काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले देशको पछिल्लो गतिविधिप्रति असन्तोष प्रकट गरेका छन् । जनताको आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई चारैतिरबाट प्रहार गर्न खोजेकोप्रति पौडेलले असन्तोष प्रकट गरेका हुन् ।
‘यो देशमा ठुलो बलिदान भएको छ लोकतान्त्रिक गणतन्त्रका लागि । तर चारैतिरबाट कमजोर पार्ने कोशिश भइरहेको छ,’ राष्ट्रपति पौडेलले भने । नेपाल प्रेस युनियनका प्रतिनिधिसँग बिहीबार दिउँसो भेटका क्रममा राष्ट्रपति पौडेलले प्रदेशमा भइरहेको राजनीतिक घटनाक्रमबारे आफूले सुक्ष्म रुपले हेरिरहेको बताए ।
कोशी प्रदेशमा संघीयता नै असफल पार्ने गरी भइरहेको खेलतिर लक्षित गर्दै उनले नेपालले पटकपटकको प्रयोग धान्न नसक्नेसमेत बताए । ‘नेपाल अब पछाडि फर्कन सक्दैन पटकपटक प्रयोग हुन सक्दैन । पटकपटकको प्रयोग धान्न सक्दैन,’ राष्ट्रपति पौडेलले भने ।
यसका लागि राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यम गम्भीर भएर लाग्नुपर्ने सुझावसमेत पौडेलले दिए । कोशीमा ९ महिनाको अवधिमा ५ पटक सरकार परिवर्तन भइसकेको छ । राजनीतिक दलहरुको खिचातानी र नियमकानुनका कारण प्रदेश व्यवस्था खारेज गर्नुपर्ने माग उठिरहेको बेला नेताहरुले यसबारे विशेष ध्यान दिनुपर्ने पौडेलको राय थियो ।
उनले आफूलाई संविधान दिवसको दिन दिइएको आममाफीको विषयमा मुछ्न खोजेको भन्दै असन्तुष्टिसमेत जनाए । राष्ट्रपति शितलनिवासमा भएको भेटका क्रममा पौडेलले अरुले गरेको गल्तीमा पनि आफूलाई दोष लगाउन खोजिरहेको तर्क गरेका हुन् ।
‘अरुले गरेको गल्तीमा पनि म माथि दोष लगाउन खोजिएको छ,’ राष्ट्रपति पौडेलले भने । योगराज ढकाल ‘रिगल’लाई आममाफी दिएको भन्दै आलोचना राष्ट्रपतिको आलोचना भइरहेको छ । यो संवैधानिक विषय भएको र गृहमन्त्रालय हुँदै सरकारबाट आएको सिफारिसमा आफ्नो कुनै हात नरहेको दाबी गरे । सादगी राष्ट्रपतिको रुपमा हेरिएका उनले सवारीमा तामझाम गर्न छाडेपछि प्रशंसा बटुलेका थिए ।
यद्यपि भारतमा भएको महँगो उपचार र पछिल्लो आममाफीमा भने पौडेल आलोचित बनेका छन् । शितलनिवास पुगेपछि सवारीमा ‘कारगेट’ प्रयोग गर्न छाडेसँगै पौडेललाई धेरैले जनताका राष्ट्रपतिका रुपमा हेरिएको थियो । यद्यपि आफू सक्दो गल्ती नगर्ने प्रयासमा रहेकोसमेत उनले बताए ।
‘म गल्ती नगर्ने कोशिश गरिरहेको छु,’ उनले भने । भेटमा युनियनका अध्यक्ष शिव लम्सालले आम सञ्चार र मिडियासम्बन्धी ऐन, कानुन, नीति र विधेयक निर्माणमा राष्ट्रपतिबाट अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।