काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा एक खर्ब १६ अर्ब दुई करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बंैकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार रेमिट्यान्सबापत ठूलो रकम भित्रिएको पाइएको हो ।
साउनमा रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २०.३ प्रतिशतले बढेको थियो । चालु आवमा अमेरिकी डलरमा रेमिट्यान्स २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९ हजार १५२ कायम भएको जनाइएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको पनि उल्लेख गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले वृद्धि भई एक खर्ब २८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको उल्लेख छ । यसरी राष्ट्र बैंकको प्रतिवेदन अनुसार साउन महिनामा गत आर्थिक वर्ष २०७९÷८० को तुलनामा मुलुकमा भित्रिने रेमिट्यान्स बढे पनि रोजगारीका लागि विदेशिने नेपाली संख्यामा कमी आएको देखिएको छ । यद्यपि, रेमिट्यान्स बढ्नुमा गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको योगदान रहेको सरोकारवालाहरुको भनाइ छ । गत आवमा पौने आठ लाखको हाराहारीमा नेपाली श्रमिक श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेसिएका थिए ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पठाउने रेमिट्यान्सको रकमबाट मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु¥याइरहेको छ । लक्ष्यअनुसार राजस्व उठाउन नसकेको तथा अन्य स्रोतहरु पनि नजुटेको अवस्थामा रेमिट्यान्स बढ्दा सरकारलाई ठूलो राहत भएको छ ।
यद्यपि, राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त तथ्यांक वैधानिक च्यानलबाट आएको रकम मात्र हो । यसबाहेक हुण्डीलगायत अवैधानिक च्यानलबाटसमेत विदेशबाट रकम भित्रिने गरेको छ । सरकारले वैधानिक च्यानलबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । पहिलो महिनामै सवा खर्बभन्दा बढी रकम भित्रिनु सकारात्मक भएको राष्ट्र बैंकका एक अधिकारीले बताए । यही क्रमले निरन्तरता पाए मुलुकको अर्थतन्त्र उकास्न ठूलो सहयोग पुग्ने ती अधिकारीको भनाइ छ ।