काठमाडौं– राजनीतिक मुद्दामा मतभेद भएपछि मूल पार्टीबाट अलग्गिएर गठन भएका नयाँ दलहरू ‘निम्छरो’ देखिएका छन् । चुनावमार्फत जनताको लोकप्रिय अभिमत प्राप्त गर्न विभाजित भएर बनेका दलहरू चुकेका पनि छन् । परिणामतः त्यस्ता दलहरूले जनविश्वासको संकट सामना गरिरहेका देखिएको छ ।
अघिल्लो संसद्को पाँच वर्षे कार्यकालको अन्त्यतिर नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टी अर्थात् नेकपा एस बन्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई ‘प्रतिगमन’ भनेका पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाललगायतले यो दल गठन गरेका हुन् ।
जनता प्रभावित पार्ने भनेको मुद्दाले हो । राजनीतिक एजेण्डाले हो । तर, जनताले विश्वास त्यति सहजै गर्दैनन् । जुन देखिइसकिएको छ । यसमा धेरै हदसम्म कमजोरी दलहरूको देखिन्छ ।
डा. देउमान सम्बाहाम्फे
राजनीतिक विश्लेषक
तर, गठबन्धन गरेर चुनाव लड्दासमेत राष्ट्रिय दल बन्न सकेन । अहिले पार्टीे अस्तित्वको संकटमा छ । अध्यक्ष नेपालकै शब्दमा भन्दा नेता कार्यकर्ताहरूमा पूरै निराशापन छ । पार्टीका नेताहरू एमालेमा ह्वारह्वार्ती फर्किरहेका छन् । पार्टी संगठन जोगाउनै नेपाल–खनाललाई हम्मे परेको छ । जनताले यो दललाई चुनावमार्फत भरोसा गर्न पनि सकेनन् । तर, पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार पार्टीप्रति जनआकर्षण बढाउन पार्टीले देशव्यापी ‘समाजवादी यात्रा’ अभियान सञ्चालन गर्न लागेको छ । अभियानले पार्टी संगठन सुदृढीकरण हुने अपेक्षा नेकपा एसको छ ।
संसद्मा १० सिटे यो दलसँगै गठन भएको अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पनि हालत उस्तै छ । जनमतविनाको पार्टीजस्तो भएको छ । पार्टीमा पदहरू फालाफाल छन् । त्यही भएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले सम्धी–सम्धीनीदेखि छोराछोरीसम्मलाई पदाधिकारी बनाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर ठाकुर र महतोलगायतले यो दल गठन गरेका हुन् । तर, मधेसका जनताले विभाजित दललाई स्वीकारेनन् । चार सिटे यो दलको अहिले कन्तबिजोक छ । एकातिर सत्तामा जान ‘बार्गेनिङ’ कमजोर छ । अर्कातिर, दलीय मुद्दालाई स्थापित गर्न दबाब दिने हैसियत छैन ।
जुन दल शक्तिशाली छ, त्यतै जनताको कुदाइ छ । एजेण्डा राम्रै भए पनि नयाँ दल कमजोर हुनाले त्यता जनताको आकर्षण देखिएन अहिलेसम्म ।
भीम भुर्तेल
राजनीतिक विश्लेषक
राजनीतिक विश्लेषक डा. देउमान सम्बाहाम्फे नेपाली राजनीतिमा स्थापित कुनै दलका मूल नेतृत्वसँग सीमित एजेण्डामा असहमति प्रकट गर्दै अलग भएका नेताहरूले बनाएका दलहरू शक्तिशाली भएनन् । यसो हुनुमा उनी जनता एजेण्डामा भन्दा पनि ‘ह्वीम’को पछि लाग्नुलाई मूल कारण मान्छन् । अर्को कारणचाहिँ नयाँ दलका पुराना नेता भनेर जनताले विश्वास नगर्नु पनि हो ।
नेकपा एसका नेतासमेत रहेका डा. सम्बाहाम्फे जनतासँग विश्वास आर्जन गर्न नसक्नुलाई विभाजित भएर बनेका दलहरूको कमजोरीको रूपमा अथ्र्याउँछन् । ‘जनता प्रभावित पार्ने भनेको मुद्दाले हो । राजनीतिक एजेण्डाले हो । तर, जनताले विश्वास त्यति सहजै गर्दैनन् । जुन देखिइसकिएको छ,’ उनले प्रभावसँग भने, ‘यसमा धेरै हदसम्म कमजोरी दलहरूको देखिन्छ ।’
