काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’को अराजक शैली पछिल्लो समय उदंगो भएको छ । केही समयअघि मात्र सिंहदरबार क्षेत्रको फोहोर रोकेर जनस्वास्थ्यमा गम्भीर असर पार्ने खालको कार्यनीतिबाट चर्चामा आएका बालेन पछिल्लो समय विभिन्न ‘स्टन्ट’का कारण चर्चामा छन् । कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर चर्चामा छाएका उनी चुच्चे नक्सालाई चीनले नचिन्दा आक्रोशित बने । चीनको कदमको विरोधमा उनले चीन भ्रमण नै रद्द गरे । उनको यो कदमलाई धेरैले मन पराए ।
तर शनिबार राति भने बालेनले एकाएक आक्रोशको फायर खोले । बालेनले महानगरको गाडी कहीँकतै रोके सिंहदरबारमा आगो लगाइदिने धम्की दिए, त्यो पनि सामाजिक सञ्जाल फेसबुकबाट । युवा पुस्ताले रुचाएका बालेनलाई फेसबुकमा करिब १७ लाख जनाले फलो गरेका छन् । ‘लक्ष्मीको बहान लाटोकोसेरो’ भनेझैं डोजरको नाम लिनसाथ बालेनलाई सम्झने धेरै छन् । कहीँकतै केही भत्काइहाल्नुपरे बालेनको डोजर सम्झन्छन् धेरै । यही डोजर शैलीमै फायर भएका बालेन शानिबार राति किन आक्रोशित बने धेरैलाई ठम्याउन मुस्किल भयो ।
आइतबार बिहानबाट भने वास्ताविकता बाहिर आउन थाल्यो । बालेन पत्नी सविना काफ्ले सुत्केरी भएको केही दिनमात्र भएको रहेछ । ललितपुरको मेडिसिटी अस्पतालबाट बालकुमारी हुँदै कोटेश्वर आउँदै गर्दा बाटोमा ट्राफिक प्रहरीले उनलाई सोधपुछ गरेको रहेछ । एनआइसियूमा रहेको नवजात शिशुलाई भेटेर फर्कने क्रममा काफ्ले प्रहरीको जाँचमा पर्नु सामान्य विषय हो । बिदाको दिन सरकारी गाडी प्रयोग भएको देखेपछि प्रहरीले सोध्नु झन् सामान्य भयो । मापसे जाँचमा पनि रोकिन्छन् सवारीसाधन । राति पौने ९ बजेतिर भएको सोधपुछ असामान्य केरकार भन्दै बालेनको सचिवालयले समेत विज्ञप्तिमार्फत असन्तुष्टि जनाएको छ ।
देशको राजनीति ठीकसँग नचलेकोले यो व्यवस्थाप्रति युवा आक्रोशित छन् । नियम कानुनअनुसार नचलेकोले देशको अवस्था पिछडिएको ठम्याइ धेरैको हो । उनै बालेनले पनि नीतिनियम मान्ने देखिएन । ‘जुन जोगी आए पनि कानै चिरिएका’ भन्ने उखान फेरि चरितार्थ पारेका छन् उनले । यही भएर अहिले युवाहरु लर्को लाएर विदेशिने क्रम छ । सरकारमा आउने नयाँ पात्रले कुनै योजना र विकास गर्छन् भन्ने ठान्नु गलत सावित पारेका छन् बालेनले किनकि एउटाको विरुद्ध उभिएको अर्को पात्रले एकअर्काको विरोधबाहेक केही गर्दैनन् । यो कुरा बालेनको अराजक स्टाटसले प्रस्ट पारेको छ ।