काठमाडौं - चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । कराते खेलाडी एरिका गुरुङले नेपाललाई जारी प्रतियोगितामा करातेतर्फ पहिलो पदक दिलाएकी हुन् ।
शनिबार सम्पन्न फाइनल खेलमा पराजित भएछि उनले रजत पदकमा चित्त बुझाउनुपरेको हो ।महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अंकले पराजित भएकी हुन् ।
नेपाललाई करातेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।यसअघि आजै सम्पन्न सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् । गुरुङले यान काई होलाई ८–४ अंकले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् ।
शनिबार नै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् ।दुवैबीचको खेल १–१ अंकको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अंक जोडेको) आधारमा विजयी भएकी थिइन् । योसँगै नेपालले जारी १९औं एसियाली खेलकुदमा दोस्रो पदक प्राप्त गरेको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।