रुकुम पश्चिम - रुकुम पश्चिम पालिकामा उत्पादन वस्तुको बजारीकरणका लागि आठबिसकोटका नगरप्रमुख रवि केसी छिमेकी जिल्ला डोल्पामा पुगेका छन् । सोमवार वडाअध्यक्ष सहित डोल्पा पुगेका केसीले पालिकामा उत्पादित वस्तुको बजारीकरणका लागि डोल्पाका सरकारी कार्यालयका प्रमुखहरु र पालिकाका प्रमुखहरुसँग छलफल गरेका हुन् ।
प्रमुख केसी पालिकामा उत्पादन भएको दुध तथा पशुजन्य नियातका लागि डोल्पा जिल्लाका सम्वनय समितिका उपप्रमुख सहित डोल्पाका पालिका प्रमुखहरु र रुकुम पश्चिमका नगरप्रमुख लगायत जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु सँग बैठक बसी विभिन्न छलफल भएको हो ।
अन्तरजिल्लाका पालिका प्रमुखहरुको बैठकले स्थानीय उत्पादनलाई अन्तरपालिकामा आयातनिर्यात गर्ने निर्णय गरेको हो । डोल्पाका जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र बहादुर बुढाथोकिको अध्यक्षतामा बसेको बैठकमा डोल्पाको ठुलिभेरी नगरपालिकाका प्रमुख सुवर्ण कुमार बुढा, आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसी, प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेल , प्रहरी प्रमुख शिव बहादुर बुढाथोकी लगयातको उपस्थिति रहेको थियो ।
जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु र पालिका प्रमुखहरु बिचको बैठकमा विकासमा पछाडि परेको गाउँपालिकामा विशेष प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिइएको जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्र बहादुर बुढाथोकीले बताए ।
बिशेषगरी आठबिसकोटमा उत्पादन भएका दुध तथा पशुजन्य वस्तुलाई डोल्पामानियात गर्ने र डोल्पामा उत्पादन हुने स्याउ, अंगुर र ओखर लगायतका उत्पादन रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आयत गर्ने निर्णय भएको आठबिसकोटका नगरप्रमुख रवि केसीले जानकारी दिए ।
केसीका अनुसार छिमेकी जिल्लाका पालिका र जिल्लाभर आठबिसकोटले उत्पादन गरेको दुध तथा अन्य कृषि उपज लगायत डोल्पा सम्म पुर्याउने लक्ष्य रहेको केसीले बताए । दुबै जिल्लाका पालिकामा उत्पादन हुने कृषि तथा अन्य वस्तु व्यवसायिक प्रयोजनका लागि आदानप्रदान गरिने उनको भनाई छ ।
त्यस्तै बैठकले जाजरकोटको तल्लु र रुकुम पश्चिमको गोतामकोटलाई जोड्ने निर्माणाधि बेलिबृज तत्कालै निर्माण गर्न सम्वन्धित निकायलाई दबाब दिने निर्णय गरेको छ । अन्तर जिल्लाका पालिकाहरुको समन्वय र सहकार्यले दुबैजिल्लाको आत्मियता बढ्ने र एकरुपताका साथ विकासको निर्माणमा सहज हुने बिश्वास लिईएको छ ।
बैठकमा स्थानीय समस्यालाई समयमै समाधान गर्दै विकास निर्माणका कामलाई जनताले महसुस गर्ने गरी द्रुत गतिमा अघि बढाउनुका साथै प्रभावकारी जनसेवामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको थियो । नगरपालिका तथा गाउँपालिकामा रहेका विभिन्न विषयगत कार्यालयहरुलाई पनि प्रभावकारी सेवा प्रवाहका लागि प्रतिबद्ध रहनुपर्नेमा जोड दिइएको थियो ।