डाक्टर कुटिएको घटना नौलो होइन । बिरामीलाई बचाउने भएकोले चिकित्सकलाई समाजमा विशेषरुपमा मानसम्मान गरिन्छ । तर ‘टाउकोको दबाई, नाइटोमा लगाई’ प्रवृत्तिले पटक–पटक चिकित्सक पिटिँदै आएका छन् । घाँटीको अप्रेसन गर्नुपर्नेमा पाठेघरको अप्रेसन गर्ने, अप्रेसनको क्रममा प्रयोग गरिएका सामग्री शरीरभित्रै सिलाइनुजस्ता घटनाले यसअघि चिकित्सक कुटिएका थिए ।
पहिलेपहिले सरकारी अस्पतालमा यस्तो लापरबाही हुन्थ्यो । त्यसैले सरकारी अस्पतालका चिकित्सक बढी नै कुटिन्थे । अहिले भने निजी अस्पतालका चिकित्सक बढी कुटिन थालेका छन् । हालै मकवानपुरको हेटौंडाको सञ्चो अस्पतालका दुईजना डाक्टरमाथि यस्तै भयो । उनीपछि बतास समूहले सञ्चालन गरेको पोखराको मणिपाल अस्पतालका चिकित्सकले कुटाइ खाए, मृतक बिरामीको आफन्तबाट ।
एक मुठी सास रहुञ्जेल बिरामी र बिरामीका आफन्तको बाँच्ने आश हुन्छ । बिरामीको उपचार प्राविधिक विषयमात्र हैन, यो त मानसिक विषय पनि हो । त्यसैले यो विषयमा धामीझाँक्रीमाथिको विश्वास अझै बढेको छ । किनभने धामीझाँक्री बिरामीको नाडी छाम्छन्, उनीहरुको मानसिक अवस्था बुझ्छन् । तर, चिकित्सक आफूहरुले प्राविधिकरुपमा मात्र पढेको र लाखौं खर्चेर पढेको पेसाको नेपालमा कुनै सम्मान नभएको आरोप लगाउँछन् ।
एक त काम गर्ने क्रममा कहिलेकहीँ गल्ती हुन्छ । तर, च्याँठिने, हकार्ने प्रवृत्ति कसैलाई मन पर्दैन । बिरामीका आफन्त होस् या चिकित्सक यस्तो व्यवहार देखाउन कोही कमको छैनन् । जसका कारण अस्पतालमा चिकित्सक कुटिने निहुँ अरु खोजिरहनु पर्दैन । बिरामीका आफन्त च्याँठिदा चिकित्सकले हातपात गर्नै मिलेन । किनभने यो अस्पतालको व्यापारको कुरा भयो, अर्को पेसागत धर्मले पनि दिँदैन ।
तर, असहज परिस्थिति उत्पन्न भएपछि बिरामीका आफन्त हात बाँधेर बस्दैनन् । एक त उनीहरुले आफन्त गुमाएका हुन्छन्, अर्को बचाउनका लागि ठूलै धनराशिको नाश हुन्छ । यस्तोमा ठूलो स्वर गर्ने उनको हक नै बन्छ । तर, हातपातमै उत्रन भने उनलाई अधिकारप्राप्त हुन्न ।
पछिल्ला दिनमा निजी अस्पतालले औषधिको नाममा र सुविधाको नाममा बिरामीमाथि लुट मच्चाइरहेका छन् । केही नभएको बिरामीलाई पनि हजारौंको औषधि भिडाउने गरेको घटना छतछुल्ला छ । अस्पतालको अस्वाभाविक खर्च र उपचारमा शंका लागेपछि डिस्चार्ज माग्दा पनि सिफारिस नदिने चलन बढ्दो छ ।
यसले गर्दा बिरामीको बित्थामा ज्यान जानसक्छ । यस्तै विषयमै अविश्वासको कारण बिरामीको आफन्तको तारो चिकित्सक बन्न पुगेको देखिन्छ । चिकित्सक फ्रन्टलाइनर भएकै कारण पनि हातपातमा उनीहरु नै पर्छन् । यस्तो घटनाबाट बच्न चिकित्सकलाईसमेत मनोवैज्ञानिक उपचार पद्धतिबारे प्रशिक्षण दिनुपर्ने आजको आवश्यकता हो ।