देशको शासन र प्रशासन सञ्चालन यति झुर छ कि जनमानसमा चलेको एउटा भनाइबाट पुष्टि हुन्छ– देश पशुपतिनाथको कृपाले चलेको छ । तर, पशुपतिनाथकै सामुन्नेमा शासक र प्रशासकले खुलेआम भ्रष्टाचार गरेका छन् । पशुपतिमा भेटी र सुन गायब हुने पटकपटकको व्यथा नै हो । तर, यसपालि भने सरकारले नै चढाएको जलहरीमा भ्रष्टाचार भएको हो ।
पशुपतिमा भएको भ्रष्टाचारबारे छिनोफानो गर्न अख्तियार नै लाग्नुपर्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो । अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र स्टोर किपर अरुणकुमार श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले उनीहरूविरुद्ध एक करोड १७ लाख एक हजार ७८१ रूपैयाँ बिगो मागदाबी गरेको छ । गत जेठमा थापाले संसदीय समितिसामु आफूले जलहरीमा भ्रष्टाचार गरेको भए मृत्युदण्ड दिए पनि हुने भन्दै आफूहरुलाई विश्वास गर्न आग्रह गरेका थिए । आफूलाई यो प्रकरणका कारण आत्महत्या गर्नुपर्ने र समाजमा बेइज्जत भएको त्यतिबेला बताएका थिए ।
तर, अख्तियारले १०७ किलो हुनुपर्ने सुन जम्मा ९६ किलो ८२२ ग्राममात्र भेटिएको जनाएको छ । कोषले १० किलो ९७६ ग्राम सुन रिङ बनाएर चढाइएको दाबी गरेको थियो । उक्त परिमाणको सुनको तत्कालीन बजार मूल्य भनेका सात करोड ८६ लाख ४ हजार बराबर हो । अख्तियारले खोजबिन गर्दा भने रिङ नै फेला परेन ।
संघीय संसद्मा यसबारे माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बोल्दा एमाले सांसदले संसद् नै अवरोध गरेको थियो । दाहालले सुन लगाउनुपर्नेमा जलहरीमा ‘पित्तल’ लगाएको आरोपपछि सदनमा विवाद चर्कंदा प्रधानमन्त्री पुष्पकमल दाहालले जलहरी काण्डमा पूर्वप्रधानमन्त्री ओलीको संलग्नता नभएको प्रस्टीकरणसमेत दिनुपरेको थियो ।
यसरी देशैमाथि कृपा गर्ने पशुपतिकै अगाडि भ्रष्टाचारमा नांगिएका छन्, कर्मचारीहरु । हुन त १० किलो सुन गायब पार्न पक्कै पनि तीनजनामात्र संलग्न छैनन् होला । सेटिङ संस्कृति भित्रिसकेको अवस्थामा राजनीतिक व्यक्तिदेखि अरु मानिसहरु पनि यो प्रकरणमा संलग्न हुनुपर्छ । देश सन्तुलित ढंगले चल्न सुशासन हुनुपर्छ ।
यसका लागि नियम कानुन कडा बन्नुपर्छ । अहिले पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कडा कानुन नबन्दा भ्रष्टाचारका घटनाहरु बढिरहेका छन् । यसले एक त युवा जमातलाई देशमा बसिरहेन जाँगर चल्दैन भने विदेश गएर पनि फर्कन मन लाग्दैन । यस्तो घटना बढ्दा नेपालको अन्तर्राष्ट्रिय छवि पनि बिग्रँदै जान्छ । यसैले भ्रष्टाचारजन्य प्रकरण, तस्करी प्रकरणमा शीघ्रतीशीघ्र कडा कानुन बनोस् र कार्यान्वयन होस् ।