आफूलाई वैकल्पिक दलको रुपमा प्रस्तुत गर्न खोजेका दलहरुको पछिल्लो अवस्था झन्डैझन्डै बेहालको अवस्थामा पुगेको छ । नयाँ शक्तिको आवश्यकता भएको भन्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले वैकल्पिक दलका रुपमा नयाँ शक्ति शुरु गरेका थिए । आँखा चुनाव चिन्ह लिएर अघि बढेका उनको केही नलागेपछि अहिले उनी माउ पार्टी माओवादी केन्द्रतिरै ढल्केका छन् ।
नेकपा एमालेबाट चोइटिएको नेकपा एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था बेहाल बन्दै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी कदम चालेपछि दु्ई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल यो दल खोलेका थिए । तर, गठबन्धन गरेर चुनाव लड्दासमेत राष्ट्रिय दल बन्न सकेन । अहिले पार्टीे अस्तित्वको संकटमा छ । अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पनि हालत उस्तै छ । जनमतविनाको पार्टीजस्तो भएको छ । पार्टीमा पदहरू फालाफाल छन् । त्यही भएर अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले सम्धी–सम्धीनीदेखि छोराछोरीसम्मलाई पदाधिकारी बनाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर ठाकुर र महतोलगायतले यो दल गठन गरेका हुन् । तर, मधेसका जनताले विभाजित दललाई स्वीकारेनन् । चार सिटे यो दलको अहिले कन्तबिजोक छ । हुन पनि नेपाली कांग्रेसबाट विभाजित भएर बनेको दल नेपाली कांग्रेस बिपी एउटा प्रदेश सांसदसमेत जित्ने हैसियतमा छैन । पार्टी स्थापना भएको वर्षौं भयो । सुशीलमान शेरचन अध्यक्ष रहेको यो पार्टी जनमतविहीनजस्तै छ ।
संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रबाट त अलग हुँदै नेताहरूले थुप्रै दल गठन गरे । सेना समायोजन गरेको र हतियार बुझाएको भन्दै असन्तुष्ट तत्कालीन उपाध्यक्ष मोहन वैद्य नेतृत्वमा २०६९ सालमा माओवादीको एउटा तप्का अलग भयो । उनीहरूले नेकपा–माओवादी गठन गरे । हाल नेकपा (क्रान्तिकारी) माओवादी छ । यो दलको हैसियत हरेक वर्ष खुम्चिँदो छ । यही दलबाट अलग हुँदै नेता नेत्रविक्रम चन्द (विप्लव सी)ले नेकपा बनाए । विप्लव सी अहिले माउ पार्टी माओवादीतिरै ढल्किसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मक्ति पार्टी जस्ता नयाँ दलका नेतालाई पत्याउँदा पुराना पार्टी त्यागेर नयाँ पार्टी बनाएकालाई जनताले पत्याएनन् । वैकल्पिक दल भने पुरानै अनुहार बोकेर खोलिएका दललाई जनताले कसरी पत्याउन् ? ‘नयाँ बोत्तलमा पुरानै रक्सी’ भने झैं फट्याइमा लागेर जनता झुक्याउन खोज्ने नेतालाई अनुमोदन गर्ने कुरा पनि भएन ।