काठमाडौं – वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ परेको धनबहादुरले कृष्णबहादुर बोगटीसँग वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनी तीन लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । उनले मलेसिया पुगेपछि प्याकिङमा काम लगाइदिने र मासिक ६० हजार रुपैयाँभन्दा धेरै तलब हुन्छ भनी प्रलोभन देखाएका थिए ।
उनले पीडितबाट पटक–पटक गरी तीन लाख रुपैयाँ लिएको पाइएको छ । रकम लिएर सम्पर्कविहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट निजलाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई आग्रह गरिएको थियो ।
विभागको उक्त आग्रहसहितको पत्रका आधारमा कार्यालयले टोली परिचालन गरेको थियो । धनबहादुरको खोजी कार्यमा संलग्न टोलीले बिहीबार उनलाई सेतोपुलबाट पक्राउ गरेको थियो । उनीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयले जानकारी दिएको छ ।