‘छोरी माग्न जाँदा, बिहे गर्छु भन्दा
ससुरा परे दोधारे, तिम्रो छ र के भर
खोजी आउँ पहिले सरकारी जागिर’
डाक्टर पाइलट ब्याण्डको यो गीत करिब पाँच वर्षपहिले क्रान्ति आलेले गाए । छोरी माग्न जाँदा सरकारी जागिर नभई बिहे नै नहुने देखेपछि गीत गाए । ससुरालाई गर्नु गाली गरे । कसरी खानु सरकारी जागिर । भनेजस्तो सजिलो कहाँ छ र ! विचरा सरकारी जागिर नभए बिहे नै नहुने भो । गीत गाउने कि सरकारी जागिरे खाने ? ससुरा हैन गीतकार नै दोधारमा परे । पहिलेजस्तो कहाँ छ र अहिले सरकारी जागिर खान !
ऊ बेला पो । ठूला पदमा बस्नेका घराँ गयो पाथीपाथी घिउ चढाएपछि जागिर मिलिहाल्थ्यो । अहिले ३०–४० को दशकतिर सरकारी जागिर खाऽखाऽ भन्दा पनि खाँदैनथे रे ! किनकि त्यसबेला जागिरलाई ‘निकृष्ट’ का रूपमा हेरिन्थ्यो । त्यसैले त होला बाउ बाजेले ‘उत्तम खेती, मध्यम व्यापार, निकृष्ट नोकरी’ त्यसै कहाँ भनेका हुन् र !
नेपालीहरुको पेसा कृषि थियो, शानका साथ म किसान भन्थे । खेती गर्थे अनि आफ्नो उब्जनी बिक्री गरेर नगद प्राप्त गर्थे । जब मुलुकमा परऽ जाऽतन्त्र आयो । त्यसपछि यो उखान ठ्याक्कै उल्टो पो भो बा । व्यापार माध्यमको माध्यम नै रह्यो । उत्तम खेतीको ठाउँमा सरकारी जागिर भो । निकृष्ट नोकरीको ठाउँमा कृषिले कब्जा लियो । साठीको दशकसम्म आइपुग्दा पनि विदेश जानेहरुको कृषि ओरालो लाग्न थाल्यो । राजनीतिले खेतीलाई सिध्यायो जागिरेलाई बढायो । त्यसैले अहिले सरकारी जागिर नभई बिहे नै नहुनेजस्तो पो देखियो । कारण त जागिर नै पो उत्तम देखियो ।
सरकारी जागिर अर्थात् निजामती सेवा । निजामती सेवा भनेको क्या हो फेरि यो । सरकारी जागिरमात्र भने त भइहाल्थ्यो । तर भएन । विशिष्ट सीप, ज्ञान र क्षमता भएका राज्यकोषबाट जीवनभर तलब, भत्ता पेन्सन खान पाइरहने व्यक्ति पो हो त ।
एकपटक लोसे निकाल्यो अनि ५८ वर्षसम्म राज्यकोषलाई धकेल्यो । अहिले त त्यो पनि परिवर्तन भइसक्यो । समायोजन गरेर तीन तहको सरकारमध्ये ठ्याक्कै जनताको सेवा गर्ने स्थानीय तहको कर्मचारी चाहि त्यो भित्र पदैनन् अरे । क्या गज्जब भाको छ । सिंहदरबारभित्र बस्नेको हालिमुहालीभन्दा पनि फरक पर्दैन ।
निजामती सेवा अर्थात् सरकारी जागिर अहिले त गज्जबकै छ नि ! सरकारले तलब दिन्छ, भत्ता दिन्छ, लुगा किन्न पैसा दिन्छ । गुड्नलाई गाडी घोडा दिन्छ । चाहेजति तेल दिन्छ । बूढीलाई ब्युटी पार्लर जान सरकारी गाडी, छोराछोरीलाई स्कुल पु¥याउन सरकारी गाडी । शुक्रबार भयो किन ‘रिफ्रेसमेण्ट’का लागि भन्याजस्तो रिसोर्टमा गोष्ठी । बाऽ बाऽ के–के हो के–के । अनि आफूलाई चाहेको जे–जे हो त्यही त्यही माग फाराम परेर पाउँछ ।
त्यत्तिमात्र कहाँ हो र, जनताको काम गरेर मिलाएर घूस पनि खान पाइन्छ । हुने कामलाई झुलाउन पाइन्छ । अनि झुलाएर भुलाएर फाइल लुकाएर कमिसन पनि पाइन्छ । हो, त्यही भए छोरी माग्न जाँदा सरकारी जागिर खा । अनि आ भनेको क्या ! कुरो बुझ्नुपरो नि ।उता भन्साराँ सुन घुसाउनेलाई भ्रष्टाचार गरेकोमा कारबाही गर्दा भन्सारका कर्मचारीहरुले काम नै नगर्ने धक्की अरु भए दिन पाउँथे । निजामती भएर पो पाको त ?
