काठमाडौं– महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका देश–विदेशका साधुसन्तलाई गसठी संस्थानले बिदाइ सुरु गरेको गुठी संस्थानका अनुसार फागुन कृष्ण एकादशीदेखि औंसीसम्म संस्थानले धुनीका लागि दाउरा र खानाको व्यवस्था गरी साधुसन्तलाई बिदाइ गरिएको हो ।
पशुपति गोश्वारा कार्यालय प्रमुख उमा आचार्यका अनुसार साधुलाई श्रीमहन्त, महन्त, लालमोरिया नागाबाबा, सामान्य जोगीलगायत वर्गमा वर्गीकरण गरी रु ९५१ देखि रु १५१ सम्म दक्षिणा दिन शुरु गरिएको छ । आइतबार सम्भव विदाइको नहुनेलाई सोमबार आजसम्म दक्षिणा दिएर बिदाइ गरिने उनले बताए । यसवर्ष पशुपतिमा करिब चार हजार साधुसन्त आएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । संस्थानले दक्षिणासहित बिदाइ गरेसँगै कोषका तर्फबाट पनि थप दक्षिणा दिइने उनले सुनाए ।
संस्थानले वर्गीकरण गरेका साधुसन्तलाई कोषले एक हजार एकदेखि पाँच हजार एक रूपैयाँसम्म दक्षिणा दिने जनाइएको छ । कोषका तर्फबाट रुद्राक्ष मालाले बिदाइ गरिनेछ । संस्थानले दिने गरेको दक्षिणा कम भएको गुनासो साधुसन्तले गर्न थालेपछि कोष स्थापनापछि थप गरिएको हो ।
२०६४ अघिसम्म कालमोचनघाटबाट दक्षिणा दिई साधुसन्तको बिदाइ हुँदै आएकामा त्यसयता दोहोरो नपरोस् भनी पशुपति परिसरबाटै बिदाई गर्न थालिएको संस्थानले जनाएको छ ।