- आतंकवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
- इजरायल सरकारप्रति ऐक्यबद्धता प्रकट
- इजरायलमा रहेका नेपालीलाई सतर्क रहन आग्रह
- अप्ठेरोमा परेका नेपालीको सहयोग तथा उद्धारका लागि दूतावासमार्फत पहल
काठमाडौं– इजरायलमा भएको आतंकवादी हमलामा नौ जना नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार आतंकवादी आक्रमणमा नेपाली पनि परेका हुन् । आक्रमणमा परेका नौ जना नेपालीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ ।सोही विज्ञप्तिमार्फत सरकारले इजरायलमा भएको आतंकवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।यसैबीच, इजरायलस्थित नेपाली दूतावासले पनि आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले बताएको छ ।
इजरायलको वर्तमान स्थितिलाई दृष्टिगत गरी त्यहाँ सहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरशः पालन गर्न सरकारले अनुरोध गरेको छ । इजरायलस्थित नेपाली दूतावासको सम्पर्क विवरण पनि सरकारले उपलब्ध गराएको छ । टेलिफोनः +९७२(०)३५१६८०८५, राजदूत कान्ता रिजाल ९७२५४५८६४४२३ र प्रथम सचिव अर्जुन घिमिरे +९७२५४५८६४४२३ मा सम्पर्क गर्न सकिने दूतावासले जानकारी दिएको छ ।
अप्ठेरोमा परेका नेपालीहरुको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरुसँग निरन्तर समन्वय गरिरहेको दूतावासका प्रथम सचिव एवं प्रवक्ता अर्जुन घिमिरेले बताए । ‘हामी यतिखेर संकटपूर्ण अवस्थामा छौं, विस्तृत जानकारी दिन सकिएको छैन, तर पनि हामी कोसिस गरिरहेका छौं, यहाँको सम्बन्धित निकाय तथा अधिकारीहरुसँग निरन्तर सम्पर्कमा छौं,’ उनले भने । इजरायलमा विभिन्न माध्यमबाट रोजगारीमा गएका नेपालीहरुको संख्या तीन हजारभन्दा माथि रहेको दूतावासले अनुमान गरेको छ । त्यस्तै विद्यार्थीहरु एक हजारभन्दा बढी रहेको बताइएको छ । द्वन्द्व प्रभावित क्षेत्रमा कति नेपाली थिए भन्ने यकीन विवरण नभए पनि इजरायलमा करिब छ हजारको हराहारीमा नेपाली रहेको बुझिएको छ । गत वर्षमात्रै जिटुजी सम्झौतामार्फत सहायक कामदार (केयर गिभर)को रुपमा १२ सय नेपाली इजरायल पुगेका छन् ।
शनिबार बिहान हमासले गरेको घातक रकेट आक्रमणमा परी शार हानेगेभ क्षेत्रीय काउन्सिलका प्रमुख (मेयर) ओफिर लिब्स्टेनको मृत्यु भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले बताएको छ । यो समाचार तयार पार्दासिम्म प्राप्त विवरणअनुसार हमासको रकेट आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएका छन् ।मध्य तथा दक्षिण इजरायलमा शनिबार बिहान साढे तीन घण्टासम्म व्यापक रकेट हमला भएको थियो । यसबाहेक हमासले पाँच जना इजरायल डिफेन्स फोर्स (आइडिएफ) का सैनिकलाई अपहरण गरेको दाबी गरेको जेरुसेलनम पोस्टले बताएको छ ।