नेपालको पठन संस्कार दिनानुदिन बिग्रँदो छ । शिक्षा क्षेत्रमा व्याप्त राजनीति मुख्य कारण हो । जसकारण विद्यालयमा विद्यार्थी टिक्न सकेको छैन । जति राम्रो बनाउन खोजिए पनि सामुदायिक विद्यालयको रिजल्ट सुध्रन सकेको छैन । रिजल्ट नसुध्रेपछि लाज ढाकछोप गर्न एसइईमा फेल नै नहुने प्रणाली ल्यायो सरकारले ।
विद्यालयमा शिक्षकलाई राजनीति गर्ने अधिकार छैन । तर उनै शिक्षक राजनीति गर्न पाउनुपर्ने मागसहित काठमाडौं ओइरिएका छन् । ७० लाख विद्यार्थी अहिले शिक्षक आन्दोलनका कारण घरमै बस्न बाध्य भएका छन् । सरकारले हालै शिक्षा विधेयक सदनमा दर्ता गरेको छ ।
उक्त शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय ब्युँताउने विषय सुरुमा विवादमा आयो । उक्त विषय संघीयताविरोधी व्यवस्था भएको स्वतः विरोध हुने नै भयो । चौतर्फी विरोध भएको यस विषयमा सरकार सचेत बनिसकेको थियो । यो संशोधनको चरणमा प्रवेश गरिसकेको थियो ।
झट्ट हेर्दा यही विधेयकको विरोधमा शिक्षकहरु उत्रिएकोझैं देखिन्छ । तर नेपाल शिक्षक महासंघले राखेको १८ बुँदे मागमा यी विषयहरु समेटिएका छैनन् । कतिपय त एकाएक शिक्षकहरु किन आन्दोलनमा उत्रिए भन्ने विषयमै अन्योलमा छन् । यस्तो अवस्थामा काठमाडौंमा उत्रेका शिक्षकहरु लामो समयदेखि राहत, साविक उमावि, अस्थायी/करार, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धारलगायतका शिक्षकहरू अस्थायीरूपमा कार्यरत रहेकाहरु भएको बताइन्छ ।
शिक्षा विधेयकमा शिक्षकलाई विद्यालयमा राजनीति गर्न दिन नहुने विषय उल्लेख छ । शिक्षक महासंघको आपत्ति यसै विषयमा रहे पनि खुलाएर वा पोस्टर ब्यानरमा केही लेखेका छैनन् । संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउन खोजेको उनीहरुको आरोप छ ।
अझ रमाइलो कुरा त के छ भने आन्दोलनकारी शिक्षकहरु शिक्षामन्त्रीसँग वार्ता गर्न तयार छैनन् । शिक्षाको विषय शिक्षामन्त्रीकै माताहतमा पर्छ । आन्दोलनकारी कार्यवाहक प्रधानमन्त्रीसँग सीधै वार्ता बस्न चाहन्छन् । शिक्षकको यस्तो उद्दण्ड आन्दोलनमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मादेखि माओवादीका उपमहासचिव वर्षमान पुनसम्मले ऐक्यबद्धता जनाउनु लाजमर्दो विषय हुनुपर्ने हो ।
आफैं सत्तारुढ दलको नेता भएर शिक्षकको समस्या समाधान गर्नतिर ध्यान नदिने तर विद्यालय ठप्प पारेर आन्दोलनमा उत्रिएका शिक्षकलाई समर्थन गर्न जानु ठीक हो त ? नेता बनेर लोकरिझ्याइँ र आफ्नो भोट जोगाउन लागेका हुन सक्ला तर जनताले पक्कै भोलिका दिनमा ‘डबल स्ट्याण्डर’ यस्ता नेताहरुलाई धुलो चटाउनैपर्छ ।