गलकोट– कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै पर्यटक आउने चलन थियो तर सडकमार्गको पहुँच र प्रचार प्रसारका कारण ढोरपाटन घुम्नसमेत पर्यटक आउने गरेका छन् । सिकार आरक्षमा सिकार खेल्न विदेशी र घुम्नका लागि नेपाली आउने गरेको पाइन्छ ।
सिकार खेल्न भने नेपालीको आर्थिक पहुँच नपुग्ने गरेको पाइन्छ । विश्वका धनाढ्य सिकारी हेलिकप्टरमार्फत ढोरपाटन पुगेर लाखौं राजस्व तिरेर सिकार खेल्ने गरेका छन् । सिकारका लागि विदेशी पर्यटकमात्रै आउने ढोरपाटन क्षेत्रमा घुम्नका लागि भने नेपाली पर्यटक आउने गरेका छन् । एक वर्षमा सात हजार छ सय ४५ पर्यटक ढोरपाटन घुम्न आएका छन् । त्यसमध्ये जम्मा ७८ जना मात्रै विदेशी पर्यटक रहेको र अन्य सबै नेपाली पर्यटक रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ ।
उक्त तथ्यांकका आधारमा समेत ढोरपाटन सिकार आरक्षमा सिकार खेल्नकै लागि मात्र विदेशी पर्यटक आउने गरेका छन् भने नेपाली पर्यटक भने ढोरपाटन अवलोकनका लागि आउने गरेको पाइन्छ । पछिल्लो चार वर्षयता पर्यटकको सङ्ख्यासँगै राजस्वमा समेत वृद्धि भएको पाइन्छ । अघिल्ला वर्षको तुलनामा गत आर्थिक वर्षमा भने ढोरपाटन पुग्ने पर्यटकको संख्यामा केही कमी आएको तथ्यांकले देखाउछ ।
नेपालकै एकमात्र सिकार आरक्ष सो क्षेत्रमा पर्यटकको आगमनमा वृद्धिसँगै राजस्वमा समेत वृद्धि भइरहेको सन्र्दभमा आर्थिक वर्ष २०७९÷८० मा भने स्वदेशी र विदेशी पर्यटक गरी जम्मा सात हजार छ सय ४५ पर्यटक त्यहाँ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । उक्त पर्यटकको संख्या आव २०७८÷७९ को तुलनामा दुई हजार दुई सय २४ जनाले कमी आएको ढोरपाटन सिकार आरक्ष कार्यालयको तथ्यांकमा उल्लेख छ । आव २०७८÷७९ मा नौ हजार नौ सय १९ पर्यटक ढोरपाटन पुगेका थिए ।
ढोरपाटन घुम्न आउने पर्यटकमा कमी नभए पनि गत वर्षको जनैपूर्णिमा मेलामा ढोरबराह दर्शनका लागि आउने धार्मिक पर्यटकको संख्यामा कमी आएका कारण तथ्यांकमा घटेको देखिएको ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।
‘ढोरबराह मन्दिरमा ठूलो जनैपूर्णिमा मेला लाग्ने गर्दछ, गतवर्ष मौसमी प्रतिकुलताका कारण त्यहाँ आउने धार्मिक पर्यटक घटेका थिए, त्यसैले तथ्यांकमा घटेको देखिन्छ, तर ढोरपाटन भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि नै भएको पाइन्छ’, थापा मगरले भने, ‘चालु आर्थिक वर्षमा १० हजार पर्यटक आउने अनुमान गरिएको छ, यस वर्षको जनैपूर्णिमा मेला भर्नका लागि आउने धार्मिक पर्यटकको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।’
उनका अनुसार ढोरपाटन उपत्यकामा आन्तरिक पर्यटक घुम्न आउने र विदेशी पर्यटक सिकार खेल्नका लागि आउने गरेका छन् । मगरका अनुसार सोझै हेलिकोप्टरमार्फत विदेशी सिकारी पर्यटकमात्रै ढोरपाटन सिकार आरक्ष पुग्ने भए पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचार–प्रसारसँगै आन्तरिक पर्यटकसमेत त्यहाँ पुग्न थालेका छन् । ढोपाटनमा सिकार खेल्न, उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र सिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।
