खेलको स्तर सुधार्न बलिया टिमसँग भेट्नु नै पर्छ । नेपाली क्रिकेट टोलीको उद्देश्य पनि खेल सुधार्नेतिरै थियो । देशमा पूर्वाधारका कमी छ । बजेट उल्लेख्य छैन । मैदान नहुँदा अभ्यास गर्न पाउँदैनन् खेलाडीले । नियमित अभ्यासमात्र हैन बेलाबेला प्रतिस्पर्धा पनि हुनुपर्छ निखार्न । यो अवसरबाट वञ्चित हुँदै आएको हो नेपाल । यस्तो अवस्थामा पनि नेपाली समर्थकको अगाध माया छ क्रिकेट टोलीलाई । यही बलमा नेपाली खेलाडी मैदानमा पछिल्लो समय कस्सेर लागेको छ, बलियो बन्न ।
यही दौरानमा नेपाली टोलीको भेट क्रिकेटमा माहिर कहलिएका विश्वका बलिया टिम नामिबिया, युएईसँग भयो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आयोजना गर्ने विश्व क्रिकेट कपका लागि छनोट खेलबाट पार लाग्न नसके पनि नेपाल एसिया कपमा पुग्न सफल भयो ।
यही कपको खेलमा क्रिकेटका महारथी मानिने एसियाका दुई शक्तिशाली राष्ट्र पाकिस्तान र भारतसँग नेपालको भेट भयो । दुवै देशसँग नेपालले उत्कृष्ट खेल्दै मन जित्यो । बलिया दुई देशको खेलमा नेपाल लामो समय टिक्नु नै जितेसरह भयो । पाकिस्तानसँग खेलमा नेपाल १०४ रनमा समेटियो मात्र २३.४ ओभरमा ।
भारतसँगको खेलमा भने नेपालले सुधारिएको खेल प्रदर्शन ग¥यो । भारतले नेपाललाई कम आँक्दा नेपाली ब्याट्स्म्यानले ४८.२ ओभरसम्म टिकेर २३० रन बनायो । पहिलोपटक भारतसँग खेलेको नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । वर्षाले अवरुद्ध हुँदा खेल २३ ओभर छोटिएपछि भारतले १४५ रनको नयाँ लक्ष्य पायो । यो अवधिमा भारतले २०.१ ओभरमा विनाविकेट खेल आफ्नो पक्षमा पा¥यो ।
हरेक विषय पहिले बाझिनुपर्छ, त्यसपछि माझिनुपर्छ । खेलमा पनि यही नियम लागू हुन्छ । नेपाली खेलाडीलाई देशमै पूर्वाधारको अभावमा खेल्ने वातावरण नहुँदा पनि अहिले क्रिकेटमा विश्वका शक्तिशाली राष्ट्रहरुसँग तिखारिने मौका पाएको छ । तीव्र बलर, विस्फोटक ब्याटिङ नेपाली खेलाडीमा खड्किएको विषय हो । क्रिकेटमा तेज मानिने देशका खेलाडीसँग भिडेसँगै नेपाली खेलाडीले पनि चाल भेउ पाइसकेका छन् ।
यो नेपाली क्रिकेटका लागि सफलता नै हो । अब यस सफलतालाई टेकेर विश्वकपमा भिड्ने लक्ष्य नेपालको हुनुपर्छ । यसका लागि सरकारले पूर्वाधारमा लगानी गर्नतिर ध्यान दिनुपर्छ भने क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले खेलाडीलाई अभ्यास बढाउन मैत्रीपूर्ण खेलहरु आयोजना गर्ने कार्ययोजना बनाउनुपर्छ । अभ्यासले नै पोख्त बनाउँछ भन्ने आहानै छ । त्यसैले यी विषयमा ध्यान दिए पक्कै नेपाली क्रिकेटले अर्को स्तरको छलाङ मार्नेछ ।