बाग्लुङ- बाग्लुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी पहिलोपटक बाग्लुङमा सिटिस्क्यान सेवा सुरु भएको हो ।
धौलागिरी अस्पतालमा सिटी स्क्यानको सेवा सञ्चालनले बाग्लुङ, मुस्ताङ, म्याग्दी र पर्वतबासीलाई सहज हुनेछ । गण्डकी प्रदेश सरकारले यसका लागि गत आर्थिक वर्ष २०७९/८० मा १० करोड बजेट विनियोजन गरको थियो ।
धौलागिरी अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारले दुई सय शय्याको उप(प्रादेशिक अस्पताल बनाउने योजना अन्तर्गत उपकरण थप गरेको हो । पछिल्लो समय धौलागिरी अस्पतालले दैनिक औसतमा पाँच सय बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।
सिटी स्क्यान सेवाको शुभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि प्रदेश सरकार तयार रहेको विश्वास व्यक्त गरिन् । प्रदेश सरकारले गोरखा र बाग्लुङको अस्पताललाई प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ छ ।