कानुनीराजको पाठ सिकाउन सिपालु दल हो नेपालीकांग्रेस । अहिले यही दलबाट चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपति छन् । पौडेल पनि संविधान रक्षा र कानुनी पाठगर्न माहिर नेता हुन् । सादगी नेताको छवि निर्माणका लागि पौडेल कहिले पैदलै वसन्तपुर पुग्छन् त कहिले ‘कारगेट’ बिनै संसद भवन पुग्छन् ।
तर उनै राष्ट्रपति पौडेलको बाहुलीबाट जघन्य अपराधमा जन्मकैद सजाय पाएका अपराधीले कैद माफी पाए संविधान दिवसका दिन । संविधान दिवसमा सरकारले ६७० जनालाई कैद सजाय मिनाहा गरिदिएको थियो । तर तीमध्ये एक रिगल भनिने योगराज ढकाल एकाएक चर्चामा छाए । किनकि उनी दाङको जिल्ला करागारबाट बाहिर निस्कँदा उनलाई तरुण दलको झन्डा ओढाइयो । ‘साउथ इन्डियन फिल्मी’ शैलीमा गाडीको लावलश्कर लगाएर उनको सवारी भयो ।
रिगल – कुख्यात गुण्डा भए पनि ८ वर्ष जेल बस्दा धेरैले उनलाई भुलेका थिए सायद । तर उनको रिहाइ यस्तो भव्य भयो कि जो सुकैले उनी को हुन् भनेर खोज्न थाले । त्यतिमात्र हैन सामाजिक सञ्जालमा छाए उनी । कुनै बेला गुण्डा नाइके कुमार घैंटेसँग सम्बन्ध गाँसेका रिगलको कैद मिनाहा साइनो भने कांग्रेससँग जोडिएको छ । तरुण दल नेपाली कांग्रेसको युवा संगठन हो । नेपाली कांग्रेसका नेता बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पर्दा तरुण दलले प्रदर्शन गरेको थियो । रिगलसँग कुमकुम जोडेको कांग्रेसको अहिले चर्को आलोचना भइरहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासम्मै ‘कनेक्सन’ देखिन्छ रिगलको । कांग्रेसकै दबावमा रिगल छुटेको कुरा प्रधानमन्त्री पुष्पकमल दाहालको मौनताबाट प्रष्टिन्छ ।केही कांग्रेस नेताहरू अझै रिगल निर्दोष रहेको बताउन भ्याइरहेका छन् । खाण जोगाउन मरिमेटेर लागेको कांग्रेसले हत्याजस्तो जघन्य अपराधमा लागेका रिगल जोगाउनु ठुलो कुरा भएन । तर प्रमुख प्रतिपक्षी दलहरू पनि यो विषयमा मौन बसे । नयाँ भनिएका दलहरूले अत्तोपत्तो पाएनन् ।
जब चेतन मानन्धर, जसलाई रिगलले खुँडा हानेका थिए, उनकी श्रीमतीले आन्दोलन थालिन् तबमात्र मिडिया पनि तात्यो । न्याय हराएको देशमा सर्वोच्च अदालतले बल्ल आँखा खोल्यो र सरकारसँग फाइल माग्यो । सर्वोच्चले फाइल मागेसँगै न्यायको घाम उदाउने आश नागरिकले गरेका छन् । तर कांग्रेस जो लोकतन्त्र र कानुनीराजको पाठ सिकाउँछ, उसले भने आफूलाई फेरि आफैले नङ्ग्याएको छ । प्रजातन्त्रमा योगदान दिएको भन्दै पटकपटक नाँगिएको कांग्रेसलाई अब जनताले कहिलेसम्म पहिलो दल मानिरहने ?