बुधबार दिउँसो काठमाडौंको रिपोर्टर्स क्लब छेवैमा कांग्रेस शीर्ष नेतामाथि सांघतिक हमला भयो । प्रत्यक्षदर्शीका अनुसार कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि श्याम सापकोटा नामक व्यक्तिले खुकुरी प्रहार गरेका हुन् ।
समसमायिक विषयमा अन्तरक्रिया सकिएपछि बाहिर निस्कने क्रममा कार्यक्रमकै दर्शक बनेका सापकोटाले यादवमाथि आक्रमण गरेको देखिएको छ । कार्यक्रम रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले सञ्चालन गरेका थिए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर पनि सहभागी थिए ।
कार्यक्रम सकिएर बाहिर निस्कने क्रममा यादवमाथि आक्रमण हुनसाथ प्रहरीले सापकोटालाई नियन्त्रणमा लियो । अहिले यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गर्धनमा धारिलो हतियार लागेकोले गहिरो घाउ भएको अस्पतालले जनाएको छ । सिटी स्क्यान गर्दा आन्तरिक चोट भने नदेखिएको अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. बद्री रिजालले जानकारी दिएका छन् । यादवको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालको भनाइ छ ।
नियन्त्रणमा लिँदै गर्दा आक्रमणकारी सापकोटाले अहिलेको व्यवस्थाप्रति वितृष्णा जगाउने खालको नाराबाजीसमेत गरे । राजा र हिन्दूराष्ट्रको पक्षमा नाराबाजी गरेका सापकोटाले एमसिसीकोसमेत विरोध गरेका थिए । आफूलाई ठीक नलागे विचारमार्फत विरोध गर्ने वाक स्वतन्त्रता लोकतन्त्रले दिएको छ । तर हतियार नै प्रहार गर्नु निन्दनीय कार्य हो ।
हो, नेपाली राजनीतिले अहिले कुशल नेतृत्व दिन सकेको छैन । गठबन्धनका सरकार हुँदा जनताले चाहेजस्तो विकास र समृद्धि हुन सकेको छैन । आर्थिक संकट चुलिँदो छ । यस्तो अवस्थामा जनतामा निराशा छाउनु स्वाभाविक हो । सही नेतृत्व नहुँदा अहिलेसम्म देशले संकटमोचन गर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा आफ्नो आक्रोश सांघातिक रुपमा पोखिनु खेदजनक कार्य हो । यस्तो विषयमा प्रहरी प्रशासनले गम्भीर भएर आक्रमणकारीलाई सजाय दिनैपर्छ ।
नेता होस् या नागरिक जोसुकैलाई यसरी आक्रमण हुनु ठीक होइन । देशको अवस्था जटिलतातर्फ गइरहेको बेला सरकारले पनि बेलैमा सुरक्षा जाँचलाई चुस्त राख्नपर्छ । असन्तुष्ट नागरिकका सवाललाई सम्बोधन गर्ने खालका कार्यक्रम ल्याउनु सरकारको प्रमुख दायित्व पनि हो । यस विषयमा नागरिकले खबरदारी गरिरहनुपर्छ ।
तर यसरी सांघातिक आक्रमणमा उत्रनु आपराधिक कर्म हो । जो कोही यसरी उत्रनु गैरकानुनी त हुँदै हो अमानवीय घटना हो । यसैले यो खेदजनक छ । अपराधमा उत्रेकालाई कडा कारवाही होस् । घाइते यादवको शीघ्र स्वास्थ्य लाभ होस् ।