काठमाडौं– सरकारले युरोपेली मुलुक जर्मनीसँग प्रशिक्षार्थी कामदार पठाउनका लागि श्रम समझदारी गर्ने भएको छ । यसका लागि मंगलबार (आज) दुई मुलुकबीच श्रम समझदारीपत्रमा हस्ताक्षर हुने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । द्विपक्षीय समझदारीका लागि श्रममन्त्री शरतसिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल जर्मनी पुगिसकेको छ ।
यसअघि युरोपेली मुलुक रोमानियासँग गत शुक्रबार श्रम सम्झौता भएको थियो । सम्झौतापत्रमा श्रममन्त्री भण्डारी र रोमानियाका समकक्षी सिमोना बुकुरा अप्रेस्कुले हस्ताक्षर गरेका थिए । रोमानिया र जर्मनीसँग श्रम सम्झौता गर्ने तयारीका साथ मन्त्री भण्डारीको टोली गत बुधबार युरोप प्रस्थान गरेको थियो ।पछिल्लो समय रोजगारीका लागि युरोपेली मुलुकमा नेपालीहरूको आकर्षण बढ्दै गएपछि सरकारले गन्तव्य मुलुकसँग श्रम समझदारीको प्रक्रिया अगाडि बढाएको श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए ।
‘कामदारको सुरक्षा र आम्दानीको ग्यारेण्टीलाई हेर्दा खाडीभन्दा युरोपेली मुलुक राम्रो भएकाले सरकारले युरोपेली मुलुकसँग श्रम समझदारी गर्दै जाने नीति लिएको छ,’ उनले भने, ‘रोमानिया र जर्मनीसँग भएको श्रम सम्झौताले नेपालीका लागि सुरक्षित र भरपर्दो रोजगारीको अवसर प्राप्त हुनेछ ।’जर्मनीसँग हुने सम्झौताअनुसार जाने प्रशिक्षार्थी कामदारलाई जर्मनीले निश्चित पारिश्रमिकसहित एक वर्ष व्यावसायिक तालिम प्रदान गर्ने घिमिरेले जानकारी दिए ।
उनका अनुसार उक्त तालिमपश्चात सम्बन्धित क्षेत्रमा रोजगारी उपलब्ध गराइने छ । तर संस्थागत (म्यानपावरमार्फत) रुपमा प्रशिक्षार्थी कामदार पठाउन पाइने छैन । जर्मनीले निजी क्षेत्रबाट कामदार नलिने जनाएपछि सरकारले नै पठाउनेगरी सम्झौताको तयारी गरिएको प्रवक्ता घिमिरेले बताए ।कामदार छनोट र भर्नाका सबै प्रक्रिया अनलाइनबाटै हुने बताइएको छ भने रोजगारीका लागि छनोट हुने कामदारले शून्य लागत अर्थात् कुनै शुल्क तिर्नुपर्ने छैन । यतिमात्र नभई अब हुने सम्झौताअनुसार नेपाली कामदारले पनि जर्मनीमा स्थानीय कामदार वा अन्य आप्रवासी कामदारसरह नै सेवासुविधा तथा पारिश्रमिक पाउने श्रम मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारले व्यवस्थित गरेर रोजगारीका लागि कामदार पठाउन नसक्दा व्यक्तिगतरुपमा लाखौँ रुपैयाँ खर्च गरेर युरोप जाने गरेको र कतिपय अवस्थामा ठगीमा पर्ने गरेको पाइएको छ । अवका दिनमा चर्को शुल्क र ठगी नियन्त्रण गर्ने उदेश्यले क्रमिक रुपमा युरोपका विभिन्न मुलुकसँग श्रम समझदारी गर्दै जाने प्रवक्ता घिमिरेले जानकारी दिए । यसैबीच श्रम समझदारी गर्न जर्मनी पुगेको मन्त्री भण्डारीको टोलीसँग सोमबार जर्मनी स्थित अन्तर्राष्ट्रिय श्रम संगठन बर्लिन ब्युरोका निर्देशक डा.एन्नेत्ते नेदरफ्रांकले नेपाली राजदूतावासमा भेट गरी मर्यादित एवं सुरक्षित श्रम आप्रवासन र नेपाली कामदारलाई सामाजिक सुरक्षाका लागि सहकार्य गर्ने सम्बन्धमा छलफल भएको बताइएको छ ।