जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी नेपाली कामदारलाई जापान पठाएको उजुरीका आधारमा निलम्बन
काठमाडौं– वैदेशिक रोजगार विभागले १४ वटा म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन गरेको छ । रोजगारीका लागि आवश्यक जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्रका आधारमा नेपाली कामदारलाई जापान पठाएको अभियोगमा ती म्यानपावर कम्पनीलाई निलम्बन गरी थप अनुसन्धान अगाडि बढाएको हो ।
विभागका प्रवक्ता कविराज उप्रेतीले सोमबार एक विज्ञप्ति जारी गरी शंकास्पद प्रमाणपत्रसम्बन्धी उजुरीका आधारमा ती कम्पनीमाथि अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।
‘वैदेशिक रोजगारीका लागि इजाजतपत्र प्राप्त केही संस्थाहरुले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिई नेपाली कामदारहरुलाई जापान पठाएको भन्ने उजुरीको सम्बन्धमा विभागबाट अनुसन्धान भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस विषयमा भएको प्रारम्भिक अनुसन्धानबाट तपसीलका संस्थाहरु सो कार्यमा संलग्नता भएको देखिएको आधारमा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ को ७ बमोजिम निलम्वन गरी थप अनुसन्धान गर्ने र अन्य संस्थाको हकमा अनुसन्धान जारी राख्ने निर्णय भएको जानकारी गराइन्छ ।’ विभागले सोमबार उक्त निर्णय गरेको हो ।
विभागको निलम्बनमा पर्ने म्यानपावर कम्पनीमा गुडलाइफ इन्टरनेसनल इम्प्लोइमेण्ट एजेन्सी प्रालि, सत्यावती ओभरसिज, डि.एन. इन्टरनेसनल नेपाल ओभरसिज इम्प्लोइमेण्ट एजेन्सी प्रालि, रोयल ओभरसिज नेपाल प्रालि, जब्स ग्लोबलडटकम इम्प्लोइमेण्ट सर्भिसेस प्रालि, लायन्स इन्टरनेसनल नेपाल प्रालि, भण्डारी ओभरसिज प्रालि रहेका छन् ।
यस्तै वल्र्ड फ्लेवर ओभरसिज प्रालि, नेप इन्टरनेसनल प्रालि, मञ्जुश्री ओभरसिज सर्भिस प्रालि, एएनएस एसोसियट्स प्रालि, क्यापिटल इन्टरनेसनल म्यानपावर प्रालि, ग्राण्ड सुइट जब प्रालि र अक्सन इन्टरनेसनल प्रालि (अभतार ह्युमन रिसोर्सेस् प्रालि) पनि विभागको निलम्बनमा परेका छन् ।