सत्ताको नेतृत्वले जनतामा आशा जगाउने खालको काम गर्न सकेका छैनन् । उत्साहजनक काम नहुँदा युवाहरुमा आक्रोश फैलिँदो छ । आर्थिक अवस्था ओरालो लागेको बेला देशमा सामाजिक सद्भाव बिथोल्नेखालका घटनाहरु पनि बढ्दो छ । धरान, सर्लाहीको मलंगवा, वीरगञ्ज हुँदै सद्भाव बिथोल्ने घटना अहिले पश्चिम नेपालगञ्ज पुगेको छ ।
सामाजिक सञ्जालमा उच्छृंखल ढंगले प्रस्तुत हुँदा सद्भाव बिथोल्न थालेको हो । नेपालगञ्जमा एक व्यक्तिले मुस्लिम धर्म विरोधी स्टाटसकै कारण नेपालगञ्जमा विवादको आगो सल्कियो । हिन्दू र मुस्लिम धर्मावलम्बीबीच यसअघि सद्भाव नै थियो । अहिले पूर्वी सर्लाही हुँदै मुस्लिम–हिन्दू विवाद नेपालगञ्ज पुगेको हो । विवादले उग्ररुप लिन थालेपछि सर्लाहीको मलंगवामा दुईपटक कफ्र्यु लगाउनुपरेको थियो । अहिले नेपालगञ्जमा विवादको आगो झोसिएको छ ।
घटनालाई साम्य पार्न सरकारले उक्त क्षेत्रमा कफ्र्यु लगाइसकेको छ । सरकारले सामाजिक सञ्जालको मर्यादित प्रयोग गर्न आग्रहसमेत गरेको छ । सामाजिक सञ्जालको प्रयोगबाट विभिन्न साम्प्रादायिक सद्भावविपरीतका घटना बढ्न थालेपछि सरकारले जातजाति तथा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेको छ । मंगलबारको मन्त्रिपरिषद्ले विशेष प्रस्ताव नै पारित गर्दै सामाजिक सञ्जालको प्रयोगमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकतालाई ख्याल गर्न अपिल गरेको हो ।
धरानमा हिन्दू, इसाइ र किरातबीच सद्भाव भड्केको केही समय नबित्दै यस्तो हुँदा भारतको मणिपुर घटनासँग जोडिएर द्वन्द्व बढ्नसक्ने आकलनसमेत गर्न थालिएको छ । राजनीतिक दलका नेताहरुले समेत केही समयमै द्वन्द्व बढ्न सक्ने दाबी गर्न थालेका छन् । हुन त प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं पनि जातीय पहिचानका लागि सडकमा मान्छे उतार्ने भनाइ राख्छन् । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली संवैधानिक दुर्घटना पर्न सक्ने चेतावनी दिन्छन् ।
यस्तो बेला दलका शीर्ष नेताहरुबाट यस्तो उत्तेजक बोली नआउनुपर्ने हो । संघीयताको मूल मर्म प्रदेशको विरुद्ध विभिन्न तŒव लागेको बेला कोशीमा दलहरु आफैं संविधान मास्ने खेलमा उत्रेको छ । यहीबेला जिम्मेवार नेताहरु नै ‘ब्याटल’मा उत्रिएका छन् । देश विकास र आर्थिक उन्नतिमा अपेक्षित काम गर्न नसकेका नेताहरुले कमसेकम उत्तेजक कुरा त नगर्नु । जस्तो नेता उस्तै देश भनेझैं यस्तै हुँदै जाने हो भने सामाजिक सद्भाव अझ भड्कन सक्छ । त्यसैले शीर्ष नेताहरुले युवामा आशा जगाउने खालको काम सुरु गरेर सामाजिक सद्भाव कायम गर्ने खालको गतिविधि बढाउनुपर्छ । वर्षौंदेखि कायम रहँदै आएको सामाजिक सद्भाव भड्किन नदेऊ । यसमा सरोकारवाला सबै जिम्मेवार बनौं ।