हुन पनि नेपाली कांग्रेसबाट विभाजित भएर बनेको दल नेपाली कांग्रेस बिपी एउटा प्रदेश सांसदसमेत जित्ने हैसियतमा छैन । पार्टी स्थापना भएको वर्षौं भयो । सुशीलमान शेरचन अध्यक्ष रहेको यो पार्टी जनमतविहीनजस्तै छ । नेपाल समाजवादी कांग्रेसको पनि अवस्था उस्तै छ ।
हाल कांग्रेस सभापति रहेका शेरबहादुर देउवा पनि तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक)को संस्थापक सभापति हुन् । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग मतभेद चुलिँदै जाँदा पार्टीबाट निष्काशनमा परेका देउवाले उक्त दल गठन गरे । तर, पार्टीको हैसियत चिन्ताजनक भएपछि अन्ततः उनले फेरि कांग्रेसमै पार्टीलाई समाहित गरे ।
संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रबाट त अलग हुँदै नेताहरूले थुप्रै दल गठन गरे । सेना समायोजन गरेको र हतियार बुझाएको भन्दै असन्तुष्ट तत्कालीन उपाध्यक्ष मोहन वैद्य नेतृत्वमा २०६९ सालमा माओवादीको एउटा तप्का अलग भयो । उनीहरूले नेकपा–माओवादी गठन गरे । हाल नेकपा (क्रान्तिकारी) माओवादी छ । यो दलको हैसियत हरेक वर्ष खुम्चिँदो छ ।
यही दलबाट अलग हुँदै नेता नेत्रविक्रम चन्द (व्प्लिव सी)ले नेकपा बनाए । एकीकृत जनक्रान्ति गर्ने भनेको यो दल अन्ततः तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसामु झुक्यो । यो दलसँग पनि जनमत छैन । यही दलबाट विभाजन भएर नेता धर्मेन्द्र बास्तोलाको नेतृत्वमा बनेको नेकपा (बहुमत) संकटापन्न स्थितिमा छ ।
माओवादीबाटै अलग भएका कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी, रामबहादुर गुरुङ नेतृत्वको माओवादी जनमुक्ति पार्टी, गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चाको जनमत छैन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएर नेता कमल थापाले पुनःस्थापना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) र जसपा त्यागेर नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका डा. बाबुराम भट्टराईले पनि चुनावमार्फत जनताको विश्वास प्राप्त गर्न सकेनन् । हाल यी दुवै दलहरू जनमत र संगठनको दृष्टिले दयनीय अवस्थामा छन् ।
अर्का राजनीतिक विश्लेषक भीम भुर्तेललाई नेपाली जनता शक्तिका पुजारी भएका कारण जुन दलसँग शक्ति छ, त्यतै कुद्ने हुँदा विभाजित भएर बनेका दलहरू कहिल्यै शक्तिशाली नभएको लाग्छ । यसलाई उनी राजनीतिकमात्रै नभएर धार्मिक–सांस्कृतिक प्रवृत्तिको प्रभाव मान्छन् ।
‘हिन्दू धर्ममा शक्तिको पूजा हुन्छ र देश हिन्दू धर्मअनुसारको मूल्य मान्यताबाट प्रभावित छ,’ उनले भने, ‘यसको सीधा प्रभाव जनताको मनोविज्ञानमा पनि परेको छ, तसर्थ जुन दल शक्तिशाली छ, त्यतै जनताको कुदाइ छ । एजेण्डा राम्रै भए पनि नयाँ दल कमजोर हुनाले त्यता जनताको आकर्षण देखिएन अहिलेसम्म ।’
नेताहरू पद, प्रतिष्ठा र शक्तिका लागि दल फुटाउने गर्छन् । तर, दृष्टान्तहरूले भने फुटेर जानेभन्दा पनि मूल नेतृत्व रहेको पार्टी जनमतका आधारमा बलियो देखिएको छ । यसलाई कतिपय राजनीतिक विश्लेषकहरू दलहरूको विभाजन जनताले नचाहेको अर्थमा विश्लेषण गर्छन् ।