राजनीतिमा सक्रिय रहेका नेताहरुले केही अघिदेखि नै अहिलेको सदनमा प्रमुख प्रतिपक्षी नभएको आरोप लगाउँदै आएका थिए । आइतबारको सदनमा त्यो पुष्टि भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल भदौ ३० बाट विदेश सयरमा निस्केका थिए । दाहाल आफूमात्र हैन मन्त्रीहरुको लावालश्कर लगाएर विदेश जाँदा देशमा भने विभिन्न समस्याका कारण आन्दोलन चर्किएको थियो । शिक्षकहरु आफ्नो समस्या सुनाउन काठमाडौं उत्रिएका थिए ।
चिकित्सकहरु आफू कुटिएको भन्दै सुरक्षा मागी सडकमा ओर्लिएका थिए । यस्तो अवस्थामा एजेण्डारहित चीन भ्रमणमा निस्किएको थियो, प्रधानमन्त्री दाहालको टोली ।दाहाल काठमाडौं उत्रनसाथ उनीमाथि संसद्मा चर्को आलोचनाको तयारी थियो । तर, देश ओर्लिएको भोलिपल्टै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेर दाहालसँग सौदावाजी गरे । ओली आफूले उठाएको माग पूरा हुने देखिएपछि मक्ख परे । ओलीको माग थियो ६१ किलो सुन तस्करी प्रकरणमा आफ्नो दलको अडान ।
सुन प्रकरणमा खासै महŒव नरहेको जाँचबुझ आयोग गठनमा सम्झौता गर्दा एमालेले प्रधानमन्त्री दाहालको कामै नलाग्ने भ्रमणमाथि प्रश्न उठाउने मौका गुमाए सदनमा । यतिमात्र हैन चाडको मुखमा सरकारले पेट्रोलियम पदार्थको मूल्य चर्को गरी बढाएको थियो । सबैभन्दा रोचक त के रह्यो भने खाना पकाउन इन्डक्सन चुल्हो दिनानुदिन बढ्दो छ । यस्तो अवस्थामा ग्यासको मूल्य घट्नुपर्ने हो । तर, सरकारले एकैचोटि २१५ रुपैयाँ बढाइदियो । त्यो पनि स्वचालित मूल्यको नाममा । यसबारे पनि सदनमा एमालेले आफ्नो उपस्थिति जनाउनुपर्ने हो । तर एमालेले त्यो मौका पनि गुमायो ।
अरु बेला आफ्नो दलको सांसद उठ्नसाथ माइक अन गरिदिने सभामुख देवराज घिमिरेलेसमेत यसपालि सदनमा आफ्नो कडाइपन देखाए । कारण बिहानै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई भेटेका थिए । भेटलगत्तै प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बोलाएर दुई निर्णय गराउन भ्याए । जसले प्रधानमन्त्री दाहालको आलोचना हुने मुख थुन्न सफल देखियो ।
प्रधानमन्त्री सदनमा अमेरिका र चीन भ्रमणको सफलता सुनाउन उपस्थित हुनुपर्ने हो । तर, सुरुमै मन्त्रिपरिषद्को निर्णय सुनाएर प्रतिपक्षीहरुलाई चुप गराउने कसरतमा उत्रनुपरेको बाध्यतालाई पनि रोचकै मान्नुपर्ला । सिकार खोज्न जंगल पसे पनि केही नभेटेपछि आफैंले हातमा दाँतले टोकेर घाउ बनाउँदै घर फर्केर रुवाबासी गरेझैं प्रधानमन्त्री दाहालले पनि यी दुई निर्णय गरेर प्रतिपक्षीबाट सान्त्वना पाएका छन् । रिसाएको एमालेको पगरी त त फकाइफुल्याइ फुस्काउनुभयो, तर जनता र देशको समस्या छलेर यस्ता लोकरिझ्याइँको काम गरेर सत्ता कति दिन टिकाउनुहुन्छ प्रधानमन्त्रीज्यू ?