काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जर्मनीलगायत युरोपेली मुलुकबाट हुने कामदारको मागपत्र समयमै प्रमाणीकरण नहुँदा सामाजिक सञ्जालमार्फत ठगी कार्य भइरहेको जनाएको छ । युरोपमा केही समयदेखि सम्बन्धित दूतावासबाट मागपत्र प्रमाणीकरण नभएका कारण इजाजतपत्रवाला संस्था (म्यानपावर)ले समयमा कामदार पठाउन नसक्दा गैरकानुनी रुपमा सामाजिक सञ्जालमार्फत त्यसको फाइदा लिने र भ्रम छर्ने कार्य भइरहेको संघले उल्लेख गरेको छ ।
संघले आइतबार एक विज्ञप्ति जारी गर्दै जर्मनीमा सहायक कामदार पठाउनका लागि आवेदन माग गरेको भनी नक्कली र झूठो विज्ञापन बनाई सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसअघि वैदेशिक रोजगार विभागले पनि केही अनधिकृत व्यक्ति तथा संस्थाले नेपाल सरकार र जर्मनी सरकारबीच भएको श्रम सम्झौताको हवाला दिँदै जर्मनीमा नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वानसम्बन्धी सामाजिक सञ्जालमा प्रसारण गरिएको विज्ञापन÷सूचना भ्रमपूर्ण रहेको उल्लेख गर्दै त्यसप्रति विश्वास नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको थियो ।
जर्मनीमा कामदारको माग आएको भनी गैरकानुनीरुपमा विज्ञापन गर्ने, अन्तर्वार्ता लिने, तालिम दिने साथै केही दिनदेखि सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगार विभागको नक्कली सूचना बनाएर ठगी गर्ने उद्देश्यले विज्ञापन गरेर सरकार र समग्र वैदेशिक रोजगार क्षेत्रलाई नै बदनाम गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन पनि संघले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
‘वैदेशिक रोजगारीको नाममा ठगी गर्ने उद्देश्यले गैरकानुनी कार्य गर्न खोज्नेलाई कानुनी कारबाही गर्न गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसमक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले जर्मनीमा कामदार पठाउनेसम्बन्धी सबै कार्य इजाजतपत्र प्राप्त म्यानपावरमार्फत नै भइरहेको भन्दै यसप्रति भ्रममा नपर्न आग्रह गरेका छन् । ‘नेपाल सरकार जर्मनीमा कामदार पठाउने प्रक्रियामा सामेल नै छैन । यो सबै समयमै दूतावासबाट मागपत्र प्रमाणीकरण हुन नसक्दा अनधिकृत व्यक्तिहरुले फैलाएको भ्रमपूर्ण विज्ञापनमात्रै हो, यसप्रति वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरु सजग हुन जरुरी छ,’ उनले भने ।
यसरी सामाजिक सञ्जालमा आएको नक्कली र भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न पनि उनले आग्रह गरे ।