नपत्याए, केशव स्थापितले साटेको टंगालको रातो घरले च्याप्प–च्याप्प फाइल समातेर भ्रष्टाचारी आरोप कसलाई लगायो ? त्यही मति बिग्रेको निजामतीलाई होइन ? विचरा निजामती सेवा दिवस । ६८ हजार कर्मचारीमा एक जना पनि सर्वोत्कृष्ट कर्मचारी पाउन सकेन । कठैबरा, देशको नीति नियम बनाउने सिंहदरबार हरेक दिन भ्रष्टाचारी पाउँछ तर सर्वोत्कृष्ट कर्मचारी पाउँदैन ।
ससुरा बाले त्यसै सरकारी जागिर खोजेका हुन् र ? विनालगानी फाइदै फाइदा । तीस वर्षअघि भए त ससुरा बाले पनि सरकारी जागिर खाको भन्ने थाहा पाए त ढाँडै भाँचिदिन्थे । बरु गाई पाल्ने, खेती गर्नेलाई छोरी दिन्छु । यो जाबो सरकारी जागिर खानेलाई ज्यान जाला छोरी दिन्न अरे । नपत्याए तपाईंको घरका बालाई सोध्नुस् त !
अहिले त ओहोऽ ओहोऽ कुरै नगरौं । रवाफ नै छुट्टै नि सेतो सर्ट र निलो पाइन्टको । त्यसमाथि पनि केन्द्रा बस्ने निजामती । त्यसै खोला किनाराँ होटल फस्टाको छ ? नपत्याए उता मोरङ र इलामकै काण्ड हेर्नुस् । चिची पनि पापा पनि । यो हो नि काइदा, निजामतीको फाइदा ।
देश कंगाल बन्दै गइरहेको छ । निजामती कर्मचारी मालामाल । सर्वोत्कृष्ट पो पाउन मुस्किल त । भ्रष्ट त पाइलैपिच्छे पाइहालिन्छ नि । यता हेरे नि भ्रष्ट, उता हेर पनि भ्रष्ट । चुडामणि शर्माले लोसे तयारी पढाउने मुख्य प्रशिक्षक भाको देशमा कस्ता कर्मचारी निस्केलान् ? ‘जस्तो गुरु उस्तै चेला’ निजामतीमा भ्रष्ट हुँदा जेल गए जाला । आफ्नै साथी भई छन् मौका मिल्नासाथ छुटाइजाला । प्रेम सञ्जेलजस्ता पनि छन् भन्ने कसले बुझ्ने ?
निजामतीले त्यसै सर्वोत्कृष्ट नपाको हो र ? काँठ मेयरले भन्याजस्तै हो– सबै चोरै चोर । आठ–दश प्रतिशतको कसले गर्ने खोज । भ्रष्ट नै भ्रष्ट निजामतीमा छन् है भन्ने जाहेर भइसक्यो । जय निजामती, जय भ्रष्टाचार !