गण्डकी - नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।
शर्माले पाँच सय ३१ मत ल्याउँदा अधिकारीले तीन सय ६५ प्राप्त गरे। म्याग्दीका शर्मा यसअघिको प्रदेश कमिटीमा पनि अध्यक्षको भूमिकामा हुन् । यस्तै पाँच सय ३४ मतसहित उपाध्यक्षमा मीनप्रसाद गुरुङ विजयी भए भने उपाध्यक्षका अर्का उम्मेदवार बाबुराम सुनारले तीन सय ७२ मत प्राप्त गरे ।
सचिवमा धनञ्जय दवाडीले पाँच सय २० ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी रश्मी आचार्यले तीन सय ६७ मत पाएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए । उपसचिवमा चार सय ९९ मतसहित दामबहादुर विक विजयी हुँदा उहाँका प्रतिस्पर्धी सन्तोष रावलले तीन सय ९७ मत प्राप्त गरे ।
उपसचिव महिलातर्फ पाँच सय ३१ मत ल्याएर मञ्जु गुरुङ विजयी भए भने उहनका प्रतिस्पर्धी मीना गुरुङले तीन सय ६५ मत प्राप्त गरे । बिहीबार भएको मतदानमा कुल नौ सय सात प्रतिनिधिमध्ये आठ सय ९६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत थापामगरले जानकारी दिए । अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘कलस्टर’बाट एक सय ६५ उम्मेदवार निर्वाचित भएका छन् ।