डोल्पा - जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका वडा नं. ०७ 'कु' गाउँमा पहिलो पटक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुगेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा यहि भाद्र ०४ गते शे-फोक्सुण्डो गाउँपालिकामा खटाईएका प्रमुख प्रशासकीय अधिकृत सुमन ढकाल पहिलो पटक 'कु' गाउँ पुगेका हुन्।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको नेपालको संविधान जारी भएपछि वि.सं.२०७४ सालमा स्थानीय तहको निर्वाचन भयो। त्यसयता उक्त पालिकामा ४ जना प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यकाल पूरा भरी फर्के। हालसम्म उक्त वडामा कुनै पनि प्रमुख प्रशासकीय अधिकृत पुगेका थिएनन्।
आ.व. २०८०/०८१ मा कार्यान्वयन हुने विभिन्न योजनाहरूको प्रारम्भिक स्थलगत-फिल्ड निरीक्षण, उपभोक्ता समितीलाई अभिमुखिकरण, सामुदायिक तथा भौगोलिक अध्ययन अवलोकन लगायतको सिलसिलामा त्यहाँ पुगेका ढकाल 'कु' गाउँ पुग्ने प्रथम प्रमुख प्रशासकीय अधिकृत बनेका छन्। नेपालको विकट जिल्ला डोल्पा पनि हाे । यहाँकाे शे-फोक्सुण्डो गाउँपालिका जिल्लाको पनि अत्यन्तै विकट वडा मानिन्छ । उक्त गाउँ पुग्न पालिका केन्द्रबाट घोडारपैदल १२-१३ घण्टा लाग्ने गर्दछ ।
'वि.सं.२०७४ सालको स्थानीय निर्वाचन ताका निकै चर्चा पाएको 'कु' गाउँ नेपालको कान्छो गाउँको रुपमा परिचित छ। त्यसताका 'कु' गाउँमा पहिलोपटक मतदान भएको, त्यसअघि 'कु' गाउँको नक्सा सरकारी नक्सामा समावेश नभएको, त्यहाँका जनताले त्यसअघि कहिलै मताधिकार प्रयोग नगरेको, सरकारी दस्तावेजमा उक्त गाउँले पहिलोपटक स्थान पाएको, नेपालमा नयाँ गाउँ फेला परेको जस्ता विभिन्न समाचारहरू प्रकाशन भएपछि सबैको चासो र चर्चाको विषय बनेको थियो। यद्यपि त्यसो नभई वि.सं.२०७४ साल भन्दा अघिपनी उक्त गाउँलाई एक मतदान केन्द्र कायम गरि विभिन्न निर्वाचनमा मतदान भएको तथ्य फेला परेको ढकाल बताउँछन्।
प्रमुख प्रशासकीय अधिकृत ढकाल भन्छन्, 'पहिलो पटक आफू 'कु' गाउँ पुग्दा त्यहाँका जनताको मुहारमा खुसीको उभार थियो, कुनै उत्सव मनाएझैं देखिन्थ्यो । 'कु' गाउँबासीबाट प्राप्त गरेको सम्मान र सद्भाव अविस्मरणीय नै बन्यो।' आफू पुगेको साँझ त्यहाँका जनताले स्थानीय भाषा र भेषभुसाका विभिन्न गित तथा नाचहरू देखाएको उनी बताउँछन्।
गाउँपालिकामा हाजिर भएलगत्तै स्थलगत अवलोकन भ्रमणमा निस्केका ढकाल आफूसँग समय भएसम्म सबै वडाका सबै समुदायहरूमा पुग्ने र त्यहाँको भुगोल, भाषा संस्कृती, भेषभूसा, जीवनशैली, संस्कार र रितिथिती अनुभुत गर्ने ईच्छा भएको उनले बताए ।