काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मी जिल्लाकोे मुसीकोट नगरपालिका वडा नं ५, इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक वामी शाखाको मातहतमा रहने गरी इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले गरेका थिए । एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरु उपलब्ध हुनेछन् ।
सोही अवसरमा बैंकले मुसीकोट नगरपालिका वडा नं ५ वरपरका बासिन्दालाई लक्षित गरी डिजिटल बैंकिङ र रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षारता कार्यक्रम समेत आयोजना गरेको थियो । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५० शाखा कार्यालय, ३६८ एटिएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।