काठमाडौं- वैदेशिक रोजगार कार्यालय ताहाचलले कर्मचारीहरुका लागि १५ दिनको अरेबियन भाषा कक्षा सञ्चालन गरेको छ ।
वैदेशिक रोजगारीमा विदेश जाने नेपाली श्रमिकहरुको धेरै श्रम गन्तव्य अरेबियन मुलुकहरु रहेको भन्दै सहजीकरणका लागि कर्मचारीहरुलाई लक्षित गर्दै अरेबियन भाषा कक्षा सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
भाषा कक्षामा कार्यालयका कर्मचारीका अलवा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारीसमेत रहेको कार्यालयले जनाएको छ ।
अरेबियन भाषा कक्षाबाट कर्मचारीहरुको दक्षता अभिवृद्धि हुनुका साथै भविष्यमा श्रम स्वीकृतिलगायतका कार्यमा भिसा जाँच, मागपत्र अध्ययन र भिसामा उल्लेख गरिएको पेसा जाँच गर्न सहज हुने बताइएको छ ।
भाषा कक्षा सञ्चालनबाट आगामी दिनमा कर्मचारीहरुको कार्यकुशलता अभिवृद्धि हुने कार्यालयले अपेक्षा गरेको छ ।