‘बा म त कुनै हालतमा बस्दै बस्दिनँ यो देशमा’ स्नातक सिध्याएर प्रमाणपत्र प्राप्त गर्न निकै कष्ट गरेको छोरोले भन्यो । छोरोको अनुहार मलिन थियो । स्नातक तह प्रथम श्रेणीमा उत्तीर्ण भएको दिन संसार जितेको जस्तो मुहारमा देखिएको मान्छे । प्रमाणपत्र हातमा पर्दा युद्धबाट हारेको सिपाहीजस्तो बनेर देश छाड्ने कुरा गर्दा मट्याङ्ग्राको दिमाग आधा गाग्रीको पानी छछल्किएको जस्तै भयो ।
विचरा ऋण धन गरेर, एक छाक भोकै बसेर छोरालाई पढाउँदा निकै खुसी भएको मट्याङ्ग्रा छोराले देश छाड्ने कुरा गर्दा मुटु भक्कानिन्छ । उसले छोरालाई किन ? भन्ने प्रश्नसमेत गर्न सक्दैन ।
केही दिनअघि मात्र छिमेकीले १२ कक्षा सकिन नपाउँदै छोरीलाई लाखौं खर्चेर, डोलको खेतसँगै विदेश उडाएको थियो । पुर्खाले आर्जेको डोलखेत बेचेसँगै छोरीको सपनाका लागि पनि उडिरहेको थियो । र, मट्याङ्ग्राले सुझाव दिँदै थियो । भर्खर १२ कक्षा पास गरेकी छोरीलाई किन विदेश उडाउने ? आखिर यही देश नै स्वर्ग छ नि होइन र माइला दाइ ? मट्याङ्ग्राको कुरा सही भए पनि माहिला दाइले उसको उत्तर फर्काउन सकेको थिएन । तर, आज मट्याङ्ग्रा आफैं छोरालाई प्रश्न गर्न सकिरहेको छैन ।
मट्याङ्ग्रो एकोहोरो भएको देखेर छोरो भन्छ । ‘बा तपाईं किन बोल्नुहुन्न ? किन टोलाउनुभएको ?’
विचरा जवाफ छैन । तर पनि विदेशको मोह छाडोस् भनेर मट्याङ्ग्रा भन्छ, ‘के भो बाबु अस्तिसम्म यही देशमा जागिर खान्छु, यही बस्छु विदेश जान्न भन्ने मान्छे । किन विदेशको कुरा गर्दै छस् ?’
बाउको प्रश्नले छोरालाई कता–कता पिरोल्छ । ‘बा तपाईंको कुरा त ठिकै हो । तपाईंले नै सिकाउनुभएको थियो । आफ्नो जन्मभूमि छाडेर जानु हुँदैन ।’
अनि किन त ? बाबुले सोध्छन् ।
छोराको जवाफ, ‘यति दुःख गरेर पढियो । न त रोजगारीको ग्यारेण्टी छ । न त केही गरौं भन्दा गर्न नै सकिन्छ । पढेको प्रमाणपत्र लिन त हप्तौं धाउँदा पाइँदैन भने अरु के आशा गर्ने र बा ?’
छोराको कुरा सुनेर अवाक्क हुन्छ मट्याङ्ग्रा ! बोलुँ कि नबोलुँजस्तै भएको छ, उसलाई । हुन पनि हरेक दिन दशौं हजार छोराछोरी पढ्ने निहुँले बेग्लै सपना बनाएर विदेश उडिरहेका छन् । बा आमा एक्लो छाडेर हिँडेका छन् । पुर्खाले जोेडेका गाउँका घरहरु रित्तो भइसकेका छन् । खेतबारी बाँझो छ । सदरमुकाममा पनि बिस्तारै पातलो हुँदै छ रे ?
