काठमाडौं– सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्र (केयर गिभर) मा जिटुजी प्रक्रियामार्फत दोस्रो चरणमा सहायक कामदार पठाउने तयारी थालेको छ । केयर गिभरमा कामदारको अभाव हुन थालेपछि इजरायलले थप ५०० कामदार माग गरेका कारण दोस्रो चरणको कामदार पठाउने तयारी थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
यसअघि पहिलो चरणमा एक हजार १७५ जना सहायक कामदार इजरायल जान छानिएका थिए । तीमध्ये अधिकांश इजरायल गइसके पनि केही संख्याको भिसा आउने क्रम अझै जारी छ । पहिलो चरणमा छनोट भएका कामदार लगभग गइसकेको भन्दै इजरायली पक्षबाट अब दोस्रो चरणको माग आएको हुँदा त्यसैको तयारी भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए ।
‘इजरायलले पहिलो चरणको तुलनामा बढी नै संख्यामा सहायक कामदार लैजान रुचि देखाए पनि अहिलेलाई ५०० जनाको मात्रै माग आएको छ,’ प्रवक्ता घिमिरेले भने, ‘पहिलो चरणमा इजरायल गएका कामदारहरूको अवस्था अध्ययन गर्ने र थप पठाउने सम्बन्ध श्रममन्त्रीस्तरीय भ्रमणको तयारीसमेत भइरहेको छ ।’
इजरायलमा एक दशक अघिसम्म म्यानपावरमार्फत कामदार जाने गरेकोमा २०७७ असोज १४ गते नेपाल र इजरायलबीच जिटुजी सम्झौता गरी सहायक कामदार पठाउन थालिएको छ । यसअघि कठिनाइका बाबजुद गैरकानुनी बाटो प्रयोग गरी नेपालीहरु इजरायल जाने गरेका थिए । आकर्षक आम्दानी हुने मुलुकको रुपमा रहेको इजरायलमा केयर गिभरमा जाने कामदारले मासिक न्यूनतम तलब एक हजार ५०० डलर पाउने बताइन्छ ।