अमेरिकी मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसिसी) बुधबारबाट कार्यान्वयनमा गइसकेको छ । ५० करोड अमेरिकी डलर अमेरिकाको अनुदानमा नेपालले १९.७ करोड डलर थप्नुपर्नेछ । पाँच वर्षमा पूरा नभए अमेरिकाले उक्त अनुदान फिर्ता लाने प्रस्ट पारिसकेको अवस्थामा नेपालले द्रूत गतिमा काम गर्नुपर्नेछ । तर सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने एमसिसीमा दोहोरो चरित्र प्रदर्शन गरिरहेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार रहेको बेला माओवादी पनि सरकारमै थियो । दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै जोडबलमा देउवा प्रधानमन्त्री बनेका थिए । उनै देउवाको पालामा सदनमा टेबल हुँदा एमसिसीको पक्षमा दाहालले आफ्नो दलका सांसदहरुको मत खन्याए । सुरुमा आफू विपक्षमा उभिने भनिए पनि १२ बुँदे व्याख्यात्मक घोषणाको दाम्लोमा बाँधिएर दाहालले खुसुखुसु मत हाले ।
अहिले आफूले विरोध गर्न नमिल्ने देखिएपछि समाजवादी मोर्चामार्फत एमसिसी विरोधी मार्चपास खेलाइरहेका छन् दाहाल । एमसिसीमा चीन रुष्ट छ भन्ने कुरा प्रस्ट छ, किनकि एमसिसीको विरोधमा चर्का कुरा गर्ने देव गुरुङलाई दाहालले माओवादीको महासचिव बनाइदिए । एमसिसी सदनमा प्रस्तुत गर्ने भूमिका खेलेका जनार्दन शर्माले जति रहर गर्दा पनि उक्त पद पाएनन् ।
नुनको सोझो गर्न हो कि शर्मा त्यतिबेला बिरामीको बाहनामा संसद्मा नआएपछि कांग्रेसबाट मन्त्री बनेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले टेबल गरेका थिए । अहिले शर्मा चुपचाप छन् । उसो त एमसिसीको चर्को विरोधी गुरुङ पनि अचेल सार्वजनिक रुपमा देखिएका छैनन् । एमसिसी कार्यान्वयनमा जाने भएपछि व्याख्यात्मक विश्लेषण निकालेर दाहालले निहुँ खोज्न थालेका छन् । बुटवलदेखि सुर्खेत पुग्दा दाहालले आफ्नो सरकारलाई कसैले ढाल्न नसक्ने भन्दै स्वरसमेत चर्काएका छन् ।
विद्युत् प्रसारणको इतिहासमा एमसिसी ऐतिहासिक परियोजना हो । माओवादी नेतृत्वकै सरकारले नियुक्त गरेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यो परियोजना पूरा भएमा विद्युत् क्षेत्रमा छलाङ मारिने भन्दै काममा खटिरहेका छन् ।
यदि यो प्रसारणलाइन नबने कुलमान असफल भएर प्रधिकरणबाट बिदा हुने र लोडसेडिङ फेरि ब्युतिँने बताइँदै आएको छ । एकातिर विद्युत्को माग चर्किरहेको छ भने नेपालमा विद्युत्को स्टोरेज छैन । अहिलेसम्म धानिरहेको विद्युत् प्रसारणलाइन कमजोर भएकोले बेलाबेला बत्ती जान थालेको जागजाहेरै छ । यस्तो अवस्थामा समाजवादी मोर्चाको तरबार देखाएर प्रधानमन्त्री दाहाल मुखुण्डो लगाएर लाखेझैं कति समयसम्म नाचिरहने ?