पुष्पकमल दाहाल पुस ११ गते प्रधानमन्त्री भएको ८ महिना पुगिसकेको छ । प्रधानमन्त्री हुनासाथ चितवन पुगेर दाहालले भनेका थिए– लामा र पट्यारलाग्दा भाषणभन्दा काम नै गरेर देखाउनेछु । पुस १६ गते चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हीरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले भनेका थिए, ‘यो कार्यकालमा भाषण गर्नेभन्दा जनताको काम गरेर देखाउनेतिर नै बढी जोड हुनेछ । तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालको यो भनाइ र गराइ हेर्ने हो भने अहिले आकाशपातल फरक देखिन्छ ।प्रधानमन्त्री दाहालले सत्ता सम्हालेयता कुनै ठोस कार्यक्रम गरेको
भए त्यो हो ११ पटक मन्त्रिपरिषद्को हेरफेर र मन्त्रीको थान बढाउनु । त्यसबाहेक उनको कार्यकालमा खासै उपलब्धि हुन सकेको छैन । बरु विदेश भ्रमणमा पनि छोटै कार्यकालमा रेकर्ड राख्न लागेका छन् । प्रधानमन्त्री भारतपछि इटली भ्रमणमा पुगे । अबको तीन दिनपछि २९ गते अमेरिका जाँदै छन् । त्यहाँबाट सोझै चीन पुगेर नेपाल फर्कनेछन् । प्रधानमन्त्रीको भ्रमणमा अर्को रेकर्ड भनेको सीमा विवाद हो । संयोग मान्नुपर्छ यसपटक दुवै छिमेकको भ्रमणमा नक्साले प्रवेश पाएको छ । भारत जाँदा अखण्ड भारतका कारण प्रधानमन्त्रीलाई अप्ठेरो बनायो । यसपटक चीन जाँदै गर्दा चुच्चे नक्साबारे विवाद ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लिपुलेक, लिम्पियाधुरासहित समेटेर जारी गरेको चुच्चे नक्सालाई भारतले त मानेन मानेन, चीनलेसमेत अस्वीकार गरिदियो । चीनले हालै जारी गरेको नक्सामा कतिपय भारतीय भूभागसमेत आफ्नो भूक्षेत्रमा समेटेको थियो । चुच्चे नक्सा नचिनेकोमा चीनको विरोध भएको छ भने दाहाललाई यसबारे प्रश्न सोधिने भएको छ । यी भए छिमेकी देशले हेपेको विषय । यसरी केही पनि काम नगरेको रेकर्ड राखे पनि विभिन्न विषयमा आरोप खेपेका प्रधानमन्त्री दाहाल अचेल समाजवादी मोर्चा नामक डफ्फा लिएर देश दौडाहामा लागेका छन् ।
कहिले हेटौंडा, कहिले विराटनगर पुगेर दाहालले धाक लगाउने कामबाहेक केही गर्न सकेका छैनन् । सोमबार त उनकै मोर्चाको आयोजनामा भएको कार्यक्रममा ब्यानरमा प्रदेशका नाम लेख्नसमेत डराए । कोशी नाममा पहिचान पक्षधरले विरोध जारी राखेको छ । विश्व आदिवासी दिवसमा आफैंले पहिचान पक्षधरको पक्षमा भाषण दिएका दाहाल त्यता पुग्दा डराउने नै भए । त्यहाँ पनि दाहालले गफ दिन भ्याए, मोर्चाको पक्षमा । ब्यानरमा प्रदेशको नामै नराखी कार्यक्रम फत्ते गरेर फर्किएका दाहालको दायित्व विकासका काम र नीति नियम बनाउने हो । गफ बन्द गरेर यी काममा लागौं ।