काठमाडौं– वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकहरु सामाजिक सुरक्षा योजनामा आबद्ध हुने क्रम बढेको छ । सरकारले यो योजना सञ्चालनमा ल्याएयता हालसम्म तीन लाख २० हजारभन्दा बढी श्रमिक आबद्ध भएको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ ।
सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिनुअगावै कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था छ । सुरक्षा योजनामा आबद्ध भएका श्रमिकमार्फत हालसम्म ५९ करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको कोषले जनाएको छ ।
सरकारले सुरक्षा योजनामा सहभागिता बढाउन वैैदेशिक रोजगारी तथा स्वरोजगारीमा रहेका नेपालीलाई प्रमुख श्रम गन्तव्यका नियोगलाई समेत अनुरोध गरेका कारण योगदानकर्ता बढ्न थालेको बताइएको छ । विदेशमा रहेका श्रमिकहरुलाई समेत यस योजनामा आबद्ध गराउन जनचेतनाको काम भइरहेको कोषले उल्लेख गरेको छ ।
विदेशमा रहेका र नयाँ श्रम स्वीकृति लिएर जाने श्रमिकहरुको सुरक्षा योजनामा आबद्धता बढेसँगै योगदान रकम पनि वृद्धि हुँदै गएको कोषका प्रवक्ता विवेक पन्थीले बताए । ‘अहिलेसम्म सुरक्षा योजनामा सहभागी भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आवेदन दिएका श्रमिक रहेका छन्,’ उनले भने, ‘विदेशमा रहेका थप श्रमिकलाई योजनामा आबद्ध गराउन जनचेतनाको काम पनि सँगसँगै गरिरहेका छौं ।’ कोषमा मासिकरुपमा झण्डै १० करोड रुपैयाँको दरले योगदान भइरहेको पन्थीले बताए ।
योगदान रकममध्ये वृद्धावस्था सुरक्षा योजनामा ३८ करोड ५९ लाख र दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामारु २० करोड ७५ लाख पैयाँ संकलन भएको कोषले जनाएको छ । सरकारले औपचारिक क्षेत्रका श्रमिकमात्रै योजनामा समावेश गर्दै आएकोमा चैत पहिलो साताबाट वैदेशिक रोजगारीमा रहेका सबै श्रमिकलाई योजनामा सामेल गराउन सुरु गरेको थियो । सरकारले वैदेशिक रोजगारीमा रहेका र जाने तयारी गरेका श्रमिकको सुरक्षाका लागि योजनालाई अनिवार्य गरेको हो । यद्यपि, कोषमा जम्मा हुने रकमको सुरक्षाका सम्बन्धमा धेरै श्रमिक अन्योलमा रहेको कोषले जनाएको छ ।
‘योगदानकर्ताले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने बेला र श्रम स्वीकृति नवीकरण गर्ने समयमा यस योजनामा सहभागी हुन सक्नेछन्,’ प्रवक्ता पन्थीले भने, ‘नवीकरण गर्ने बेला नभएकाहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको सहकार्यमा तयार गरिएको अनलाइन प्रणालीमार्फत सूचीकृत हुनसक्ने व्यवस्था मिलाइएको छ ।’
वैदेशिक रोजगारीमा ४० लाख नेपाली श्रमिक रहेको अनुमान गरिए पनि २२ लाखलाई समेट्ने तयारीका साथ सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याइएको कोषले जनाएको छ । योजनामा आबद्ध हुन चाहने श्रमिकले मासिक न्यूनतम दुई हजार दुई रुपैयाँ योगदान गर्नुपर्नेछ भने अधिकतम २८ हजार १५५ रुपैयाँसम्म योगदान गर्न सक्नेछन् । सरकारले कोषमा छ महिनासम्मको एकमुष्ट रकम जम्मा गरे १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । श्रमिकले न्यूनतम पारिश्रमिकको २१.३३ प्रतिशत कोषमा योगदान गर्नुपर्नेछ । सरकारले नौ हजार ३८५ रुपैयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ ।
सामाजिक सुरक्षा योजनामा आबद्ध भएपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा सुविधा पाउनेछन् । योगदानकर्ताले आफूले जम्मा गरेको रकम र कोषले लगानी गर्ने उक्त रकमबाट प्राप्त हुने प्रतिफललाई जोडेर हुन आउने कूल योगदान रकम एकमुष्ठ लिने वा सो रकमलाई १६० ले भाग गर्दा हुन आउने रकमलाई वृद्धावस्थामा निवृत्तिभरणबापत मासिकरुपमा लिन सकिने व्यवस्था कोषले गरेको छ । यतिमात्र नभई कुनै कारण योगदानकर्ता दुर्घटनामा परे एक लाख रुपैयाँसम्म उपचार खर्च पाउनेछन् ।
त्यस्तै विदेशमा रहेका योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च उपलब्ध गराउने कोषले जनाएको छ । त्यसैगरी जुनसुकै कारणबाट मृत्यु भए पनि न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर निवृत्तिभरण पाउने जनाइएको छ ।