चितवन- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन ।
माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवम् कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेकोमा जोड दिए ।
‘एक अर्कालाई तानातान गर्ने राजनीतिक संस्कारले विकास हुनसकेन । हाम्रो देशपछि पर्नुको मुख्य कारण पनि यही हो’, मन्त्री श्रेष्ठले भने । राजनीतिक संस्कार परिवर्तन गरेर विकास निर्माणमा सहमतिका साथ अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले भने, ‘यसो गर्न सके मुलुक स्वाधिन, सुन्दर, लोकतन्त्र र सम्बृद्ध बनाउन सकिन्छ ।’ स्थानीय तहदेखि केन्द्रीय तहसम्म विकासका लागि सबै दल एक ठाउँ हुन जरुरी रहेको बताए ।
माडीवासीको समस्याप्रति आफू जानकार रहेको बताउँदै उनले निकुञ्जको बाटो कालोपत्र गर्ने विषयमा प्रधानमन्त्री र आफूले पटक-पटक छलफल गरी पहिलो प्रथामिकतामा राखेको जानकारी दिए ।
सो अवसरमा सुकुम्बासी समस्या समाधानका लागि कानुन संशोधन गरेर भए पनि अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।