काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदार पठाउने सम्बन्धमा नेपाल सरकार र कोरियाली सरकारबीचमा कुनै पनि सम्झौता नभएको प्रस्ट पारेको छ । मन्त्रालयले भदौ २० गते चलानी नम्बर ५०५ लेखी प्रवक्ता÷सहसचिवको हस्ताक्षरसहित मौसमी कामदार सम्बन्धमा जारी भएको नक्कली प्रेस विज्ञप्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अहिलेसम्म दुई देशबीच उक्त सम्झौता नभएको मन्त्रालयले प्रस्ट पारेको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बिहीबार एक विज्ञप्ति जारी गर्दै मौसमी कामदार पठाउनेसम्बन्धी व्यवस्था मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ बमोजिम हुने भन्दै सामाजिक सञ्जालहरूमा प्रसारित नक्कली प्रेस विज्ञप्तिमा विश्वास गरी अनावश्यक रुपमा भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।
विज्ञप्तिमार्फत मन्त्रालयले आधिकारिक निकायको अनुमतिविना सामाजिक सञ्जालमा वैदेशिक रोजगारसम्बन्धी प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्नसमेत सचेत गराएको छ । प्रचलित कानुनविपरीत भएका वा हुने गतिविधिहरुलाई नियन्त्रण गर्न मन्त्रालय सदैव क्रियाशील रहेको प्रस्ट पारेको छ । प्रवक्ताको हस्ताक्षरसहितको लेटरप्याडको दुरुपयोग गरी दुष्प्रचार गरी भ्रम सिर्जना गर्नेलाई अनुसन्धान तथा कारबाही प्रक्रियामा लगिएकोसमेत मन्त्रालयले जनाएको छ ।
त्यसैगरी जर्मनीमा आकर्षक रोजगारी दिने भन्दै समाजिक सञ्जालमा गरिएको प्रचारहरु गलत भएको जनाउँदै वैदेशिक रोजगार विभागले पनि एक विज्ञप्ति जारी गरेको छ । विभागले केही अनधिकृत व्यक्ति तथा संस्थाले नेपाल सरकार र जर्मनी सरकारबीच भएको श्रम सम्झौताको हवाला दिई जर्मनीमा नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वानसम्बन्धी सामाजिक सञ्जालमा प्रसारण गरिएको विज्ञापन÷सूचना भ्रमपूर्ण रहेको उल्लेख गरेको छ ।
विभिन्न सेवा सुविधासहित आकर्षक तलबसम्बन्धी विषयहरु समावेश गरी प्रसारण गरेको भ्रमपूर्ण विज्ञापन/सूचनाप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्ता विज्ञापन तथा सूचनामा विश्वास नगर्न विभागले सबैमा आग्रह गरेको छ । कानुनको बर्खीलाप हुने गरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्नसमेत विभागले चेतावनी दिएको छ ।