दसैं रौनकले नेपालीहरुलाई छोइसकेको छ । हिन्दू धर्मावलम्बीहरुको ठूलो चाडमध्येकै एक चाडका रुपमा हेरिने दसैं मनाउन सहरी क्षेत्रबाट गाउँ जाने लहर सुरु भएको छ । टिकट काउन्टरहरुमा लागेको भीड हेर्दा यो प्रस्टिन्छ । काठमाडौं उपत्यका देशको मुख्य केन्द्र हो । यहाँबाट दसैंका लागि देभभर लाखौं मानिस गाउँका लागि छुट्छन् । घटस्थापनापछिको १५ दिनको सवारी चाप थामिनसक्नुको हुन्छ । यातायात व्यवसायीका लागि सिजन पनि हो । त्यसैले यो याममा यातायात व्यवसायीले सकेसम्म धेरै गाडी र टिकटको व्यवस्था गरेको हुन्छ । यसपटक दसैंका लागि सोमबारबाट टिकट बुकिङ खुला गरिएको हो ।
प्रहरीको तथ्यांकलाई मान्ने हो भने दसैं मनाउन काठमाडौंबाट २० लाख मानिस बाहिर निस्कन्छन् । यी यात्रु सुरक्षित बस सेवा खोज्दै काठमाडौंको नयाँ बसपार्क पुग्छन् । पूर्व इलामदेखि पश्चिम दार्चुलासम्म पुग्ने बसको टिकट पाउने भएकोले पनि यहाँ बर्सेनि भीड हुने गर्छ । व्यवसायीले यो क्षेत्रलाई पूर्व–पश्चिम ट्राञ्जिटजस्तै बनाइदिएको छ । त्यसैले यहाँ टिकट काट्नेको लाइन लाग्ने नै भयो ।तर प्रविधिको विकाससँगै अनलाइनबाटै टिकट लिन सकिने सुविधा सेवाग्राहीको हातहातमा पुगिसकेको छ ।
यसका लागि कहीँ धाउनुपर्दैन आफ्नै मोबाइल एपबाट टिकट पक्का गर्न सकिन्छ । सेवा प्रदायक यातायात व्यवसायीले इसेवा, खल्तीलगायत एपबाट टिकट लिन सकिने जनाएको छ । तर यात्रुहरु भने बसपार्क नपुगी ढुक्क देखिएनन् । नयाँ बसपार्कमा सोमबारको दृश्य हेर्दा छर्लांग हुन्छ, अनलाइन प्रणालीमा अझै पनि नेपालीहरु विश्वस्त छैनन् भन्ने । लामो लाइन लागेर गन्तव्य पुग्न उनीहरु बसपार्क धाउने गरेको देखिन्छ । यसरी भौतिक रुपमै टिकट काउन्टरमा धाउनु अनलाइन प्रणालीमा अझै अभ्यस्त नहुनु पनि हो । अर्को सेवा प्रदायकले सेवाग्राहीलाई सेवामा विश्वस्त बनाउन नसक्नु पनि हो ।
टिकट बुकिङ एउटा विषय भयो, बुकिङ बढ्दा यातायात कम्पनीहरुले बस थप्छन् । यसरी थपिएर सञ्चालनमा ल्याउने बस कस्ता खालका हुन्छन्, तिनको कन्डिसन कस्तो अवस्थमा छ, यसमा सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ । यात्रुको सुरक्षाका लागि बसको कन्डिसन जाँच गर्न सरकारले विशेष सुरक्षा टोली बनाउँदा उपयुक्त हुन्छ । दसैं बिदामा हिँडेकाको जीउधन सुरक्षाका लागि सरकारले कुनै कसर बाँकी राख्न हुन्न । सरकारले टिकट व्यवस्थापनमा पनि व्यवसायीले तोकेको मूल्यमा नियमन होस् । चाडमा सरकारले जनताको सुरक्षाका लागि विशेष निगरानी राखोस् । सर्वसाधारणको दसैं यात्रा सहज बनाऊ ।