सरकारले कुनै काममा ढिलासुस्ती गरे खबरदारी गर्ने पहिलो जनप्रतिनिधि हो– सांसद । तर, त्यही सांसद बस्ने संसद् भवन भने पटक–पटक म्याद थप्दा पनि निर्माण पूरा हुन सकेको छैन । देशको प्रशासनिक केन्द्र्र सिंहदरबारमा रहेको पुतली बगैंचामा संघीय संसद्को भवन गत वर्षको असोज १५ गतेभित्र बनिसक्नुपर्ने थियो । दुईपटक म्याद थप्दा पनि भवन निर्माण पूरा हुन सकेको छैन । जसकारण वार्षिक १६ करोड रूपैयाँभन्दा बढी भाडा तिर्नुपर्ने भवनमा सदन चलाउन बाध्य छ संघीय संसद् ।
भवन निर्माणका लागि सरकार र निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरबीच सम्झौता भएको थियो । लगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार छँदै संसद् भवनको शिलान्यास गरेका थिए ।
संसद् भवन चाँडो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेले पनि यसअघि नै ताकेता गरेका थिए । तर, भवन निर्माणको गति भने कछुवा गतिमा चलिरहेको छ । निर्माण कम्पनीले पहिलो तीन वर्षे म्यादमा कोरोना महामारीलाई दोष दिएर एक वर्षको म्याद मागेको थियो । उक्त म्याद नाघ्दा भवन निर्माणको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६७ प्रतिशतमात्रै छ । यसरी नै कामको प्रगति ढिला भए वर्ष दिनमा पनि भवन निर्माण नसकिने बताइएको छ ।
सरकारी संरचनाहरू निर्माणका क्रममा सस्तो ठेक्कालाई प्राथमिकतामा राखिन्छ । मापदण्डमा ख्याल नगरी सस्तो बजेटले गर्दा दुःख पाउने पुरानै प्रवृत्ति हो । यसपटक संसद भवन निर्माणका लागि अनुमानित खर्च छ अर्ब ९२ करोड रूपैयाँ गरिएको थियो । तर, सरकारले पाँच अर्ब दुई करोड रूपैयाँमा सम्झौता ग¥यो । अर्थात् झण्डै दुई अर्ब रूपैयाँ कममै ।टेण्डरको क्रममा बोलकबोल हुँदा प्रतिस्पर्धाको हिसाबले सबैभन्दा उत्तम मूल्यलाई सरकारले ध्यान दिनुपर्ने हो । तर, सरकारले मूल्यमा सम्झौता गर्दा यस्ता परियोजनाहरूको निर्माण ढिला हुने गरेको पुरानै रोग हो । सेटिङजस्तो गम्भीर रोगका कारण सरकारले सम्झौता गरेको पुल होस् या सडक अथवा भवनहरू तोकिएको समयमा निर्माण सम्पन्न भएको घटनाहरू विरलै छन् ।
समस्या समाधानका लागि सदनमा टेबल ठटाउने र आवाज बुलन्द बनाउने सांसदहरूले आफ्नै भवन निर्माणमा भने न त टेबल ठटाउन पाएका छन् न त आवाज उठाउन नै । प्रक्रिया र सम्झौता नै निरीह भए पनि सांसदहरूले पनि के भन्ने ? नीतिगतरूपमा कमजोर भएपछि न त प्रधानमन्त्रीले नै बोल्न सक्छन् । त्यसैले सकेसम्म ठेक्का प्रणालीमा सेटिङको अन्त्य नभएसम्म यस्तो समस्या दोहोरिन्छ नै ।