साउन ३ गते विमानस्थलबाट बाहिरिसकेको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेपछि दैनिक गञ्जगोलका घटना हुन थालेका छन् । न त यसको अनुसन्धान विश्वसनीय छ न त यसको परिणाम नै विश्वास गर्नयोग्य रह्यो । सय किलो भनिएको सुनको परिमाण ६० केजी ७१६ ग्राममात्र निस्कियो । १८ दिनसम्म सुनको मूल मालिक नभेट्टाएको भन्दै विभागमाथि दैनिक प्रश्न उठाएपछि सुन अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई जिम्मा लगाइयो ।
यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यस प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिरह्यो । सत्ता पक्ष भने सरकारी संरचना सिआइबीलाई विश्वास गर्नुपर्ने भनेर बचाउमा उत्रिरह्यो । अन्ततः सिआइबीले अनुसन्धानको प्रतिवेदन बुझाएपछि समिति गठन गर्ने भन्दै सत्तापक्षले नेकपा एमालेलाई चित्त बुझायो । सिआइबीले अनुसन्धान टुग्याइसकेको छैन । अन्तरदेशीय अपराध भन्दै प्रहरीले इन्टरपोललाई पनि गुहा¥यो । सिआइबी यति लाचार बन्यो कि आफूहरुसँग अनुसन्धानका लागि पुग्दो जनशक्ति नभएको भन्दै यो विषयलाई गञ्जागोल पार्न खोजियो । यद्यपि, यो विषय अध्ययनका लागि हङकङसमेत जाने भएको छ ।
यतिले नपुगेर यो अनुसन्धानमा समितिमाथि समिति गठन गरेको छ । सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा मंगलबार समिति गठन गरिएको छ । प्रहरी आइजी वसन्त कुँवरले उक्त समिति गठन गरेका हुन् । बज्राचार्य सिआइबीकी निर्देशक हुन् । सिआइबीले एसपी सञ्जयसिंह थापाको कमाण्डमा टिम बनाएर साउन २२ देखि अनुसन्धान सुरु गरेको थियो । साउन २१ गते विभागले ब्युरोको जिम्मा लगाएको थियो ।
यो प्रकरणमा गृह मन्त्रालयले पनि पक्राउ परेका एक जनाको नागरिकता छानबिन गर्न समिति गठन गरेको छ । तिब्बती मुलका बेल्जियन नागरिक छिरिङले लिएको नेपाली नागरिकताबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको हो । गृहका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार उपसचिव कृष्णबहादुर कटुवालको नेतृत्वमा समिति गठन गरिएकोे छ ।
ठमेलस्थित ‘होटल भियना’को सञ्चालकसमेत रहेका छिरिङले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ । लाजिम्पाट बस्ने छिरिङको माओवादी नेताहरुसँग हिमचिम रहेको देखिएको छ । अहिलेसम्मकै धेरै सुन भनेर प्रचार गरिए पनि सुन जोख्दा फुस्सा भएसँगै सुनबारे चर्चा कम हुन थालेको छ । यद्यपि, यो प्रकरणलाई सरकारी निकाय भने अझै मत्थर पार्दै गञ्जागोल गर्ने प्रयासमा लागेको छ ।