काठमाडौं– रामबाबु सुवेदी नेपाली बालसाहित्यका एक चर्चित लेखक हुन् । उनका ‘आइतबार बिहानै’, ‘जमुनीको छोरो’, ‘हिमालमा हिउँ’ जस्ता गीतहरू विद्यालयका पाठ्यपुस्तकमा पनि समाबेस गरिएको छ ।
सुवेदी उमेरले ८० वर्ष कटिसके, अझै पनि आफैले लेखेको गीतजस्तै हरेक बिहान सबेरै उठेर हात–मुख धोएर बालसाहित्य रचनामा तल्लीन हुन्छन् । उनका ५० भन्दा बढी बालगीतको छायाँकन र एनिमेसन भएको छ । ती ‘रामबाबु सुवेदी अफिसियल’ नामक युटुब च्यानलमा हेर्न सकिन्छ ।
उनै बरिष्ठ साहित्यकार सुवेदी र इम्पेरियल वर्ड स्कुलको सहकार्यमा निर्माण भएको ‘कलम र कापीसित बालगीतको सुन्दर भिडियो एक औपचारिक कार्यक्रममा उक्त स्कुलमै रिलिज गरिएको छ । यस गीतमा हाम्रा साना–साना बालबालिका विद्यालय, शिक्षक, साथीभाइ, आमाबाबुको प्रेरणा र मेहेनतले पढीगुनी देशको सेवा गर्ने प्रण गर्छन् । यस भावनालाई कथा र भावनृत्यको माध्यमबाट भिडियोमा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा स्कूलका संस्थापक अध्यक्ष कुमार कार्कीले आफ्नो स्कूल सधैँ नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रबर्धनमा अग्रसर रहने भएकोले यस शैक्षिक चेतनामूलक बालगीतमा सहकार्य गरेको कुरा प्रस्ट पारे ्र साथै आफ्ना बालबालिकाले सुन्दर अभिनय र नृत्य प्रस्तुत गरेकोमा बालबालिकालाई धन्यवाद पनि व्यक्त गरे ।
यस गीतको भिडियोको निर्देशन आचार्य गोपालले गरेका हुन् ्र उनले म्युजिक भिडियोलाई मनोरन्जनात्मक र शैक्षिक जनचेतनाको माध्यमको रूपमा प्रस्तुत् गरेको बताए ।
गीतकार रामबाबु सुवेदी, संगीतकार डिल्लीप्रसाद चापागाईं, गायिकाहरू बेनुका राई र रत्नशोभा महर्जन रहेको यस भिडियोको नृत्य निर्देशनमा साहारा कोइराला, सम्पादनमा मजोजकुमार पन्त र छायाँकनमा सुजय गौतमको भूमिका छ ।