काठमाडौं– नेकपा एमाले बाग्मती प्रदेशको उपसचिवमा जनआन्दोलनको ‘फ्रन्टलाइनर’ चर्चित महिला नेतृ भक्तकुमारी लामा उम्मेदवार बनेकी छिन् । उनको उम्मेदवारी अध्यक्षका प्रत्याशीहरू कैलाश ढुङ्गेल कि कृष्णप्रसाद दाहालको प्यानलबाट भन्ने खुलेको छैन । उनले भने आफूू दुवै प्यानलको साझा उम्मेदवार भएको बताएकी छिन् ।
‘म एमालेको कार्यकर्ता हुँ । यो वा त्यो प्यानलभन्दा पनि एमालेको कार्यकर्ताको रुपमा उपसचिव पदमा उम्मेदवार बनेकी हुँ’, उनले प्रभावसँग भनिन्, ‘म ४० वर्षभन्दा मुनिका युवा, विद्यार्थी, महिला र आदिवासी जनजाति समुदायको समेत प्रतिनिधि हुँ ।’
पार्टीको इमानदार, क्रियाशील र योग्यतावान कार्यकर्ता आफूू भएको भन्दै उनले पार्टीका अग्रज नेताहरूको योगदानलाई शिरोपर गरेर पार्टी संगठनको जिम्मेवारीमा रही काम गर्न चाहेको बताएकी छिन् ।
उनी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको पूर्व केन्द्रीय सचिव हुन् । अनेरास्ववियुको प्रकाशन विभाग प्रमुख, तत्कालीन मध्यपश्चिमाञ्चल र मेची अञ्चल इन्चार्ज भएर काम गरेको अनुभव उनीसँग छ ।
देशलाई गणतन्त्रको मार्गमा लान भएको दोस्रो जनआन्दोलनका बेला उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगै जेल परेकी थिइन् । भक्तपुरको बोडेस्थिति कृषि विकास तालिम केन्द्रमा राजनीतिक बन्दीको रुपमा भण्डारीसँग बसेकी थिइन् । उनै लामा एमालेको बाग्मती प्रदेश उपसचिव पदमा उम्मेदवार बनेकी हुन् ।