मट्याङ्ग्रालाई छोरालाई विदेश पठाउन रत्तिभर इच्छा छैन । यही बसेर पढोस् र यही आफ्नो जीवन बिताओस् बूढेसकालमा सँगै होस् भन्ने आशा छ । तर छोरोको मन भड्किएको छ ।
शैक्षिक प्रमाणपत्र लिन जाँदा पाएको दुख होस् कि नागरिकता बनाउन जाँदा पाएको ‘किचकिच’ उसले सहनै सकेको छैन । मट्याङ्ग्रालाई छोरो भन्छ, ‘बा यहाँ त गलत सोच बोकेर देश रित्याउनेहरुका लागि मात्र उपयुक्त भएको छ । भ्रष्ट, दलालहरुको बोलवाला छ । सत्य बोल्नेहरुले निकै कष्ट बेहोर्नुपरेको छ । यहाँ अब सुख पाइँदैन बा’ ।
छोराको कुरा सुनेर पल्ला घरे साहिँली भाउजुलाई सम्झन्छ मट्याङ्ग्रो । लामो समयदेखि बिरामीले थला परेकी थिइन् । दाजुको केही भर नै नहुने । बिग्रिएका पनि हैनन । तर, निकै सोझा । दुई सन्तानलाई ज्यामिरेको पाखो बेचेर विदेश पठाएका थिए । घरजम उतै गरे । गएदेखि उही मोबाइलमा कुरा गर्नेबाहेक फर्केर नै आएनन् । नाती नातिना कस्ता छन् भन्ने पनि थाहा छैन । छिमेकीले भने छोराछोरी अस्ट्रेलिया– अमेरिका छँदै छन् के भो र बस्यो खायो भन्थे ।
तर बिरामी पर्दा तातो पनि तताएर खान दिने मान्छे पनि भएनन् । ‘बाह्र छोरा तेह्र नाती बूढाको धोक्रो काँधै माथि’ भन्थे त्यस्तै भएको थियो । लामो समयदेखि साहिँली भाउजु थला परे पनि सहयोग गर्ने कोही नभएकाले मट्याङ्ग्रा बेला बेला जान्थे । तर अब कहिल्यै भेट्न जान नपर्नेगरी साहिली भाउजु सदाका लागि बिदा भएकी छन् । भाउजुको सास उडेको शरीर घरभित्रै राखेर मट्याङ्ग्रो घर फर्केको थियो । तर छोरो विदेश जाने कुरा गर्दछ । उनी झन् भावविह्वल भएका छन् । बोल्नै आँट नै छैन । साहिली भाउजुको मृत शरीर उठाउन मान्छे भएन । बिरामी हुँदा कुर्ने मान्छे थिएन । अहिले मरेपछि पनि लास जलाउन सकस भइरहेको छ । थाहा छैन कहिले विदेशबाट छोराहरु आउलान् । लासले सुख पाउला !
पहिले–पहिले बिरामी हुँदा कुर्ने मान्छे हुन्थे । तर अहिले मरेपछि जलाउन कहिले छोरा विदेशबाट फर्केला भनेर लासले कुर्नुपर्ने दिन आएको छ । मट्याङ्ग्राले छोरालाई न त विदेश जानसक्ने संकेत गरेका छन् । न त यही बस यही सुन फलाउन सकिन्छ भन्न सकेका छन् । स्वर्गजस्तो देशलाई नर्क बनाईरहेका नेताहरुलाई धिक्कार्दै छन्, मनमनै ।
अनायासै मट्याङ्ग्रा आँखाबाट आँशु झर्छ । उसले छोरालाई भन्छ, ‘जा बाबु जा, तँलाई विदेशले बोलाइरहेको छ, उतै जा । यो देश चलाउने ठेक्का लिएकाहरुले तँ जस्ता लाखौंलाई घोक्र्याइसकेको छ । तै पनि जा । अबको १० वर्षपछि त हामीजस्तै बूढाबूढीमात्र बस्ने देश त हो यो ! के भो र जा’ तर एउटा कुरा ?
मट्याङ्ग्रा छोरा ट्वाँ पर्दछ र बाबुलाई सोध्छ, तर के एउटा कुरा बा ? युवा पुस्ता हराउँदै गरेको देश हो यो । तँ जस्ता अलि अलि बचेखुँचेकालाई पनि लखेट्दै छन् । तर तँ जाँदा तेरो हजुरबाउले छाडेर गएको सवै घरजग्गा बेचेर जा । यो देश चलाउने ठेकेदारहरुलाई कोही चाहिँदैन । द्रव्य पिचास भएर बसेका छन् । हामी जसो तसो बाँचौला । गाउँ छाडियो, सदरमुकाम छाडियो, मर्ने बेलाका हामीले देश त के छाडौं ? तँ यो देशै छाडेर जान्छ भने जा । तर बा आमा मरेरे भनेर जलाउन कहिल्यै पनि नआ ! बिरामी हुँदा हामीलाई कुर्ने मान्छे हुँदैन । त्यसैले हामी मर्दा पनि लास जलाउनकै लागि तिमीहरुलाई कुर्दैनांै । जा छोरा जा ! कहिल्यै यो देशमा नफर्कनेगरी विदेश जा !!