काठमाडौं - कजारिया सेरामिक्स लिमिटेड र रमेश कर्पबीच सम्झौता गरेकाे छ । नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन ५०ः५० को संयुक्त लगानी कजारिया रमेश टाईल्स लिमिटेडले वित्तीय कन्सोर्टियमका लागि रमेश कर्पसँग सम्झौता भएको घोषणा गरेको हाे ।
कम्पनीले आफ्नो लगभग रु ४०० करोडको महत्वाकांक्षी परियोजनाको लागि रु३०० करोडको पर्याप्त लगानी कोष सफलतापूर्वक प्राप्त गरेको जनाएकाे छ। यो सम्झौता एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा नबिल बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड लगायत अन्य तीन प्रमुख वित्तीय संस्थाहरुसँगको सहकार्यमा भएको थियो ।
यो सम्झौतामा रमेश कर्पका उपाध्यक्ष,रोहित गुप्ता र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले हस्ताक्षर गरेका थिए ।नेपाललाई भिट्रिफाइड टाइल्स र सेरामिक उत्पादनमा आत्मनिर्भर बनाउने दूरदर्शी प्रतिबद्धताका साथ कजारिया रमेश टाईल्स लिमिटेडले नेपालमा टाइल उत्पादनको लागि ग्रीनफिल्ड परियोजना सुरु गरेका छन् ।
यो महत्वाकांक्षी उद्यम कजारिया सेरामिक्स, भारतको अग्रणी र विश्वको ७ औं सबैभन्दा ठूलो टाइल उत्पादक संग ५०ः५० को संयुक्त लगानी उद्यमको रूपमा सञ्चालन गरिएको छ । यो परियोजना नेपाल भित्र उच्च गुणस्तरको कजारिया टाइल्स उत्पादन गर्न समर्पित रहने जनाइकाे छ ।
नवलपरासी क्षेत्रमा अवस्थित अत्याधुनिक उत्पादन उद्योग ८० लाख–वर्ग–मिटरको उत्पादन क्षमता भएको नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन गर्ने उद्योग हुनेछ ।
यो मार्च २०२४ सम्ममा पूर्ण रूपमा कारखाना सञ्चालनमा आउने उनीहरूको आशा रहेकाे छ । कजारिया रमेश टाईल्स लिमिटेड नेपालको टाईल्स र सेरामिक उद्योगको भविष्यलाई आकार दिन, राष्ट्रको विकास र समृद्धिमा योगदान पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।