नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भए डा शशांक कोइराला । त्यतिबेला विधानतः एक जनामात्र महामन्त्री हुने व्यवस्था थियो । रामचन्द्र पौडेल समूहबाट निर्वाचित कोइराला कार्यकालभर देउवासामू निरिह रहे । देउवाको कदममा साथ दिनुबाहेक प्रश्न उठाउन हैसियत बनाएनन् उनले । त्यसपछि उनीमाथि अनेकन प्रश्न उठे । महामन्त्री भनेको कार्यसम्पादनको महत्वपूर्ण जिम्मेवारी भएको पद हो भन्दै युवा नेताहरुले प्रश्न उठाए । प्रश्न उठाउँदैउठाउँदै चर्चामा आएको दुई जोधाहा युवा गगन थापा र विश्वप्रकाश शर्मालाई १४ औं महाधिवेशनले महामन्त्रीमा अनुमोदन ग¥यो ।
तर दुई महामन्त्री पनि अहिले शशांककै हैसियतमा पुगेका छन् । देउवा पार्टीमा पुरानै कार्यशैलीमा प्रस्तुत हुन थालेका छन् । संसदकै ठुलो दल भए पनि सरकारको नेतृत्व पाएको छैन । सरकारमा तेस्रो दल माओवादी केन्द्रको हालीमुहाली छ । देउवा मौन छन् । यही प्रश्न बुधबार पूर्वसभामुखसमेत रहेको नेता दमननाथ ढुंगानाले कांग्रेस केन्द्रीय कार्यालयको कार्यक्रममा सोधे । प्रश्नको काउन्टरमा महामन्त्री गगन आफैले दमननाथलाई अर्को प्रश्न सोधे – तपाईंहरुको पालामा २०५४ सालमा सूर्यबहादुर थापा कसरी प्रधानमन्त्री बने त ? त्यतिबेला काग्रेस पहिलो दल थिएन । एमाले पहिलो दल बनेको थियो । तर अहिलेको अवस्था फरक छ । कांग्रेस पहिलो दल छ । एमाले दोस्रो । पार्टीको नेतृत्वमाथि प्रश्न उठाएर महामन्त्री बनेका गगन नै देउवाको प्रतिरक्षामा उभिनु अचम्मलाग्दो विषय बन्यो ।
अझ कार्यसम्पादनका विषयमा दुई महामन्त्रीले पार्टीमा खासै उपस्थिति जनाउन सकेका छैनन् । साउन ३ बाट सात दिन चलेको केन्द्रीय समिति बैठकले यो छर्लाङ्गै पारिसकेका छ । बरु यस्तो अवस्थामा पार्टीमा विवादित विभागहरु थप्नतिर महामन्त्रीहरु लागेका छन् । सरकारमा पार्टी संविधानअनुसार चल्न सकेन, पार्टीमा विधानअनुसार । कोशीमा संविधान विपरित कांग्रेसकै नेतृत्वमा सरकार बन्दा दुई महामन्त्रीले मौनता साँधे ।
केन्द्रीय समितिलाई ६ महिनामा पूर्णता दिनुपर्ने हो विधानअनुसार । तर, देउवाले किस्ताकिस्तामा केन्द्रीय सदस्य मनोनित गरिरहेका छन् । विभागहरुलाई कहिले पूर्णता दिने हो अत्तोपत्तो छैन । भ्रातृ संगठनको अवस्था भद्रगोल छ । यस्तो अवस्थामा युवा महामन्त्रीहरुको स्पेस कहाँ छ ? अहिले कांग्रेस नेताकार्याकर्ताले गगन विश्वलाई प्रश्न सोध्न थालेका छन् । दुई महामन्त्री भने प्रश्नदेखि भाग्नेबाहेक समस्या समाधानतिर लागेको देखिन्न । यस्तो ताल देख्दा के कांग्रेसको महामन्त्री पद नै कमजोर हो त ? भन्ने प्रश्न उठ्न थालेको छ ।