिक्षा काम छैन भनेपछि किताब कापी थन्क्याएर भूमिगत भएँ । आमा बेस्सरी रुनुभएको थियो । बाले काठमाडौं लगेर पढाउँछु भन्नुभएको थियो । पढेको भए यतिका वर्षमा त पढाइ सकेर जागिरे पनि भइसकिन्थ्यो । सँगैका साथीहरूले यो जागिर खाए, यति पढ्यो, पढिरहेछ, यति कमायो भन्ने सुन्नुपर्छ । आफू खाली हात झुकेको शिर बोकी गाउँ फर्किनुभन्दा यहीँ आत्महत्या गरेर मरुँ कि जस्तो पनि लाग्छ ।’
उनको आँखामा आँसु छचल्किरहेको थियो । के बोल्ने के नबोल्ने सान्त्वना दिनसमेत शब्दको अभाव महसुस भयो । दम नभएको कुरा यतिकैमा बोलें । योग्य हुनेहरु पनि खुसी हुने बलियो आधार नै के थियो र ! सधैं अन्योलमै बस्नुपर्ने । पिर नगर्नु त्यहाँ गएर पनि हामी पार्टी संगठनमा जोडेर संगठन बिस्तार गरेर पार्टीलाई बलियो बनाउनुछ । आखिर पार्टी पंक्ति त बाहिरै छ त । यसरी नै दुखेका मनहरुलाई सम्झाउने कोसिस गर्यौं ।
शान्ति प्रक्रियापछि पार्टीले आफ्ना कार्यकर्ताको व्यवस्थापनमा ध्यान दिएन । पार्टी संसदीय व्यवस्था र सत्ताको मोहमा लिप्त हुँदै गयो । युद्धका बहादुर साथीहरू, जो शान्ति प्रक्रियामा आएर अयोग्य हुँदै घर फर्केका थिए उनीहरू रोजीरोटीको निम्ति र सिस्नो उम्रेको घरको जग हाल्नका निम्ति खाडीमा पसिना बगाउँदै छन् । क. अनु भक्तपुरको पाँचतले मन्दिरमा बिहान बेलुका साग बेचेर गुजारा चलाउँदै छिन् । आज यी तरकारी बेच्नेलाई हिजोको सहयोद्ध कमरेडहरुले चिन्दैनन् । भर्भराउँदा कलिला दिमागहरुलाई जनवादी शिक्षाको सपना देखाएर युद्धमा होमिन पठाउनेहरुले आज चिन्दैनन् । तपाईंको इतिहासबारे थाहा छैन, सुनेकै छैन भन्दा दुःख लागेर आउँछ । विधिको विडम्बना भनेको यही रहेछ ।
आज अयोग्यको बिल्ला भिराएर बाहिर निकालिएका साथीहरू पनि घर न घाटको अवस्थामा छन् । कयौंपटक आन्दोलन गर्दा पनि उनीहरूको माग सम्बोधन हुन सकेको छैन । पार्टीलाई पनि कुनै वास्ता छैन । त्यसैले इतिहासको हरेक कोल्टे फेराइमा आफूले पनि कोल्टे फेर्नसक्ने हिम्मत र क्षमता राख्नुपर्दोरहेछ ।
(नमोबुद्ध नगरपालिका-५ काभ्रेकी मोक्तान पूर्वजनमुक्ति सेना हुन् । सेना समायोजनको क्रममा उनले स्वेच्छिक अवकाश रोजेकी थिइन्।)