देशभरका चिकित्सक आइतबार सेवाक्षेत्रमा आफ्नो सुरक्षा माग गर्दै आन्दोलनमा उत्रे । आचारसंहिता मान्ने हो भने सेवा ठप्प पारेर आन्दोलन गर्ने छुट चिकित्सकलाई छैन । तर नेपाल न हो, यहाँ जो पनि आन्दोलनमा उत्रिन्छन् । अझ विभिन्न संघसंगठनको नाम उपचार नै ठप्प पार्नमा हामी उस्ताद नै हौ ।
हेटौंडाको सञ्चो अस्पतालमा सञ्चो पार्न ल्याएका आफ्ना आफन्त राजेश प्रधान सञ्चो नभई संसारबाट बिदा भए । यही घटनामा उनका आफन्त अस्पतालभित्र पसेरै चिकित्सक डा. विकास थापा र डा. प्रशान्तमाथि हातपात गरे । साउन २५ गते डेंगी संक्रमित ४१ वर्षीय प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा मृत्यु भएको थियो । सञ्चो अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर पु¥याइएको भोलिपल्ट प्रधानको मृत्यु भएको हो । त्यसको झण्डै एक महिनापछि भदौ २७ गते आफन्त अस्पताल पसेर कुटपिटमा उत्रेका हुन् ।
आफन्तका अनुसार साउन २२ गते प्रधान सञ्चो भर्ना भएका थिए । डेंगीको शंकामा उनलाई सञ्चो लगिएको थियो । परीक्षणमा उनलाई डेंगी ‘नेगेटिभ’ देखियो । दुई दिनमै उनलाई अस्पतालले डिस्चार्ज गरिदियो । स्वास्थ्यमा फेरि समस्या देखिएपछि २४ गते सञ्चो भर्ना भए । सञ्चोले भरतपुर रेफर ग¥यो । भरतपुरमा उपचारको क्रममा उनको मृत्यु भयो ।
मृत्युको एक महिनापछि आफन्त आक्रोशित बन्दै अस्पतालमा पसेका थिए । सोही साँझ चिकित्सक र आफन्तबीच मिलापत्रसमेत भएको थियो । यही विषयलाई लिएर देशभरका चिकित्सक आन्दोलनमा उत्रेका हुन् । उनीहरुले आफ्नो पेसाको सुरक्षाको माग गर्दै हड्ताल गरेका हुन् । कुटपिटमा उत्रेकालाई प्रशासनले कारबाही नगरेपछि चिकित्सक सडकमा उत्रनु ठीकै होला तर मृत्युको एक महिनापछि आफन्त किन आक्रोशित बने ? पक्कै अस्पतालका चिकित्सकका कमजोरी बाहिर चुहिएर हो कि ? यसबारे सरकारले छानबिन गर्नैपर्छ ।
पछिल्ला दिनहरुमा उपचारका क्रममा चिकित्सकको लापरबाही बढ्दो छ । उपचारको बाहनामा ठगीमात्र हैन स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिँदै आएको छ । बिरामीको उपचारमा हेलचेक्र्याइँ, समयमा जाँच नगर्ने, भरपर्दो उपकरण नराख्नेजस्ता लापरबाही गरिएका अस्पतालका घटना सतहमै छन् । बिरामीमाथि भएका अन्याय बाहिर ल्याउने भएपछि लाखौं दिएर सामसुम पार्ने अस्पताल प्रशासनको पुरानै प्रवृत्ति हो ।
नेपाली चिकित्सकप्रति गरिब नेपालीहरु बाध्यताले उपचार गर्न विवश छन् । नभए नेपाली चिकित्सकहरुमाथि विश्वास नभएकै कारण मध्यमवर्गीय परिवारदेखि उच्च वर्गका मानिस भारत, चीन, थाइल्यान्ड पुग्छन् उपचार गर्न । अकुत पैसा कमाउने लोभमा औषधीको थुप्रो किन्न लगाउने, सामान्य रोगमा पनि बिरामी तर्सिने गरी गम्भीर प्रकृतिको रोग लागेको भन्दै ब्ल्याकमेल गर्ने चिकित्सकहरु पनि देखिन्छन् । कान्ति बाल अस्पतालमा उपचार नपाएर पाँच वर्षीया रेजिशा गोपालीको ज्यान गएको घटना सेलाएको छैन । यस्तो अवस्थामा चिकित्सकले विश्वास जित्न भरपर्दो काम गर्नुपर्छ । त्यसैले आन्दोलन हैन बिरामीको सेवा सुधार अस्पताल ।