नाउर र झारलको वैधानिक सिकार खेल्न पाइने उक्त क्षेत्रमा विदेशी पर्यटक लाखौँ खर्च गरेर सिकार खेल्न त्यहाँ पुग्ने गरेका छन् भने आन्तरिक तथा अन्य पर्यटकले सिकार आरक्ष क्षेत्रको भ्रमण तथा अवलोकन गर्ने गरेका छन् । मनोरम ढोरपाटन उपत्यकालाई चिरेर बगेको उत्तरगङ्गा, हरियाली र फुलैफूलको फाँटले त्यहाँ पुगेका पर्यटकलाई आकर्षण गरेको पाइन्छ ।
ढोरपाटनमा वर्षमा दुई याममा आन्तरिक तथा बाह्य पर्यटक बढी मात्रामा पुग्ने गरेका छन् । पुस–माघको बाक्लो हिमपात र साउन–भदौमा भारी वर्षा हुँदाबाहेक अघिपछि पर्यटकको आगमन भइरहने गरेको स्थानीय पर्यटन व्यवसायी श्यामलाल घिमिरेले बताए ।
ढोरपाटन सिकार आरक्ष क्षेत्रमा आव २०७७÷७८ देखि ढोरपाटन प्रवेश गर्ने आन्तरिक पर्यटकको समेत रेकर्ड राख्न थालिएको छ । उक्त तथ्यांकमा ढोरपाटन पुग्ने स्थानीयको भने रेकर्ड हुँदैन । ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले मात्रै शुल्क तिरेर प्रवेश पाउने गरेकामा आव २०७७÷७८ देखि आन्तरिक पर्यटकले समेत रु एक सय प्रवेश शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ ।
आन्तरिक पर्यटकले प्रवेश शुल्क तिर्न थालेपछि आरक्षको आम्दानीमा समेत वृद्धि भएको छ । आव २०७९÷८० मा मात्रै आन्तरिक र बाह्य पर्यटकबाट रु नौ लाख ८३ हजार दुई सय राजस्व सङ्कलन गरिएको छ । ढोरपाटन प्रवेश गर्न सार्क राष्ट्रका पर्यटकले रु एक हजार पाँच सय र अन्य विदेशी पर्यटकले तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्ने प्रावधान आरक्षले बनाएको छ ।
सिकार आरक्षले आव २०७९÷८० मा पर्यटक प्रवेश शुल्क, वन पैदावर, हेलिकप्टर अवतरण शुल्क र दण्ड जरिवानासहित १९ लाख ६२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ । सिकार आरक्षमा २०४४ सालबाटै विदेशी पर्यटक आउन थालेका थिए तर आन्तरिक पर्यटक भने सञ्चार र सडकको पहुँचपछि मात्रै पुग्न थालेका हुन् ।
ढोरपाटनमा होटल सुविधामा समेत वृद्धि हुँदै आएको छ । विशेषगरी ढोरपाटनमा असोज, कात्तिक, मङ्सिर, चैत, वैशाख र जेठमा बढी पर्यटक आउने गर्दछन् । बागलुङ, म्याग्दी र पूर्वीरुकुमसम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ । ढोरपाटन उपत्यकामा ढोरपाटन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी २१ साना–ठूला होटल तथा घरबास सञ्चालनमा आएका छन । ढोरपाटनमा पहिलो याम असोजदेखि मङ्सिर र दोस्रो याम फागुनदेखि वैशाखमा सिकार खेल्न अनुमति दिइन्छ । रासस
म्याग्दीको लुलाङ जलजलामा भेटियो ‘रेडपाण्डा’
म्याग्दी– म्याग्दीमा पहिलोपटक विश्वमै दुुर्लभ मानिने जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ ।
धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जंगलीमा रेडपाण्डा भेटिएको हो । च्याउ सङ्कलन गर्न गएका स्थानीय सुवास थापाले जलजलाको जंगलमा रेडपाण्डाको जिल्लामै पहिलोपटक दृष्य खिचेका हुन् । डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटा जलजलाको जंगलीमा रेडपाण्डा भेटिएको जानकारी दिए । उनले भने, ‘हामीलाई लुलाङको जलजलास्थित जंगलीमा रेडपाण्डाको वासस्थान थियो भन्ने पहिला पनि जानकारी आएको थियो, भौतिक रुपमा देखिएपछि पुष्टि भयो, रेडपाण्डा संरक्षणको कार्यक्रम, चोरी शिकारी नियन्त्रण, जनचेतनाको वृद्धिले रेडपाण्डा देखिएको हो ।’
