विजेता एक जनालाई कोरिया जाने अवसर
काठमाडौं - दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत रोजगारीमा गई फर्केका (रिटर्नी) श्रमिकबीच निबन्ध प्रतियोगिता हुने भएको छ । प्रतियोगिताका लागि निबन्ध आह्वान गरिएको छ । प्रतियोगिताका विजेताले दक्षिण कोरियामा जाने अवसर पाउनेछन् ।
प्रतियोगितामा दक्षिण कोरियामा ई–९ भिसामा काम गरेको श्रमिकले भाग लिन पाउनेछन् । तर, कोरियाली अध्यागमन विभागबाट प्रवेश रोक नलागेको व्यक्ति हुनुपर्ने जनाइएको छ । प्रतियोगितामा व्यक्तिगत सहभागितामात्र मान्य हुनेछ । प्रतियोगितामा सहभागी हुन यही अक्टोबर ८ भित्र निबन्ध पठाइसक्नुपर्नेछ । जसका लागि नेपाल इपिएस सेन्टरको इमेल इमेलमार्फत पठाउन सकिने सूचनामा जनाइएको छ । प्राप्त आवेदनहरुको मूल्यांकन अक्टोबर ९ मा तथा विजेता घोषणा अक्टोबर १० मा हुनेछ ।
रोजगार अनुमति प्रणालीले आफ्नो जीवनमा पारेको प्रभाव र स्वदेश फर्कनुअघि र पछि आएको परिवर्तन, कोरिया बसाइँको क्रममा विदेशी श्रमिकको रुपमा जीवनयापन गर्दा आएका सुख दुःखका क्षण र स्वदेश फर्किएपछि आएको सकारात्मक परिवर्तनको आफ्नो अनुभव, कोरियामा काम गरेर स्वदेश फर्किएपछि व्यवसाय÷ रोजगारीमा पाएको सफलतालगायतका विषयमा निबन्ध लेख्नुपर्नेछ ।
यस्तै आर्थिक कठिनाइ, कोरियाली नागरिकहरुको नकारात्मक दृष्टिकोण आदिलाई पार गरी सफल रोजगारी जीवनसम्मको सिलसिला र त्यसबाट स्वदेशमा जीवनमा पारेको प्रभाव, कोरियामा विदेशी श्रमिकसम्बन्धी धारणा सुधार गर्न सफल भएको अनुभव र कोरियामा काम गर्न जान चाहने नेपालीहरुलाई पारेको प्रभावसम्बन्धी पनि निबन्ध लेख्न सकिने जनाइएको छ । निबन्ध अधिकतम दुई पेजको हुनुपर्ने जनाइएको छ ।
पुरस्कृत व्यक्ति (एक जना)ले दक्षिण कारियाली रोजगार तथा श्रममन्त्रीको अध्यक्षतामा नोभेम्बरको मध्यतिर हुने कार्यक्रममा सहभागिता जनाउन पाउनेछन् । सो कार्यक्रममा आफ्नो उदाहरणीय कथा प्रस्तुत गर्नु पर्नेछ । त्यसका लागि कोरिया भ्रमणको सम्पूर्ण खर्च इपिएस सेन्टरले व्यर्होनेछ ।