म्याग्दीमा यसअघि दुुर्लभ वन्यजन्तुु रेडपाण्डाको देखिएको थिएन । रेडपाण्डाको वासस्थानसम्बन्धी अनुसन्धान गर्दै आएका बद्री बरालले म्याग्दीको भूूगोलमा पहिलो पटक रेडपाण्डा भेटिएको जानकारी दिए ।
‘हामीले सात वर्षअघि सर्वेक्षण र अनुसन्धानको क्रममा जलजला नजिकैको मरेनी क्षेत्रमा रेडपाण्डाको दिसा भेटाएको आधारमा म्याग्दीमा यसको वासस्थान रहेको पुष्टि भएको थियो’, उनले भने, ‘सुुवास थापाले जललला क्षेत्रको जंगलीमा खिचेको दृष्यले यस क्षेत्रमा रेडपाण्डाको बसोबास रहेको हाम्रो अनुसन्धानको प्रतिवेदनलाई थप पुुष्ट्याइ गरेको गरेको छ ।’
लजालु स्वभाव रहेको रेडपाण्डाले पैदल यात्रामा रहेका सर्वसाधारणलाई देखेर रमाइरहेको करिब दुई मिनेट नौ सेकेण्डको भिडियोमा देखिन्छ । विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो ।
अनुसन्धानकर्ता बद्री बरालले लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जंगलीमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्षे देखेका थिएनन् ।
रेडपाण्डाका वासस्थान पहिचान गरेपछि तत्कालीन समयमा जिल्ला वन कार्यालय तथा स्थानीयवासीसँगको सहकार्यमा गुर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रमसहित रेडपाण्डाको महत्वका बारेमा जानकारी गराइएको थियो ।
रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्नेे रेडपाण्डाको महत्वका बारेमा जानकारी पाएपछि चोरी निकासी कम भए पनि देखिएका थिएनन् ।
गुर्जा र लुलाङको जंगलीमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धौलागिरि गाउँपालिकाको गुर्जा, लुुलाङ र मुुदीमा हाब्रेको वासस्थानको विषयमा अध्ययन भएको थियो ।
धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा पालिकास्तरबाटै सचेतनामूलक अभियान सञ्चालन गरिने बताए । ‘रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौं’, उनले भने, ‘रेडपाण्डाको अनुसन्धानका लागि गन्तव्य बनाउने अवसर पनि हो ।’
रेडपाण्डा जोगाउन वडास्तरमा संरक्षण समिति गठन, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासका क्षेत्रमा आवतजावतमा समेत निगरानी आवश्यक रहेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।
रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख गूर्जा र लुलाङको जंगलमा पर्याप्त छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ ।
रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरीवाना , पाँचदेखि पन्ध्रवर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । हाब्रेको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिए पनि दुई सय ३७ वटाको मात्र यकिन भएको छ ।
विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको वासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ । नेपालको २४ जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ । रासस